‘बागी स्त्रीको आत्मकथा’भित्र युगचेत

तेजविलास

‘बागी स्त्रीको आत्मकथा’ कवितासङ्ग्रह(२०८०) का लेखक सुमिना हुन् । नेपाली कविता लेखनमा समसामयिक विषयवस्तुलाई कलात्मकता प्रदान गरेर समाज बदल्न प्रेरित गरिरहने काममा सुमिनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । नेपाल र नेपालीको उज्यालो यात्रामा सुमिना आलोचनात्मक चेतनासहित सिर्जन कर्ममा रमाएकी छिन् । आफ्नो लेखनले सडेगलेका विचारलाई मान्यता नदिने भाव व्यक्त गर्ने सुमिनाको पहिलो कवितासङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ मा जम्मा ५५ ओटा कविता समावेश गरिएको छ ।

विभिन्न फरक फरक परिच्छेदमा कविताहरुलाई प्रस्तुत गर्दै कवि सुमिनाले नेपाली समाज वर्तमान राज्य व्यवस्था, राजनीतिक नेतृत्व र युवाले खेल्नु पर्ने भूमिकालाई आफ्नो लेखनीको केन्द्रीय विषय बनाएकी छन् । कवितासङ्ग्रहको भूमिका चर्चित कवि एवं उपन्यासकार आहुतिले लेखेका छन् जुन लेखमा सुमिनालाई किन पढ्ने भन्ने एउटा सन्दर्भको उद्घाटन गरिएको छ । भानुभक्त कालदेखि हालसम्म पनि भानुभक्तीय रामायण र त्यस्तै लयवद्ध कविता लेखन र वाचन गर्नेहरु पनि समाजमा कविकै रुपमा छन् । कसले के गर्दैछ भन्ने विषय त्यति महत्वको हुने रहेनछ । कसको कर्मले योगदान पु¥याएको छ र समाज हिजोको तुलनामा आज प्रगतिशील मार्गमा कहाँनिर छ भन्ने कुराको खोजी महत्वपूर्ण हुन्छ ।

सुमिनाका कविताहरु बारे निकै चर्चित एवं वैचारिक कवि निभा शाहको टिप्पणीले पनि कवितासङ्ग्रहभित्रका कविताहरु बोध गर्ने पाठकले नयाँ ऊर्जा प्राप्त गर्ने निधो भेटिन्छ । कवि सुमिनाका कविताहरु एकचोटि नपढी अरुका कुरामा सहमत वा असहमत हुने भन्ने कुरा पनि त भएन । पाठक आफ्नो मनोवान्छित प्राप्ति हात नलागे किन पो कुनै साहित्यिक सामग्रीप्रति नजिक हुन चाहन्छ र ! यस लेखको उद्देश्य कवि सुमिनाका कविताहरुमाथि कसले के भने भन्ने कुरा खोजेर सो प्रमाणित गर्न नभइ कवि सुमिनाका कवितामा युगचेतको खोजी गर्नु रहेको छ ।

यस कवितासङ्ग्रहभित्र आठ ओटा खण्ड रहेका छन् । समान विषयलाई पठन गर्न मिल्ने गरी राखिएको खण्डलाई यसभित्रका कविताहरुले सार्थक तुल्याएको छ । पहिलो खण्डमा– बागी स्त्रीको आत्मकथा, दोस्रो खण्डमा– आधुनिक तानाशाह, तेस्रो खण्डमा– यक्ष प्रश्न, चौथो खण्डमा– स्वर्ण पिँजडा, पाचौं खण्डमा छोडिनेहरु, छैटौं खण्डमा प्रेमको आँखीझ्यालबाट, सातौं खण्डमा उसलाई शान्त रहन दिनुहोस् र आठौं खण्डमा सङ्घर्षको सौन्दर्य शीर्षक समूहका कविताहरु राखिएको छ । सबै नै कविता गद्यशैलीमा लेखिएका छन् भने कविताहरु छोटा र मध्यम आयामका छन् । कविता राख्ने क्रममा पनि खण्ड छ र खण्ड ८ को कविताक्रम र मूल शीर्षक अन्य खण्डभन्दा भिन्न छ । यो पुस्तकमा रचना राख्ने कामको छनोट स्वयं रचनाकारको हुने हुनाले यो टिप्पणी वा प्रशंसाको विषय भने होइन । एकरुपता भएको भए भन्ने कुरा हो भने पाठकलाई लाग्नु स्वभाविकै हो । कविता सङ्ग्रहभित्रका कविताहरुको केही कवितालाई साक्ष्य राखेर यहाँ पाठकीय प्रतिक्रिया प्रस्तुत गरिएको छ ।

