गरे के हुँदैन ? बगर मै खेतीपती गरेर मनग्य आम्दानी

-गोपालप्रसाद बराल

बर्दिवास, २४ जेठ । बलौटे जग्गा भएर के भयो र ! महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलफूलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ । त्यसैगरी, भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला चार वर्षयता बगरको पर्ति ऐलानी जग्गामा तरकारी बाली लगाएर मनग्य कमाउन थालेका छन् ।

रातु नदीले बलौटो थुप्य्राएको बगर जग्गामा अब लहलह बाली झुलेपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ र ७ का किसान आफ्नो दिन फिरेको खुशी देखिएका छन् । भङ्गाहा–६ का पर्सा, सग्रामपुर र वडा–७ धनष्पुरको माझमा रहेको यो फाँटलाई विगतमा रातु नदीले बगर बनाएको थियो ।

विगतमा रातु नदीको बाढीले उर्बर जग्गा काटेर बगर बनाएपछि सुकुम्बासी बनेका किसान पछिल्ला चार वर्षयता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवासको साथ पाएपछि बगरमै सुन फलाउने भएका छन् । ‘हजुर, देखैछी न।।अखैन तरकारी निकैैल रहल अई’ (हजुर, अहिले तरकारी निक्ली रहेको देखिरहनु भएको छ नि !) खेतमै पुगेका सञ्चारकर्मीहरुसँग बगर खेतमा बोडी टिपिरहेकी भङ्गाहा–६ पर्साकी रामज्योति हुजदार थारुले भनिन् – ‘अइस पहिने बैशखा सिजनके तरकारी बेच चुुकल छि, ओम्भर देखु भदैया तरकारी तयार भरहल अई’ (यसअघि बैशाख सिजनको तरकारी बेची सक्यौ, उता हेर्नोस् भदौ सिजनको तरकारी हुँदैछन्) ।

रामज्योतिको एक बिघा नदीउकास जग्गामा ७६ वटा आँपका कलम हुर्कंदैछन् भने त्यही जग्गामै परवल, लौका, बोडी, करेलासहितका लहरे तरकारी बाली फस्टाएको देखिन्छ ।

रामज्योति जस्तै पर्सा बस्तीका बिन्दादेवी हुजदार र पुनमदेवी हुजदार पनि अहिले रातदिन बगर बगैंचा र त्यहाँको तरकारी खेतीमा ब्यस्त देखिन्छन् । आफ्नो १२ कठ्ठा बगर खेतमा ५६ वटा आँपका रुख लगाउनु भएका किसान शङ्कर हुजदारले २०७५ सालमा खोर्सानी, हर्दी (बेसार) जस्ता मसला खेती मौसमी तरकारी बालीबाट दुई लाख बचत भएको बताए । बगर बगैंचा र तरकारी खेती थालेका यहाँका किसानले मौसमी तरकारी खेतीमात्र लगाउने गरेका छन् ।

‘बेमौसमी तरकारी खेती मे विषादीके ज्यादा प्रयोग कर परैछै,’ (बेमौसमी तरकारी खेतीमा विषादीको प्रयोग गर्नुपर्छ) पर्सा बस्तीकी किसान बिन्दादेबी हुजदारले भनिन् – ‘ई महग आ स्वास्थ्यके लेल हानिकार होइत अछि, तइलक हमसभ मौसमी तरकारी खेती करैछि’ (बेमौसमी तरकारी खेती महङ्गो र स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ नि १ त्यसैले हामी मौसमी तरकारी खेती नै गर्छौ) ।

विसं २०३० को बाढीले जग्गा सबै काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारु लालपुर्जामा जग्गा भएपनि सुकुम्बासी भएका थिए । विसं २०६४ यता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भङ्गाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदीउकास भएको त्यहाँको बगरमा पैरवी मञ्चले बगर खेती गर्न किसानलाई उत्प्रेरित गरेपछि पछिल्ला चार वर्षयता आदिवासी थारु अब्बल किसानमा दरिएका छन् ।

भङ्गाहा–६ र ७ को २०५ बिघा नदीउकास बगर जग्गामा अहिले मालदह, बम्बै, दशहरी, कलकतीया र जर्दा जातका १८ हजार आँपका बिरुवा हुर्कंदै छन् ।

आँपबाहेक लिची र कागतीका बिरुवा पनि हुर्किरहेका देखिन्छन् । पर्सा, सग्रामपुर र धनष्पुरसहित तीन बस्तीका १०८ परिवारले बगैंचा लगाइएको बगरमा मौसमी तरकारी बाली लगाएर वर्षेनी लाखौं आम्दानी गरिरहेका पर्सा बस्तीकै सामाजिक, राजनीतिक कार्यकर्ता रामनारायण हुजदारले बताए ।

