काठमाडौं, २ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए–तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो ।
मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । यसअघि पुननिर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट संरचना बनाउँदा सम्पदाविदहरुले विरोध गरेपछि निर्माण त्यत्तिकै अलपत्र थियो ।
कंक्रिट संरचना हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ’प्यासेज’ पुनर्निर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ ।
सीए–तुलसी कन्ट्रक्सन जेभीका साइट इञ्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकहरुले काम गरिरहेको जानकारी दिए । उनका अनुसार क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनर्निर्माण गरिनेछ । श्रेष्ठका अनुसार कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रुपमा अघि बढाइनेछ ।
रानीपोखरीको पुनर्निर्माणको अनुगमन कार्यको नेतृत्व गरिरहेका पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको कार्य सन्तोषजनक ढंगले अघि बढेको बताए ।
निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्नेछ भने उपभोक्ता समितिले पोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिम पट्टिको पर्खाल लगाइसकेको छ भने दक्षिण र उत्तरको एक तिहाई भागमा पर्खाल लगाउने क्रम जारी छ ।
पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ । त्यस्तै, भक्तपुरका दक्ष कालिगढहरुबाट पोखरीमा पानी अड्याउन कालो माटोको सलामी दिने काम पनि भइरहेको छ ।
पुनर्निर्माण प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढहरुको संख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।
प्रताप मल्लले करीब साढे तीन सय वर्षअघि निर्माण गरेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पुननिर्माण पटक पटक विवादमा पर्दै आएको छ । शुरुमा पुरातत्व विभाग र काठमाडौं महानगरपालिकावीच कस्ले पुननिर्माण गर्ने भन्ने विवाद आएको थियो ।
निर्माणको जिम्मा महानगरले पाए पछि उसले सीमेण्ट र रडको प्रयोग गरेपछि पुननिर्माण फेरी विवादमा पर्यो । त्यो विवाद नसुल्झिंदै स्थानीय वासिन्दा र संस्कृतिविदले बालगोपालेश्वर मन्दिरको निर्माण शिखर शैलीमा गर्नु पर्ने अडान लिए ।
प्रताप मल्लले बनाउँदा शिखर शैलीमा रहेको सो मन्दिर १९९० को भुकम्पमा परि भत्किएको थियो । त्यसबेला पुननिर्माण गर्दा गुम्बज शैली अपनाइएको थियो ।
अन्त्यमा प्राधिकरणले हस्तक्षेप गरी सरोकारवाला सबैसँग छलफल गरी पुननिर्माणको टुंगो लगाएको थियो ।