कालीमाटीमै आलुको मूल्यमा ४० रुपैयाँ फरक, समिति भन्छ – अनुगमनको जिम्मा वाणिज्य तथा आपूर्ती मन्त्रालयको

– जितेन्द्र खनाल

काठमाडौं, १ कात्तिक । यस्तो लाग्छ, प्याज पछि उपभोक्ताको ढाड सेक्नका लागि आलु तयार भएको छ । गएको एक महिनामा आलुको भाउ निरन्तर अकासिएको छ । त्यसमा पनि विचौलिया र ब्यापारीहरुको बेइमानीले भान्साको बजेटमा थप चोट पारेको छ ।

बजारमा भर्खर आएको नयाँ रातो आलु खुद्रा व्यापारीहरुले ९० देखि १ सय १० रुपैयाँ सम्ममा बेचिरहेका छन् । आलुको तुलनामा कम चाहिने प्याजको मूल्यबाट तर्सेका सर्वसाधारणलाई आलुको मूल्यले थप झस्काएको छ ।

नयाँ उत्पादन बजारमा नआइसक्नु र पुरानो आलुको स्टक सकिंदै जानुले यो बेलामा आलुको भाउ केही माथि चढ्नु चाहीँ सामान्य हो । यसका साथै भारतीय बजारमा पनि आलुको माग बढ्दै गएको कारण मूल्यमा थप भार परेको कालिमाटी फलफूल तथा तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय नेपाली रातो आलुको मूल्य अन्य आलुको तुलनामा बढेको छ । बनेपाको नाला र पालुङ्गबाट मात्रै पछिल्लो समय रातो आलु आएको व्यवसायीहरु बताउँछन् ।

कालीमाटीमा आलुको मूल्यमा ३० देखि ४० रुपैयाँसम्म फरक

कालिमाटी फलफूल तथा तरकारी बजारमा आलु बेच्दै गरेका पसल नम्बर ४९ का श्यामकुमार दासलाई तपाईं नेपाली रातो आलु कति रुपैयाँ किलोमा बेच्नुहुन्छ ? भनि सोध्दा प्रतिकेजी १ सय १० रुपैयाँमा बेच्ने गरेको बताए ।

उनले मुडे रातो आलु प्रतिकेजी ७० रुपैयाँ र भारतीय रातो आलु प्रतिकेजी ५० रुपैयाँमा बेच्ने गरेका छन् । उनी खुद्रा व्यापारी हुन् । कालिमाटीमै पसल नम्बर ५१७ का आलु तथा प्याजका होलसेल व्यापारी धनबहादुर ढकाल भने नेपाली रातो आलुको मूल्य प्रतिकेजी ७० रुपैयाँ मात्र रहेको बताउँछन् । त्यस्तै, मुडे रातो आलु प्रतिकेजी ५२ रुपैयाँ र भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजीमा बिकीरहेको छ ।

यो दुई पसलहरुको दुरी १ मिनेटको मात्रै हो तर आलुको मूल्यमा भने ४० रुपैयाँसम्मको फरक देखिन्छ । कालीमाटीकै अर्का खुद्रा व्यापारी पसल नम्बर ५४ का राजकुमार ढकाल भने नेपाली रातो आलु प्रतिकेजी १ सय रुपैयाँमा बेचिरहेका छन् । त्यस्तै, मुडे रातो आलु प्रतिकेजी ६५ रुपैयाँ र भारतीय आलु प्रतिकेजी ५० रुपैयाँ छ ।

नाफाको अधिकार १० देखि १५ प्रतिशत मात्रै

खुद्रा व्यापारीलाई होलसेलसँग किनेको मूल्यमा १० देखि १५ प्रतिशतसम्म नाफा खाएर बेच्ने अधिकार भएको उपनिर्देशक श्रेष्ठ बताउँछन् । ‘खुद्रा व्यापारीलाई होलसेलसँग किनेको मूल्यमा १० देखि १५ प्रतिशतसम्म नाफा खाएर बेच्ने अधिकार छ’ उनले भने ‘त्यो भन्दा धेरै नाफा खाएमा गैरकानूनी हुन्छ ।’ तर प्रतिकेजी ७० रुपैयाँमा किनेको आलुलाई १ सय १० रुपैयाँमा बेच्दा व्यापरीहरुले ६३ प्रतिशत सम्म नाफा खाने गरेका छन् । यसका साथै १ सय रुपैयाँ प्रतिकेजीमै बेच्दा पनि ५७ प्रतिशत भन्दा धेरै नाफा खाएको देखिन्छ ।

अनुगमन र कारबाही गर्ने काम वाणिज्य तथा आपुर्ति मन्त्रालयको होः समिति

तरकारीमा भएको मूल्यवृद्धि र मनपरीमा अनुगमन र कारबाही गर्ने काम वाणिज्य तथा आपूर्ति मन्त्रालयको भएको कुरा उपनिर्देशक श्रेष्ठ बताउँछन् । ‘मूल्य वृद्धिको अनुगमन र कारबाही गर्ने काम वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो,’ उनले भने, ‘यसमा हाम्रो भूमिका उसको सहयोगीको मात्र हुन्छ ।’

हुन त कालीमाटीमा यसरी चर्को मूल्य असुल्ने ब्यापारीहरुलाई कारबाही नभएको भने होइन । ‘मनपरी मूल्य राखेको विषयमा पहिले पनि कारबाही भैसकेको छ’ उनले भने ‘दशैंको लागि गरिएको अनुगमनमा मात्रै व्यापारीहरुलाई २० हजार रुपैयाँसम्मको जरिवाना गरिएको थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here