पैरवी मञ्चले पहिलोपल्ट सन् २०१५ मा त्यहाँका बाढीपीडित किसानलाई सङ्गठित गरेर ‘रातुखोला फलपूmल तथा वृक्षरोपण आयआर्जन समूह’ मार्फत खेतीमा लाग्न उत्साहित गराएपछि अहिले बगर हराभरा भएको हो । किसानलाइ पैरवी मञ्चले आँप, लिची र कागतीका बिरुवा तथा तरकारीका बीउबिजन र प्राविधिक सहयोग पु¥याएको समूहका अध्यक्ष जासर यादव बताउँछन् । ‘पैरवी मञ्चले बगरमै तीनवटा बोरिङ्ग पनि जडान गरिदिएको छ,’ अध्यक्ष यादवले भने – ‘मुख्य कुरा त हौसला हो, जुन पैरवी मञ्चले यहाँका किसानलाइ दियो ।’

यहाँका किसान आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत भएकाले प्राङ्गारिक खेती गर्ने गरेका यादवको भनाइ छ । बजारमा यहाँका किसानको उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको यादव बताउँछन् ।

यसअघिका जग्गाधनी यादव र थारु जातिका किसानले बगरमा आ–आफ्नो पुरानो जग्गामा अहिले साँध लगाएका छन् । बगरकै नदीउकास २५ बिघा ऐलानी पर्ति जग्गा भने धनष्पुरका मुसहर, चमार, दुसाध र खत्वे जातिका दलित समुदायले जोतखन गरेर बगैंचा र तरकारी बाली लगाइरहेका छन् । नदीउकास ऐलानी जग्गामा बगर बगैंचा र तरकारी खेती गर्न थालेपछि कमाउन पञ्जाब, हरियाणा जाने गरेका दलित परिवारका युवा यही मिहिनेत गरेर सुन फलाइरहेको बताउँछन् ।

पर्सा र सग्रामपुरका महिला किसानले महालक्ष्मी र शिवशक्ति महिला आयआर्जन समूह गठन गरेर नियमित बचत समेत गरिरहेका छन् । ‘हमसभ बाइढक कारण कागजक लालपुर्जामे छली,’ (हामी बाढीको चपेटाले कागजको लालपुर्जा धनीमात्र थियौं) महालक्ष्मी महिला आयआर्जन समूहकी अध्यक्षसमेत रहनु भएकी रामज्योति हुजदारले भनिन् – ‘पैरवी मञ्च हमरा सभके नवका जिनगी देलक, आब मिहिनेत कक खाय पिवमे कोइ दिकत नई’ (पैरवी मञ्चले हामीलाई नयाँ जिन्दगी बनाइदियो, अब मिहिनेत गरेर खान, पिउन अप्ठ्यारो छैन) ।

बगर बगैंचा र तरकारी खेतीमा रमेका किसानले बलौटे बगर खेतमा सिँचाइको पर्याप्त सुविधा नपुगेको गुनासो गरेका छन् । ‘के गरौं हजुर, अहिले पानी पटायो, साँझै खङ्रङ्ग हुन्छ’ बगर बगैंचाका किसान चन्देश्वर हुजदारले भने – ‘हामीलाई थप पाँच/सातवटा बोरिङ्ग हुनसके बाली अझै बढाउन सकिन्थ्यो ।’

पर्सा, सग्रामपुर र धनष्पुरका किसानको मिहिनेतले बगर अब सुन फल्ने ठाउँ बनेको पैरवी मञ्चका अध्यक्ष नागदेव यादव बताउँछन् । “हामीले बगरमा यसरी खेती गर्न सकिन्छ भन्यौं, त्यहाँका किसानले टपक्क त्यो कुरा टिपेर मिहिनेत गर्न थाले, चार वर्षमै बगर हराभरा बगैंचा बन्यो,’ पैरवी मञ्चका अध्यक्ष यादवले भने – ‘भङ्गाहा नगरपालिका र स्थानीय समुदायको सहयोग एवं किसानको मिहिनेत साकार बन्यो ।’

बगर बगैंचा र तरकारी खेतीको अवधारणाले पर्सा, सग्रामपुर र धनष्पुरका किसानमा आएको परिवर्तन अन्य ठाउँका लागि शिक्षा भएको छ । बगरमा किसानले गरेका मिहिनेतले विपद् व्यवस्थापन (नदी कटान रोक्न गरिएको प्रयत्न), महिला सशक्तीकरण (आर्जनमा महिलाको सहभागिता र स्वामित्व), जैविक विविधता, वातावरणीय अनुकूलन, जलवायु परिवर्तन अनुकूलन र जलाधार क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको यादव बताउँछन् ।

बगर बगैंचाका किसान अब आफ्नै मिहिनेतमा घरगर्जो टार्ने मात्र नभई छोराछोरी पढाउन र आपतविपद्मा आफन्तलाई सघाउन सक्ने भएका छन् । ‘मिहिनेत चै गर्नुपर्छ हजुर, दुःखका दिन चैं गए,’ बगर बगैंचाका किसान रामनारायण सिंंहले भने – ‘अब वर्षमा दुई/चार लाखको काम गर्न साहु खोज्न अन्त जान पर्दैन । समूहभित्रै सञ्चित रकम र बचतले धानिन्छ ।’

यसैबीच, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले बगर बगैंचाका किसानले मिहिनेतको नयाँ दृष्टान्त देखाएका बताए । बगरमा सिँचाइका थप सुविधा र आइपर्ने अन्य सामूहिक आवश्यकताका कुरामा किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको पनि प्रमुख साहले उल्लेख गरे। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here