महाशिवरात्रीको दिन विशेष किन, कसरी गर्ने पुजा-आरधना ?

काठमाडौं । महाशिवरात्री हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ ।

भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवायू मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्वु कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।

शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ ।

अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्री पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए।

प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ।

शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्ता रिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् । यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन ।

शिवलिंगमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्दछ । विशेषत शिवको जन्म भएको साँझलाई शिवरात्री मनाउने गरिएको हो । तर यसै दिन शिवको विवाह भएको रोचक प्रसङ् पनि यहीँ जोडिन्छ । त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ ।

वास्तवमा शिवरात्रीको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्री शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ ।

परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र, स्त्री, पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने पनि गरिन्छ ।

शिवको पुजा आरधना कसरी गर्ने ?

यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ । यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने धार्मिक विधि छ ।

राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ । व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ । महाशिवरात्री भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो ।

यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत पनि हो । यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ । हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ । निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ । ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ– शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम् ॥

शिवरात्रीको दिन विषेश नै किन ?

चतुर्दशी तिथिका स्वामी शिव हुन् । अत ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ । त्यसो त शिवरात्री प्रत्येक महिनाको चतुर्दशीका दिन पर्दछ । तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रीमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो ।

ज्योतिषीय गणनाअनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ ।

शिवको अर्थ हो कल्याण । शिव सबैको कल्याण गर्ने देवता हुन् । अत महाशिवरात्रिमा सरल उपाय गर्दा मत्र पनि इच्छित सुखको प्राप्ति हुन्छ । चतुर्दशी तिथिमा चंद्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ ।

त्यस कारण बलहीन चंद्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन् । चंद्रमाको सीधा सम्बन्ध मनसँग हुन्छ। मन कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ । जसबाट कष्टहरूको सामना गर्नु पर्दछ । चन्द्रमा शिवको मस्तकमा सुशोभित छन् ।

अत चंद्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ । महाशिवरात्री शिवको प्रिय तिथि हो । त्यसैले प्रायः ज्योतिषीहरू शिवरात्रीका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन् । शिव आदि-अनादि हुन ।

सृष्टिको विनाश वा पुर्नस्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुर्नस्थापन अर्यात सुख। त्यसैले ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ ।

बिल्वपत्र चढ़ाउने मन्त्र यस्तो छ–

नमो बिल्ल्मिने च कवचिने च नमो वर्म्मिणे च वरूथिने च नमः श्रुताय च श्रुतसेनाय च नमो दुन्दुब्भ्याय चा हनन्न्याय च नमो घृश्णवे॥ दर्शनं बिल्वपत्रस्य स्पर्शनम्‌ पापनाशनम्‌ । अघोर पाप संहारं बिल्व पत्रं शिवार्पणम्‌ ॥ त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम्‌ । त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम्‌ ॥ अखण्डै बिल्वपत्रैश्च पूजये शिव शंकरम्‌ ।

कोटिकन्या महादानं बिल्व पत्रं शिवार्पणम्‌ ॥ गृहाण बिल्व पत्राणि सपुश्पाणि महेश्वर । सुगन्धीनि भवानीश शिवत्वंकुसुमप्रिय । शिवरात्रीमा रुद्राक्षको महत्व र राशीअनुसारको रुद्राक्ष हिन्दूहरूको धार्मिक आस्थाका रूपमा रहेको रुद्राक्ष अलौकिक शक्ति प्रदान गर्नुका साथै आर्युवेदिक औंषधिमा पनि उत्तिकै महत्वका साथ प्रयोग गर्ने गरिन्छ ।

महाशिवरात्रीको दिन आफ्नो राशि अनुसार धारणीय रुद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । मेष- तीन मुखी, वृष- छ मुखी, मिथुन- चार मुखी, कर्कट- दो मुखी, सिंह- एक मुखी, कन्या- चार मुखी, तुला- छह मुखी, वृश्चिक- तीन मुखी, धनु- पांच मुखी, मकर- सात मुखी, कुंभ- सात मुखी र मीन- पांच मुखी

किन गरिन्छ भक्तिपूर्वक शिवपुजा ?

महाशिवरात्रीको सिद्ध मुहर्तमा पारद शिवलिंगको प्राण प्रतिष्ठा गरी स्थापना गर्दा व्यवसायमा वृद्धि तथा नोकरीमा सफलता प्राप्ति हुन्छ । बाधा नाशकको लागी, शिवरात्रिको प्रदोष कालमा स्फटिक शिवलिंगलाई शुद्ध गङ्गाजल, दूध, दही, घीउ, मह वा शक्करबाट स्नान गराएर धूप-दीप बालेर निम्न मन्त्रको जाप गर्दा समस्त बाधाहरूको शमन हुन्छ ।

॥ॐ तुत्पुरूषाय विद्महे महादेवाय धीमहि तन्नो रूद्रस् प्रचोदयात् ॥ रोगबाट छुटकाराको लागी, शिव मन्दिरमा शिवलिङ्गपूजन गरेर रुद्राक्षको माला प्रयोग गरी दस हजार पटक महामृत्युञ्जय मन्त्रको जाप गर्दा प्राणरक्षा हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

शत्रु नाशको लागी, शिवरात्रिका दिन रूद्राष्टकको यथासम्भव पाठ गर्दा शत्रुहरूबाट मुक्ति प्राप्त हुन्छ । मुद्दामामिलाम विजय प्रप्ति हुन्छ र समस्त सुखभोग मिक्दछ ।

मोक्ष प्राप्तीका लागी, शिवरात्रीका दिन एक मुखे रूद्राक्षलाई गङ्गाजलले स्नान गराएर धूप-दीप गरी आसनमा स्वच्छ कपडा ओछ्याई स्थापना गरी शिवरूपी रूद्राक्ष सम्मुख बसेर सवा लाख ॐ नमस् शिवाय मन्त्र जपको सङ्कल्प गरी जाप आरंभ गर्ने तथा शिवरात्रीपछि पनि जापलाई निरन्तरता दिई पूर्ण भएपछि साङ्गे गर्दा मोक्ष प्राप्ति हुने मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here