कसरी मिल्छ सद्गुरुको कृपा ?

आनन्द ढकाल

तीरथ गए से एक फल, संत मिले फल चार ।
सतगुरु मिले अनेक फल, कहे कबीर विचार ।।
-कबीर वाणी

एकपटक एउटा चोर चोरीको लागि झुक्किएर एक साधुको कुटिमा पुग्यो । चोरले कुटिभित्र चारैतिर हेर्यो, केहि देखेन ,एउटा पुरानो र मैलो झोला, लौरो अनि कमण्डलु मात्र देख्यो ।

साधु आफ्ना दुवै नयन बन्द गरेर साधनामा मग्न हुनुहुन्थ्यो ।चोरले वहाँको मुहारमा जुन कान्ति को आभा देख्यो , त्यसबाट उसले अन्त कतै पनि नजर लानै सकेन ,र त्यो आभाको आकर्षण ले साधुलाई एक टक हेरिरह्यो ।

उसलाई मन भित्र छ्टपटाहट पनि भइ रहेको थियो साथै साधुको त्यही आभामा मोहित पनि भइरहेको थियो । यत्तिकैमा साधुको ध्यान खुल्यो, वहाँ ले चोरलाई हेर्नुभयो उसको छट्पटी र आँखा को भाव भुझ्नुभयो ,र शान्त भएर भन्नुभयो –

हे पथिक! यो रातको समयमा तिमी जुन उद्देश्यले यहाँ आयौ ,यो जोगीको कुटिमा तिम्रो उद्देश्य पूरा हुने वस्तु केही छैन। तर यदि तिमीले लैजान्छौ नै भने पनि त्यही मेरो झोलीभित्र सहृदयीले समर्पण गरेको केही पिठो होला त्यही मात्र भएपनि लिएर जान सक्छौ ।

चोरलाई आफ्नो कृत्य प्रति वितृष्णा हुँदै गइरहेको थियो । उसले साधुको चरणमा शिर राखेर आत्मग्लानी हुँदै हात जोडेर भन्नलाग्यो कि हे स्वामी जी ! मैले जब देखि यो कर्म गर्न लागेँ,आजका दिनसम्म चोरी गर्ने क्रममा कयौ लुटपाट वलात्कार र हत्या सम्म गर्न कहिल्यै हिच्किचाहट भएन , तर आज तपाइको यो कुटिभित्र पस्ने बित्तिकै किन किन मेरा हातहरू काँपे, मनले आफैलाई धिक्कारी रहेछ । तर मेरो पेशा नै चोरी हो, कसैगरी पनि यो काम छोड्न सक्दिन ,अब भन्नुहोस म के गरुँ ?

चोरको यस्तो कुरा सुनेर साधुले केहिबेर आफ्नो नेत्र बन्द गरेर विचार गर्नुभयो अनि केहि गम्भीर हुँदै,उसलाई हेर्दै भन्नुहुन्छ -हेर बाबू ! सक्छौ भने चोरी जस्तो निकृष्ट काम नै नगर , सक्दैनौ भने पनि मैले भनेको एउटै नियम मात्र पूरा गर्यौ भने केहि दिनमै तिमीले यो पेशाबाट छुट्कारा पाउँनेछौ र तिमी सवैको इज्जत पाएर सुखपुर्वक जीवन यापन गर्न पाउँनेछौ ।

त्यो नियम भनेको पराइ स्त्रीलाई सधै माता वा दिदीबहिनीको स्वरुपमा मात्र हेर । चोरले इमानदार र दृढता पुर्वक नियम पालन गर्ने बाचा गर्दै त्यहाबाट निस्कियो ।

भोलिपल्ट त्यहि व्यक्ति चोर्न जाने क्रममा एउटा राम्रै घरमा पर्खाल नाघेर घुस्यो , घरभित्र धेरै नै धनमाल थियो ,उसले पैसा तथा गरगहना नियाल्दै थियो कि त्यस घरमा रहेकी महिला त्यहाँ आइपुगिन , अत्यन्त सुन्दरी , गरगहनामा सुसज्जित थिइन उनी।