विसंगतिविरुद्ध

बागी स्त्रीको आत्मकथा खण्डभित्र एउटी नारी जो विचारको पक्षमा निरन्तर लागेर समाजका धेरै विसङ्गत पक्षमा लडिरहेको र प्राप्तितर्फ उकालिँदै गएको अनुभूति प्रकट गरिएका कविताहरु छन् । ‘जङ्गली फूल’ शीर्षकको पहिलो कविता छ । कविले जङ्गली फूलको सौन्दर्य अनौठो खालको नमान्न र नठान्न भनेकी छन् । जङ्गली फूल त वास्तविक प्रकृति हो । प्रकृतिलाई रोक्न र छेक्न कसैले आँट नगरे हुन्छ भनिएको छ ।

सोध यही प्रश्न ती अनाथहरुलाई
जो लावारिस जन्मिए, हुर्किए
कसले निर्वाह ग¥यो उनीहरुको अभिभावकत्व ?
के उनीहरुलाई पढाइयो
मान्छेलाई मान्छे बनाइने शिक्षा ?
म त स्वतन्त्र पहरा छेउ निर्भीक फुलेकी
एक जङ्गली फूल (पृ. १९)

लाखौं मानिसहरु अभिभावक विना नै बाँचिरहेका छन् । जतिसुकै राम्रो कुरा गरेर शासकहरुले शासनको बारेमा वर्णन गरेपनि आम मानिसको हितको निम्ति कामयाब बन्न नसकेको राज्य संयन्त्रप्रति कविको कटाक्ष छ । आफूलाई मौलिक रुपमै बाँच्नुको स्वाद रहेको छ र जतिसुकै असजिलो झेल्न पनि तयार रहेको श्रमिक वर्गको पीडा र हुँकार यहाँ एकै पटक प्रस्तुत भएको छ । जसले पलपलको मृत्युलाई जितेर संसारका सारा मानिसलाई मानवताको पाठ पढाएको छ उही नै बागी स्त्री हो । जनताको मुक्तिको खातिर बाटो देखाउनेहरु काखमा बच्चा बोकेर काँधमा बन्दुक बोकेर कसरी मोर्चामा सामेल भए । समयले ती नारी पात्रहरुको जीवनलाई जीवित कथाको रुपमा चित्रण गर्नेछ । कायरहरु त अर्काको भर परेर जीवनलाई कमजोर तुल्याउँछन् । नारी जन्मदेखि मृत्युसम्म कति जीवन बाँच्छिन् त्यसको बारेमा पुरुष सोच सतहमा मूल्याङ्कन गर्दछ, त्यो मूल्याङ्कन स्वीकार्य छैन । नारीको चेतनाले नारी बाँच्ने हो । बाँच्नको लागि कसैको दयामाया आवश्यक छैन, त्यसरी बाँचिन्छ भने त्यो जीवन साँचो जीवन होइन ।

खै के देख्छन् देख्नेहरु
छुट्याउँछन् कि छुट्याउँदैनन्
रुप र सार बिचको तात्विक भिन्नता
देखेभन्दा पृथक
भोगेभन्दा जटिल
झनै भयानक, अकल्पनीय विद्रोही हुँदोरहेछ
एक स्त्रीको आत्मकथा । (पृ. २५)

