किरण बञ्जाडे, हाल दक्षिण कोरिया
(भदौ ३१ मा पाँच वर्ष पूरा भयो—त्यो दिन (२०७७ भदौ ३१ गते) जब आमाले हामीलाई सधैँका लागि छोडेर जानुभयो । पाँच वर्ष—कसैका लागि सामान्य समय हुन सक्छ, तर हाम्रा लागि पाँच वर्ष अनन्त जस्तै भयो । दिन, हप्ता, महिना हुँदै सयौँ र हजारौँ दिन बितिसके, तर आमाको सम्झनाले भने समयको सीमा चिन्दैन । हरेक बिहानको पहिलो सम्झना आमा, हरेक साँझको अन्तिम सम्झना पनि आमा नै हुनुहुन्छ ।
त्यो कालो दिन अझै आँखै अगाडि छ । त्यो दिन पनि म परदेशमा थिएँ । रातभरको काम सकेर थकित शरीर बोकेर कोठामा फर्किएर सुतौँ भनेर के पल्टिएको थिएँ, अचानक जीवनकै सबैभन्दा ठूलो पीडाको खबर आयो, “आमा अब रहनु भएन ।” त्यो वाक्य सुन्नासाथ संसार टुटेको महसुस भयो । केही घण्टा अघिमात्र ड्युटीमै हुँदा आमासँग गरिएको भिडियो कल अझै स्मृतिमा ताजै छ ।
आमासँग मैले दशैँमा घर फर्किने वाचा गरेको थिएँ, तर आमाले त्यो वाचासम्म पर्खिनु भएन । थाहा छ, एकदिन यो संसार सबैले छोडेर जानैपर्छ, तर केही दिन अझै पर्खनु भएको भए हुन्थ्यो कि भन्ने लाग्छ, आमा । त्यसैक्षण जीवनका सबै रंग हराए, संसार अन्धकारमा डुब्यो ।
केही वर्षअघि बुबा बित्नुभएको थियो । दाहसंस्कारको बेला आमा आफैँ अगाडि सर्नुभयो । हाम्रोतिर परम्पराअनुसार त्यसअघि महिला दाहसंस्कारमा प्रत्यक्ष सहभागी भएको दृश्य मैले कहिल्यै देखेको थिइनँ । त्यसैले सुरुमा मलाई लाग्यो– आमा नगएको भए पनि हुन्थ्यो कि ?
तर पछि मात्र बुझें—आमाले हाम्रो चिन्ता कम गर्न, हामीलाई “म छुँ है” भन्ने ढाडस दिन र दुःखमा पनि हामीलाई बलियो बनाउन त्यहाँ उपस्थित हुनुभएको रहेछ । आफ्नो जीवनसाथी गुमाउँदाको पीडा कति गहिरो थियो होला, सजिलै अनुमान गर्न सकिन्थ्यो । तर त्यो पीडा आमाले भित्रै दबाउनुभयो न हामीलाई, न अरूलाई कहिल्यै देखाउनुभयो ।
बुबाको बियोगपश्चात् जीवन विस्तारै सामान्य हुँदै थियो । हामी फेरि मुस्कुराउँदै अगाडि बढ्न थालेका थियौँ । तर नियतिले आमालाई पनि छिन्यो । त्यो क्षणको पीडा शब्दमा उतार्न असम्भव छ ।
बुबाको दाहसंस्कारमा हामी आँसुमा डुबिरहेका बेला आमाले आँसु पुछ्दै भन्नुभएको थियो—“किन रुन्छौ ? म छु त ।”
हामीलाई कमजोर नबनाउन, निराशामा डुब्न नदिन, आमाले आफ्नै पीडा हृदयभित्रै दबाएर ढाडस दिनुभयो । आज लाग्छ त्यतिबेलै मनमनै निर्णय गरिसक्नुभएको रहेछ, “अब छोराछोरीलाई यो पीडाबाट मुक्त गराएर केही समयमै म पनि बुबासँगै जान्छु ।”
बुवालाई त खासै धेरै सेवा गर्न सकिएन पाइएन, परिस्थितिअनुसार जति सक्यौँ गर्यौँ । तर हजुरलाई भने पक्कै धेरै गर्न चाहिरहेका थियौँ । हजुरलाई खुसी बनाउन मन नभएको होइन, आमा, कसरी सुख अनि खुसी दिने भनी सोच्दै गर्दै पनि थियौँ ।
