यसरी सुरु भएको थियो सरस्वती पूजा

काठमाडौं, १६ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ ।

वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइन्छ ।
जान्नुहोस, सरस्वती पुज्नुपछिको पौराणिक मान्यता यस्तो छ :

श्रीकृष्णले सरस्वतीको पहिलो पटक पूजा गरे – जब देवी सरस्वतीले कृष्णलाई देखे, उनि मोहित भइन् र पतिको रुपमा पाउने इच्छा व्यक्त गरिन् । तर, भगवान कृष्णले आफू राधातिर समर्पित रहेको बताए । यद्यपी, कृष्णले देवीलाई प्रसन्न गर्न ‘विद्या लिने इच्छा भएकाहरुले माघ शुक्ल पञ्चिमीको दिन तिम्रो पूजा गर्नेछन्’ भनी वरदान दिए । सरस्वतीको पहिलो पूजा श्रीकृष्ण र ब्रह्माजीले गरेका थिए ।

ब्रम्हाजीले सरस्वतीको रचना गरे – सृष्टिकर्ता ब्रम्हाजीले जब धरती निरश देखे, उनले आफ्नो कमंडलबाट पानी झिकेर छर्के । जताततै हरियाली छायो, यसै बेला सरस्वतीको पनि उत्पती भयो । ब्रम्हाजीले देवीलाई वीणा र पुस्तकबाट यस सृष्टिलाई आलोकित गर्न आदेश दिएका थिए ।

शक्तिको रुपमा सरसस्वती – मत्स्यपुराण, ब्रह्मवैवर्त पुराण, मार्कण्डेयपुराण, स्कंदपुराण तथा अन्य ग्रन्थहरुमा पनि देवी सरस्वतीको महिमाका बारेमा वर्णन गरेका छन् । यी धर्म ग्रन्थहरुमा देवी सरसस्वतीलाई सतरूपा, शारदा, वीणापाणि, वाग्देवी, भारती, प्रज्ञापारमिता, वागीश्वरी तथा हंसवाहिनी आदि नामले पनि पुकार्ने गरिन्छ ।

कुम्भकर्णको निन्द्राको कारण बनिन् सरसस्वती – भनिन्छ, देवी वर प्राप्त गर्नका लागि कुम्भकर्णले दस हजार बर्ष तपस्या गरे । ब्रम्हाले वर दिन लाग्दा उनको खराब प्रवृत्तिका कारण शक्तिको दुरुपयोग गर्ने भन्दै अन्य देवहरुले वर नदिन निवेदन गरे । त्यही समय ब्रम्हाले सरसस्वतीलाई सम्झे र राक्षस कुम्भकर्णको गोजीमा सवार गराए । सरस्वतीको प्रभावबाट कुम्भकर्णले ब्रम्हासँग भने, ‘म वर्षैँसम्म सुतिरहन पाऊ, यही छ मेरो इच्छा । यसरी उनी सुतिरहे, तर जब जागे श्रीरामले हात कुम्भकर्णको मृत्यु भयो ।

सरस्वतीका विभिन्न रुप – विष्णुधर्मोत्तर पुराणमा सरस्वतीलाई चार भुजायुक्त र आभूषणसँग सुसज्जित चित्रण गरिएको छ । रुप मंडन पुराणमा सरस्वती देवीलाई शान्त, कोमल वर्णन गरिएको छ । शास्त्रहरुमा वर्णन गरिएअनुसार, वसन्त पञ्चमीको दिन शिवले पार्वतीलाई धन र सम्पन्नताकी देवी हुने वरदान दिएका थिए । उनी यस वरदानपछि निलो स्वरुपमा परिवर्तन भइन् र निल सरस्वती भनी चिनिइन् ।

अक्षर अभ्यासको दिन – वसन्त पञ्चमीको दिनबाट बालबालिकालाई अक्षर लेख्न सिकाइन्छ । यस दिन मन्टेस्वरी वा घरमै बुवा–आमाले आफ्ना साना नानीलाई पहिलो पटक कलम समाएर अक्षर कोर्न सिकाइन्छ । यस प्रक्रिया गर्नाले बाल–बच्चामा वुद्धिको विकास हुन्छ भन्ने मान्यता राखिन्छ ।
यसरी गर्नुहोस् सरस्वती पूजा
बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस् । अनि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस् ।

पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् । माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन् ।

सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा(पुस्तक(धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।

मूल मन्त्रद्वारा देवी सरस्वतीको पूजा
प्रत्येक देवीदेवताको एक मूल मन्त्र हुन्छ । यही मन्त्रबाट उनीहरूको आवाहन गरिन्छ । यी मन्त्र विशेष रूपमा सिद्ध हुन्छन् । देवी सरस्वतीको अष्टाक्षर बीज मन्त्र हो – श्रीं ह्रीं सरस्वत्यै स्वाहा । देवीको पूजा गर्दा तथा नैवेद्यादि अर्पण गर्दा यस मन्त्रको जाप गर्नुपर्छ । अनि सरस्वती पूजनको समयमा तल लेखिएका श्लोकले भगवतीको ध्यान गर्नुस् :

सरस्वती शुक्लवर्णां सस्मितां सुमनोहराम्।।
कोटिचंद्रप्रभामुष्टपुष्टश्रीयुक्तविग्रहाम्।
वह्निशुद्धां शुकाधानां वीणापुस्तकमधारिणीम्।।
रत्नसारेन्द्रनिर्माणनवभूषणभूषिताम्।
सुपूजितां सुरगणैब्र्रह्मविष्णुशिवादिभि:।।
वन्दे भक्त्या वन्दिता च मुनीन्द्रमनुमानवै:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here