यो युग दास युग होइन । यो सामन्ती युग पनि होइन तथापि पुरुषप्रधान समाज र पितृसत्ता नारीलाई दासी र सामन्तहरुको अनुचर ठान्छ भने त्यो कुरा अमान्य छ । सामन्ती अवशेष रहनु स्वभाविक हो अब त्यो प्रवृतिले शिर ठाडो पार्न सक्ने छैन भन्ने भाव यहाँ प्रस्तुत गरिएको छ । नारी नेतृत्वका बारेमा अरुले टिप्पणी गरेजस्तो कमजोर अवस्था नरहेको ठहर गरिएको छ ।

कवि आफ्नो कवितासङ्ग्रहको भूमिकामा लेखेजस्तै ‘कुनै समय आफ्नै मस्तिष्कले मेरा लेखकीय गुणसँग आत्मालाप गर्दै भन्यो, तँ भोकाएकाहरुको आवाज बन्नु’ । कविले प्रत्येक युगमा बागीहरु निस्कने र युगलाई एउटा सही र निर्णायक बाटोमा लाने गरेको कुरालाई कवितामार्फत् सम्झाएकी छन् ।

नेपाली साहित्यमा पारिजातको लेखनले नारी अधिकारको क्षेत्रमा बहस चलायो । पारिजातको ‘मानुषी’ कविताको उद्घोष जस्तै लाग्ने सुमिनाका कविताका पङ्क्तिहरुले सिङ्गो मानव सभ्यतालाई तथ्यमा टेकेर बोल्न र धरातलमा टेकेर हिँड्न सुझाएको छ । कवि सुमिनाले जनसम्बन्ध, वर्गसङ्घर्षको विषयलाई मानव सभ्यताको विकासको कोणबाट कवितामा उठाएको देखिन्छ । हजारौं वर्ष अगाडिको मानव सभ्यतामा नारीको भूमिका सर्वोपरी रहेकोमा नारीलाई विभिन्न धर्मग्रन्थको आडमा कमजोर साबित गर्ने र नारीहरुलाई विभिन्न समूहमा फुटाएर शासन गर्ने सामन्ती शासनको निरन्तरता सहेर बस्न नहुने उद्घोष कवितामार्फत् गरिएको छ ।

सुमिनाका कविताको परख गर्नेहरु पनि उनको कविताबाट प्रभावित भएका छन् । यसै सम्बन्धमा साहित्यकार अनिल श्रेष्ठ सुमिनालाई एउटा बलियो कविका रुपमा चिनाउँदै भन्छन्, ‘कविता लेख्नु भनेको द्रोही हुनु हो– विसङ्गतिहरुसँग । सत्ता विसङ्गतिहरुको डङ्गुर हो । र, कविता सत्तासँगको द्रोह पनि हो । सधैं राज्यसत्ताको उत्पीडनले दलनमा बाँचिरहेकाहरुको एकमत स्वरहरु हुन् सुमिनाका कविताहरु । (श्रेष्ठ, २०८१ः ३८) अलि बढी निबन्धजस्तो लाग्ने माथिको टिप्पणी कविताको पाठक, कविता र कविको सम्बन्धको सेतु पनि हो । अनिल स्वयं एक चर्चित कवि एवं निबन्धकार भएकोले उनको गहन पठन बोध र अभिव्यक्तिले सत्ता राजनीतिलाई चुनौती दिने पारिजात, सेन, रिमाल, देवकोटाजस्ता कविहरुले आफ्नो काव्य स्वरलाई अत्यन्तै प्रवाहमय र बैचारिकीलाई व्यवस्थित र विश्वसनीय समेत तुल्याएको देखिन्छ ।