यता चोर पनि युवा हृष्टपुष्ट बलिष्ठ शरीरवाला । ती महिला त्यस राज्यका राजाको महारानी थिइन जो विवाह गरेको बर्षौ हुँदा पनि उत्तराधिकारी जन्माउन असमर्थ भएकि हुँदा राजाले उनलाई त्याग्दै दरबार नजिकै अलग घर बनाइ पालेपहराको रेखदेखमा छाडेका थिए ।

पहरा गरिरहेका ती पहरेदारहरूले युवा चोर घरभित्र घुसेको देखेर रानी ले परपुरुषलाई आमन्त्रण गरेको ठानी राजालाई तत्काल खबर गरे ।राजा आफै त्यहाको अवस्था बुझ्न गोप्यस्थानबाट गतिविधि नियाल्न लागे । यता रानी ले त्यो चोरलाई भन्न लागिन् कि हे युवा !

तिमी किन के कामले आयौ ? चोरले अघिल्लो दिन साधु संग गरेको बाचा सम्झियो र त्यसलाई पालन गरेरै छाड्ने हेतुले भन्छ -हे माता ! म त यहाँ धनमाल लिन आएको हुँ।

चोरको शारीरिक बनौटबाट आकर्षित भएकि रानीले आफुमा घटेको सवै घटना सुनाउदै भन्छिन ,यदी तिमीले मेरो कामना पुर्ण गर्यौ भने म तिमीलाई बर्षौसम्म पुग्ने सम्पत्ति दिनेछु ।

चोरले पुनः त्यही बाचा स्मरण गर्दै भन्छ -हे माता ! तपाइले म प्रति जुन चाहना राख्नुभएको छ ,त्यो त कसैगरि पनि पुरा गर्न सक्दिन, मैले त तपाइलाई मेरी माताको स्वरूपमा देखेको छु ।

किनकि मलाई जन्मदिने माता को हुन् ,कहाँ छिन, मलाई केहि थाह छैन । चोरिको काम गर्ने एक जनाले मलाइ छ महिनाको दुधे वालक देखिनै पालेका रहेछन ,उनैको रेखदेख र पेशा सिक्दै हुर्किएँ ।

मातृवात्शल्य के हो ? कस्तो हुन्छ ? त्यो थाह पाइन मैले ।त्यसैले आज तपाइँलाई देख्ने बित्तिकै आफ्नी माताको काल्पनिक छवि तपाइँमा नै देखेँ। यदि तपाइले पनि मलाई पुत्र योग्य सम्झिएर पुत्रले गर्न सक्ने कुनै कार्य गर्ने आदेश दिनुहुन्छ भने म कर्तव्य निभाउन तैयार छु । उसको कुरा सुनेर रानी एकाएक द्रवित भइन् र मातृवात्शल्य भावले सो व्यक्तीलाई हेर्न लागिन् ।

यत्तिकैमा त्यहा पहरेदार सहित राजा आइपुग्छन ,जो धेरैबेर देखि रानी तथा चोरको गतिविधि नियाल्दै कुरा सुनिरहेका थिए । राजाले सोच्न पुगे चोरमा पनि यत्रो इमानदारिता ? चोरलाई दरवारमा बन्दी बनाएर लगे र भोलीपल्ट राजसभामा उसलाई सबैको सामुन्ने उभ्याइयो ।

राज्यभरी खवर पुग्यो चोर समातिएको कुरा ।राज्यका जनताहरू उसले कस्तो दण्ड पाउने हो ? हेर्न र बुझ्न सबै त्यहा आए । संतको एक क्षणको संगतले गर्दा चोरमा पलाएको इमान्दारिता र दृढता ले गर्दा राजा त्यस व्यक्ति प्रति प्रभावित भएका थिए , सोधे- तँ चोरी गरेर आफ्नो पेट पाल्ने भएपनि तेरो इमान्दारिताले गर्दा मैले तलाई कुनै दण्ड नदिने विचार गरेँ ।

