काठमाडौं । शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेरसमूहका व्यक्ति धेरै संलग्न रहेको पाइएकाे छ ।
वित्तीय जानकारी इकाइले आइतबार सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदन (स्टारटेजिक एनलाइसिस रिर्पोट २०२४)ले यस्तो देखाएको हाे । किशाेरावस्था उमेर समूहका व्यक्तिहरुको धेर वित्तीय कारोबार शंकास्पद देखिएको, र उनीहरुले पेसामा ‘विद्यार्थी’ उल्लेख गरेको देखाएको छ ।
प्रतिबेदनका अनुसार यस प्रकारको शकांस्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शंकास्पद कारोबार भएको पाइएको छ ।’
साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रुपमा गिफ्ट/पार्सल, सामाजिक सञ्जालको गलत प्रयोग, नक्कली अनलाइन प्लाटफर्म, वन टाइम पासवर्ड (ओपीटी), चिट्टालगायत माध्यमबाट अपराध गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्ष वित्तीय जानकारी इकाइले साइबर प्रविधिमा आधारित ठगीका विषयमा प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन नेपाल सरकारसमक्ष पेस भइसकेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिवेदनले सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको बारे उल्लेख गरेकाे छ। प्रतिवेदनमा सन् २०२४ को पहिलो पााच महिनामा प्राप्त भएका साईबर अपराध सम्बन्धी शंकास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ ।
प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक, संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ ।
प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगी सम्बन्धी सूची प्रस्तुत गरिनुका साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।