पारिजातको प्रतिच्छाया

कवि सुमिनाको पहिलो कवितासङ्ग्रह बजारमा आएको छ । सङ्ग्रह बजारमा नआउँदै फुटकर प्रकाशनमै परिचय बनाउन सफल कवि सुमिना मूलतः नेपाली राजनीति र सामाजिक स्थितिको राम्रो बोध छ । वस्तु यथार्थलाई विचारको आलोकमा भाषिक शिल्पका माध्यमबाट पस्कन सक्ने क्षमता निर्माण गरेकी सुमिनाले सङ्ग्रहभित्र सोचेर विचारेर कविताहरुलाई प्रविष्टि दिएको देखिन्छ । अनिल श्रेष्ठ अझै सोही लेखको अर्को ठाउँमा २०५० सालमा प्रकाशित पारिजातको वैशालु वर्तमानसँग तुलना गर्दै बागी स्त्रीको आत्मकथा बारे लेख्छन्, ‘मैले सुमिना र सुमिनाका कवितासँगै पारिजातका यी प्रसङ्गहरुलाई यहाँ किन जोडिरहेको छु भने पारिजातपछि वैचारिक कविताहरुको लेखनको शून्यता लामो समयसम्म रहँदै आइरह्यो ।

अझ महिला लेखकहरुमा यस्तो लेखनको अभाव खट्किरह्यो । लेखिए पनि यी हस्तक्षेपकारी भूमिकामा हुन सकेनन् । पारिजातकै शैलीमा कवि सुमिनाको उपस्थिति र उनको लेखनले यतिबेला मलाई पारिजातको सम्झना गराइरहेको छ । (श्रेष्ठ, २०८१, पृ. ४०) अनिल श्रेष्ठ सुमिनामा पारिजातकै प्रतिच्छाया देख्छन् । तुलनात्मक अध्ययनको सार प्रस्तुत गर्दै यी दुई कविहरुको वैचारिकी, विद्रोह र सङ्घर्षशील स्वभावमा समानता पाउँछन् । यसै सन्दर्भमा कवि सुमिनाका कविताका अंशहरुलाई यस प्रसङ्गमा जोड्न उचित हुन्छ;

त्यसैले मैले भत्काएँ
मलाई अप्रिय लाग्ने एक एक बन्धनहरु
मलाई साँघुरो दायरामा सीमित गर्ने लक्ष्मणरेखाहरु
भत्काउँदै भत्काउँदै जानेछु निरन्तर
मलाई जकडेर राख्ने सम्पूर्ण सीमाहरु
(म भत्काउनमा अभ्यस्त छु, पृ. ३१)

प्रतिनिधि आवाज

कवि सुमिनाको विद्रोही भाव एउटा नारीको कलमबाट पोखिएको हो । तथापि यहाँ धेरै नारी प्रतिभाहरुको प्रतिनिधित्व भएको छ । केही माथि अनिल श्रेष्ठले कविताको क्षेत्रमा पारिजातको भौतिक उपस्थिति र बैशालु वर्तमान केही क्षण मात्र भेट भए झै लाग्छ । त्यो बेला बैशालु वर्तमान जस्तो शसक्त कविता सङ्ग्रह ल्याउने पारिजातले स्थापना गरेको नारी अधिकारको आन्दोलनमा साहित्यिक अभियान र वैचारिक संस्थाको नेतृत्वदायी भूमिका रहे जस्तै सुमिनाको राजनीति जीवन र हस्तक्षेपको पाटो बाहिर शक्तिशाली हिसाबले प्रकट नभइसकेको स्थितिमा कविताको बलले मात्र उनलाई चिनाउनु पर्ने पनि हुन्छ । प्रत्येक विद्रोह नारी दमन र उत्पीडन विरुद्धको अभिव्यक्ति हो । मूलतः राजनीति चेतना भएको नेतृत्वले मात्र वैचारिक चेतना फैलाउन महत्वपूर्ण योगदान दिन सक्छ ।