भन् तेरो इच्छा के छ ? जे भएपनि म पूरा गर्छु । राजाको कुरा सुनेर त्यहाँ खासखुस चल्यो , दण्ड पाउनुपर्ने चोरलाई राजाले इनाम पो दिन लागे भनेर । राजाले हल्ला सुनेर सबैतिर नियाले सभा पुन: शान्त भयो ।

चोर हात जोड्दै शान्त भएर भन्छ- महाराज ! यदि तपाइले मेरो इच्छा पुर्ण गराउनुनै हुन्छ भने तपाइले परित्याग गर्नु भएकि रानीलाई मैले मेरो जन्म दिने माताको स्थानमा राखेको छु ,कृपया आफ्नो वाचा अनुसार मलाई दया गरेर मेरी मातालाई यस दरबारमा ससम्मान का साथ पुन:महारानी कै रुपमा स्वीकार गर्नुहोस् । अरु मेरो केही इच्छा छैन ।

वाह…राजा मनमनै सोच्छन मेरो मनमा रहेको थोरैमात्र क्लेष पनि यसको कुराले मिट्न हुनगयो । अनि द्रवित हुँदै तत्कालै उनले रानीलाई बाजागाजा सहित दरबारमा भित्र्याए र आफू संगै सिंहासनमा राखे । त्यही सभा मै रानी तर्फ फर्किएर राजा भन्छन-हे महारानी !

मेरो कारण ले तिमीले धेरै कष्ट भोग्न पर्यो , यसर्थ म आफुले गरेको गल्ती प्रति क्षमा माग्छु र आजको दिनमा तिमी ले जे माग्छौ म पूरा गर्छु, भन के इच्छा छ ?

महारानी भन्छिन- महाराज ! यदि हजुर म संग खुशी हुनुहुन्छ र बाचा गर्नुहुन्छ भने मलाई एउटै कुरामात्र दिए पुग्छ । त्यो के भने मलाई पुत्र जन्माउन नसकेको कारणले तपाइले त्याग्नुभएको थियो , आज यहि युवा मेरो पुत्र वनेर मातृत्व को रक्षा गर्न आइपुग्यो ।यसर्थ यसैलाई पुत्र स्वीकार गर्नुहोस् र अहिल्यै राज्यको उत्तराधिकारी घोषणा गर्नुहोस् ।

राजाले पनि आफ्नो बाचा अनुसार त्यस व्यक्तिलाई पुत्र स्वीकार गर्दै तत्कालै आफ्नो उत्तराधिकारी घोषणा गरे । सद्गुरुको एउटै वचन इमानदारी र कट्टरता पुर्वक पालन गर्नाले निकृष्ट पेशामा भएको मानिस पनि राजा बन्न योग्य भयो ।

जसरी मालीले आफ्नो बगैंचामा फुलहरूको बोटमा सुकेका डाँठहरूलाई छिमल्दै, मुर्झाएका पातहरू टिप्दै ,बगैंचा र फुलको सुन्दरतामा निखार ल्याउँछ त्यसरी नै सद्गुरुले आफ्ना सानिध्यमा आएका र भगवद भक्तिमा समर्पित हुन चाहने हरेक विचारधारका मानिसहरूको विकृतिलाई क्रमशः छिमल्दै एउटा सत्पात्रको जन्म दिनुहुन्छ ।

ती भाग्यवान व्यक्ति, जसले ईश्वरीय अनुकम्पा र पूर्वजन्मका सत्कार्यको प्रभावले गर्दा नै कृपापुर्ण आशीर्वाद प्रदान गर्ने त्यस्ता दुर्लभ सद्गुरु प्राप्त गर्छन् ।

ॐ असतो मा सद्गमय,
तमसो मा ज्योतिर्गमय,
मॄत्योर्मा अमॄतं गमय।

1 COMMENT

  1. चिनी खानेले मात्र चिनीको स्वाद थाहा पाउँछ भन झै सद्गुरुदेवको कृपा अनुभव गर्नेले मात्र सद्गुरुदेवको कृपाको पात्र वन्न सक्छ।यसको लागि गुरु निष्ठा र आस्था नै सर्वोपरी छ।
    जय श्री सीताराम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here