उधौली, धान्य र योमरी पूर्णिमा मनाइँदै, यसरी बनाईन्छ योमरी

काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् ।

योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ ।

उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी सहित चामलको पिठोको विभिन्न देवी देवता धान खेतमा हुने चरा मुसा आदी वनाएर चढाउने अनि ४ दिनसम्म छोपेर राख्ने र त्यसलाई ४ दिनपछि प्रसादका रुपमा खाने/ख्वाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ ।

यो बौद्ध चैत्य दर्शनमा पनि आधारित छ । खेतमा काम गर्दा वा चाड पर्वमा निस्कँदा नेवारी पुरुषहरुले दौरा सुरुवाल, कालो भादगाउँले टोपी र सेतो पटुका तथा महिलाहरुले हाकु पटासि (कालो फरिया, कालो चौबन्दी र सेतो पछ्यौरी) लगाएर चिटिक्क परेर हिँड्ने ज्यापू संस्कृति अहिले क्रमशः लोप हुन थालेकोछ ।

खेतमा जाने किसानले काँधमा खर्पन, हातमा औजार र मल बीउ बोकेको ज्यापू संस्कृतिको पहिचान पनि मुख्य शहरबाट विस्तारै लोप हुन थालेको छ ।

बनाउने विधि

-योमरी बनाउनु आफैँमा सीपमूलक काम हो । योमरीलाई आकारमा ल्याउन सजिलो भने छैन । योमरी बनाउनका लागि ताइचिनको चामल चाहिन्छ । ताइचिनको चामललाई पिठोमा परिणत गरिन्छ ।

-चामलको पिठोलाई मनतातो पानीले भिजाएर मुछ्नुपर्छ । पिठो लस्सादार नभएसम्म मुछिरहनुपर्ने हुन्छ । त्यस्तै, पिठोलाई हावाबाट जोगाउन नरम मलमलको कपडाले छोप्नुपर्छ ।

-थोरै पिठोलाई हातमा लिएर पुनः मुछिन्छ । जति राम्रोसँग मुछ्यो त्यति नै योमरी नफुट्ने सम्भावना रहन्छ । हातमा लिएको पिठोलाई गोलाकार बनाइन्छ । पिठोलाई फुट्न नदिन थोरै तेल पनि हातमा दल्न सकिन्छ । यसले पिठोलाई योमरीको आकारमा ल्याउन सजिलो पार्छ ।

-योमरी बनाउन ताइचिनको चामल चाहिन्छ । ताइचिनको चामललाई पिठोमा परिणत गरिन्छ । पिठोलाई मनतातो पानीले भिजाएर मुछ्नुपर्छ ।

-त्यसपछि, पिठोको एक भागलाई केही लाम्चो पारेर हातले पेल्नुपर्छ । पिठोको एक भाग चुच्चो हुँदा अर्को भाग भने गोलाकार नै हुन्छ । गोलाकारको मध्यभागमा चोरी औँलाले धकेलेर खाल्टो पार्नुपर्छ । तेल केही मात्रामा लिएर खाल्टो पारिएको भागमा फराकिलो पार्दै जानुपर्छ । तेलले योमरी बाफिने समयमा फुट्नबाट जोगाउँछ । आइसक्रिमको ‘कोन’ जस्तै बनेपछि बीचको खाली भागमा चाकु, कुराउनी, किमा वा मास र मुगी राखिन्छ ।

पुनः फराकिलो पारिएको पिठोलाई एकैठाँउमा जोड्ने गरिन्छ । इच्छाअनुसार, अन्तिममा योमरीको ‘सिङ’ एउटा र दुईवटा पनि बनाउन सकिन्छ । अन्डा आकारको मात्र नभई योमरीलाई त्रिकोणात्मक आकारमा समेत बनाउन सकिन्छ ।
-पहिले फोसीमा पानी तताइ ‘भिउट’मा योमरी बनाइन्थ्यो । अहिले मःमको भाँडोमा बफ्याउने चलन बढेको छ ।

त्यस्तै मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ ।

तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।

धान्य पूर्णिमा

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here