स्वतन्त्रताको फिराद कवितामा कवि सुमिनाले एउटा प्रभावशाली विचार पस्केकी छन् । नेपाली समाजमा नारीलाई पछाडि पार्ने हतियार गहना र शृङ्गार भनिने वस्तुहरु नै हुन् जसले नारीलाई निकै अल्मल्याएको छ;

बिस्तारै परम्परा निर्वाह गर्ने बहानामा
समाजका विधानहरु पालना गर्न
छेडिए नाक कान
पहिराइए चुरा बाला
हातदेखि पाउसम्म
मेरो शून्य निराकार मस्तिष्कमा
पहिलो पटक बनाइयो लैङ्गिकताको विभेदपूर्ण आकार
(पृ. ३५, स्वतन्त्रताको फिराद)

खास कुरा यत्ति हो । नेपाली समाजमा नारीलाई पछाडि पार्नकै लागि र उपभोक्तावादी संस्कृतिलाई बढावा दिन नै यी सबै भइरहेका छन् । नारीले बन्धनरुपी यी वस्तुको ग्रहण गरेर आफूलाई पिँधमा राखिरहने कि त्यसबाट आफूलाई टाढा राखेर अगाडि बढ्ने ? सिनेमा आफैमा एउटा शक्तिशाली हतियार हो । सस्ता सामग्रीले भरिएका कथा, उपन्यास र कवितामा पाठकले आफूलाई सिँगार्न मात्र योगदान पु¥याइरहेको वर्तमान समयमा गहन विचार भएका साहित्यले समाजलाई एउटा गतिलो बाटोमा लैजान धेरै प्रयास गर्न जरुरी छ ।

छिटो र सस्तो मनोरञ्जन दिने वस्तु वा दृश्यले मानिसको मनलाई भाँडेर उपभोक्तावादी बनाउन सजिलो छ । वैचारिक खुराक दिने साहित्य पढ्न, पढेपछि बुझ्न र बुझेपछि गहन ढङ्गले मनन गरी बदलिन लामो समय लाग्छ । यही प्रक्रियामा हिँड्दै गर्दा सत्ता, शक्ति र आवरणीय सौन्दर्यले नागपासमा सर्पले गोटी निलेजस्तो मानिसलाई निलिरहेको कुराका थुप्रै उदाहरण हामीकहाँ छन् । विषम समाजलाई बदल्न चाहनेहरु गहिरो अध्ययन, कडा अनुशासन र दूरदृष्टि भएको हुनै पर्दछ ।

समाजलाई गति दिन रोक्ने निर्णयकर्ताप्रति कठोर र समाजको चेतनास्तर बढाउनमा नारीपुरुष समान हैसियत निर्माण गर्नुपर्ने सोच भएको हुनुपर्छ । श्रम गरेर आफ्नो परिचय बनाएकाहरु राष्ट्रका सामु होइनन् अर्काको श्रममा जीवन बिताउने तर महिला, दलित, गरिब भनेर हेला होचो गर्नेहरुप्रति कठोर हुन सकिएन भने र समयमा नै सङ्गठित रुपबाट प्रतिवाद गर्न सकिएन भने समाज बदल्न सकिँदैन । नेपाली राजनीतिको पछिल्लो संस्करणसँग मिल्दो विषयलाई यहाँ चित्रण गरेझैं महसुस हुन्छ ।

तानाशाह विचारसँग डराउँछ
र बन्ध्याकरण चाहन्छ उदीयमान सोचहरुमा
तानाशाह चेतनासँग पनि डराउँछ
र, प्रतिबन्ध लगाउँछ प्रश्नहरुमा
तानाशाहलाई
लगाब छ झुकेका आँखाहरुसँग
(पृ. ४४, आतङ्कित तानाशाह)

