१७ दिनमा ४ सय किलोमिटर पदयात्रा, भारतीय सीमादेखि चिनियाँ सीमासम्म पुग्न कति लाग्छ खर्च ?

काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भई सार्वजनिक गरिएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे । ‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भू(भाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भू–भाग समेटिएको छ ।

आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिंखडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो । यो टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए । टोलीले कपिलवस्तु तौलिहवास्थित भारत सीमानाका खुनुवादेखि भगवान बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो ।

६० मिटर उचाइको नेपालको तराईका भू–भागदेखि पहाडी क्षेत्रका धेरै जिल्लाका ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यस्थल हुँदै ३ हजार ७ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रको रसुवा केरुङ नाका जोड्ने यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिंखडाले जानकारी दिए ।आफूअनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो ट्रेकिङ रुटलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनमा पूरा हुने उनी बताउँछन् ।

प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटक खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस ट्रेकिङ रुटमा कम खर्चमा भ्रमण गराउन विभिन्न गाउँमा भएका होमस्टे र स–साना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनले बताए । उनका अनुसार दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो । ट्रेकिङ दौरान १७ दिनमा होमस्टे र साना होटलमात्र उपयोग गरिएको उनले बताए ।

भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने दाबी गरिएको छ । उनका अनुसार २० दिनको लागि ३ हजार ५ सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here