तर बिचैमा नै छोडेर जानुभयो, अर्कै बाटो रोज्नुभयो । भगवानलाई पनि हजुर छिट्टै चाहिनु भएछ क्यार । हामीहरूबाट सुटुक्कै लानुभयो, हामीलाई टुहुरो बनाउनु भयो, एक्लो पार्नुभयो ।
अब त दिन नै के सकिन्छ र आमा ? हजुरलाई आँसु मिसिएको गहकिलो मन मात्र दिन सक्छौँ । संगसंगै सम्झनाका मुटु चुडाउने हरेक पल र क्षणहरू । अब भौतिक भेट त पक्कै नहोला, आमा, तर सम्झिरहने छु । आमा, यो पाँच वर्ष लामो यात्रामा धेरै कुरा बदलिए ।
हामी केही उपलब्धिहरू गर्न सक्ने भइसकेका छौँ, आफ्नो बाटो आफैँ खोज्दै अघि बढिरहेका छौँ । तर हरेक कदममा तपाईंको कमी असाध्यै महसुस हुन्छ ।
परदेशमै भएपनि दशैँ आउँदा पहिले झैँ घर जाने मन लाग्छ । तर अब घर गए पनि निधारमा तपाईंको हातबाट टीका नपाउँदा त्यो निधार रित्तै भए जस्तै भइदिन्छ । हरेक चाडपर्व अनि जन्मदिनमा तपाईंको आशीर्वाद अनि मुस्कान नभएर त्यो उत्सव अधुरो लाग्छ ।
हरेक दुःखमा, जब मन भत्किन्छ, तपाईंको स्वर कानमा गुन्जिन्छ—“चिन्ता नगर, सबै कुरा राम्रो हुन्छ, हामी हार्ने मान्छे होइनौँ ।” कहिलेकाहीँ लाग्छ यदि भगवानले केही समय अझै दिनुभएको भए, हामीले तपाईंलाई धेरै खुशी दिन सक्थ्यौँ ।
तपाईंले गर्वको मुस्कान देख्ने धेरै क्षण आउन बाँकी थिए । हामीले गरेका स–साना उपलब्धिहरू तपाईंलाई देखाउन सक्थ्यौँ । तर भगवानलाई तपाईं छिट्टै चाहिनु भयो, त्यसैले हामीलाई टुहुरो बनाएर लैजानुभयो ।
पाँच वर्ष बितिसक्दा पनि त्यो पीडा उस्तै छ । समयले घाउलाई पुरानो त बनाउँछ, तर कहिल्यै भरिदिँदैन । हाम्रो घाउ पनि त्यस्तै भयो—पुरानो त भयो, तर भरिएन । आमाबाट हामीले “जस्तोसुकै कठिनाइ आए पनि हिम्मत नहार्ने” शिक्षा पायौँ । बुबाबाट “लक्ष्यमा दृढ रहनु” भन्ने पाठ सिक्यौँ । यी दुवै शिक्षा आज हाम्रो जीवनका आधारस्तम्भ बनेका छन् ।
जब जीवनमा समस्या आउँछ, तपाईंको अनुहार सम्झेर बल पाउँछौँ । जब निराशा आउँछ, तपाईंको मायालु स्वर सम्झेर आत्मबल जुटाउँछौँ ।
आमा, तपाईं भौतिक रूपमा टाढा हुनुभयो तर आत्मिक रूपमा अझ नजिक हुनुहुन्छ । तपाईंको माया, अनुशासन, आशीर्वाद र सपना हाम्रो जीवनका अमूल्य प्रेरणाका स्रोत बनेका छन् । अब हामीसँग आँसु र सम्झनाभित्र, अनि फोटो हेरेर मात्र तपाईंलाई बोलाउने अवसर छ। तर त्यही सम्झनामा पनि हामी बल र प्रेरणा पाउँछौँ ।
हाम्रो यही प्रार्थना छ—
स्वर्गमा आमाको आत्माले सधैँ शान्ति पाओस्।आमाको आशीर्वादले हामीलाई अझ बलियो बनाइरहोस् ।अर्को जन्ममा पनि आमाकै कोखबाट जन्मन पाउँ ।
भावपूर्ण श्रद्धाञ्जली—सधैँ सम्झनामा ।
छोरा किरण बञ्जाडे

