राजनीति र सत्ता परिवर्तन मान्छेलाई मार्नका लागि गरिँदैन । केही मानिसहरुले बलिदान दिनुपर्ने स्थिति आउँछ । त्यसमा पनि निकै सोच्नु पर्छ । मान्छे मरेर हुने क्रान्ति पनि दिगो हुन्छ भन्ने छैन । राज्यलाई मान्छे मार्न उद्योग गर्न रोक्नु पर्छ । त्यसका लागि सचेत, अग्रगामी र प्रतिवद्ध आन्दोलनको आवश्यकता छ । आन्दोलनको आकार निम्न वर्गीय चेतना र खास गरी दमन र उत्पीडनमा योद्धा पक्षलाई सङ्गठित नगरी निर्माण हुँदैन । चेतनाको फिलिङ्गोले समाज बदल्ने यात्रा सम्भव छ सबै कहाँ आत्मसमर्पण गर्ने योद्धा हुन्छन् र !

तर मलाई निभ्न कहाँ मन्जुर ?
होसियार !
जून निल्ने निशाचरहरु
म हुँ एक फिलिङ्गो
आमावस्यमा पनि बल्न सक्ने
अद्भुत सामथ्र्य छ मसँग
हरेक अन्धकारमा निभ्दै ननिभ्ने
अडान छ मसँग ।
(पृ. ५२, फिलिङ्गो)

मानिसलाई दमन, उत्पीडन, शोषण, अन्यायले दरो बनाउँछ । मान्छेहरु प्रकृतिको एउटा त्यस्तो संरचना हुन् जो घृणा पाए उठ्छन्, दमन भए प्रतिवाद गर्छन् अनि सम्मानले लडिरहन्छन् । रुपमा मात्र ठीकठाक देखिने सारमा खास क्षमता नभएकाहरुप्रति कविको केही भन्ने कुरा छ अनि नारीलाई रुपबजारको वस्तु ठान्नेहरुप्रति उनको कटाक्ष छ । नारी त एउटा आँधी हो, समयलाई जगाउने अभियन्ता हो । फूलको रुपमा जसले चित्रण गर्न खोज्छ र व्यवहार गर्छ त्यसप्रति नारी सधैं सचेत रहनै पर्दछ;

मान, मर्यादा
आस्था, धर्म, संस्कार र संस्कृतिको नाममा
खुलमखुल्ला लुटको व्यापार
र अन्धविश्वासको खेती गरिहने
छद्यभेषी समाजको शिरमा
उग्र भएरै चेतनाको प्रचण्ड मसाल बाल्नुपर्छ ।
(पृ. ५९, ईश्वरको मस्तिष्क)

कविता फूलको वर्णन होइन । कविता त चेतनाको आँधी ल्याएर समाजलाई रुढीबाट, अभावबाट अनि भ्रमबाट मुक्त बनाउने माध्यम हो । अर्थात यो आँधीमय एउटा अभियान हो । समाजलाई स्वतन्त्रताको हरण गरेर समानताका निम्ति भाँजो हाल्नेहरुलाई चिनिएन भने कसरी प्रगति हुन सक्ला र !

सोध
तिम्रा देव, घर, मन्दिर
र महलहरुसँग
सोध
तिम्रा देवी, देवता
र ईश्वरहरुसँग
सोध
को हो त्यसको निर्माता ?
को हो कालिगढ ?
कसको कल्पना, जाँगर र कलाले
सिँगारिएका हुन् सोध
कसका श्रम र पसिनाले
लत्पतिएका हुन् भनेर सोध ।
(पृ. ६७, यक्ष प्रश्न)

समाजलाई प्रश्न

समाजलाई बदल्नका लागि समाजलाई नै प्रश्न गर्नुपर्छ । निरन्तर प्रश्न गरिराख्न सक्नुपर्छ । समाजका के के गतिविधिले समाजमा अन्याय गरेको छ, फाटो ल्याएको छ, सबैलाई समान हिसाबले उठ्न दिएको छैन, त्यसको राम्ररी खोजी गर्नुपर्छ । यस सम्बन्धमा कवि सुमिनाका गद्यमय भूमिकामा संलग्न तर्क नै साक्षी बन्न सक्छ– ‘म कविता तिनीहरुमा अर्पण गर्न चाहन्छु, जसका स्वरहरुलाई यो समाजले सदीयौंदेखि निमोठ्न र दबाउन खोजिरहेको छ, जसका खुट्टाहरुमा बलजफ्ती जन्जिरहरु बाँधिएका छन् । जसका निम्ति स्वतन्त्र उडान बर्जित छ । हो यो त्यही उडानको आह्वान हो । बर्जित भूगोल तोडेर उड्ने आह्वान । जन्जिर चुँडाल्ने आह्वान । ताल्चा तोडेर दबिएका आवाजहरु उराल्ने आह्वान । (लेखकीय भूमिका)

समाज परिवर्तन गर्ने एउटा माध्यम साहित्य हो । यसलाई माक्र्सवादी चिन्तकहरु परिवर्तनको निम्ति आवश्यक हतियार ठान्दछन् । त्यसो हो भने कवि कस्तो समाज र राज्य निर्माण गर्न चाहन्छ त ! त्यो पनि जानकारी राख्नु राम्रो हुन्छ;

बस् अब अति भयो
यही रोकौं यो अध्ययनको सिलसिला
बरु हामी एउटा नयाँ ग्रन्थको निर्माण गरौं
जहाँ नमिसिएको होस् अमानवीयताको पाठ
जहाँ नमिसिएको होस् असमानताको गन्ध ।
(पृ. ६४, यस्तो ग्रन्थ निर्माण गरौं)

हामी एकपटक हाम्रा विद्यालय र विश्व विद्यालयका पाठ्यपुस्तक र पाठ्यांशहरुको बारेमा सोचौं । यहाँ शासकहरुको जीवनले धेरै ठाउँ ओगटेका छन् । यहाँ धार्मिक अन्धविश्वासहरुको ह्वास्स गन्ध आउने पाठ्यांश राखिएका छन् । यहाँ निम्न वर्ग र श्रमको सम्मान नझल्कने वा श्रम गर्नु अपराध हो अर्थात् निचकर्म हो भन्ने भाव झल्कने ग्रन्थ सम्पादन भएका छन् । कवि सुमिनाका अनुसार पनि र हाम्रो राम्रो योजना अनुरुप समाज बदल्न पोखिएका श्रम र पसिनाका पाठ पढाउनु पर्छ । सिप र क्षमता आधारित कर्म र सफलताको यात्रामा युवालाई जोडिदिनु पर्छ । हावा, पानी र घामले कसलाई पक्षपात गरेको छ र ! यो कुरा समाजमा मसिनो रुपले बुझाउने शिक्षक नियुक्त गरिनु पर्छ ।

कविता र जीवन

कविताले व्यक्ति जीवनलाई निकै गहिरो गरी प्रभाव पार्न सक्छ । व्यक्ति र समाजको बोधको तहलाई फेर्न सक्छ र प्रगतिशील मार्गमा समाजलाई अगाडि बढाउने ऊर्जा प्रदान गर्छ । ‘कविता सिर्जना आफैमा एक ऊर्जा हो । कविको सौन्दर्य पनि हो । एउटा सुन्दर कविताले पाठकलाई पनि अध्ययनशील बनाउँछ । एउटा ऊर्जा दिन्छ र कविता पढिसकेपछि पाठकले एउटा बिम्ब निर्माण गर्छ समाजको सौन्दर्य र कविको व्यक्तित्वको । त्यसैले कविता सुन्दर समाज निर्माणको एउटा आधार पनि हो । (श्रेष्ठ, २०८१ः४१) कवि सुमिनासँग सर्वहारावर्गीय चेतना छ । उनको कविताहरुले प्रगतिवादी काव्य चेतना, मूल्य मान्यतालाई आत्मसात् गरेको देखिन्छ । कवि कवितामा ‘म’ मैले भन्ने शब्द प्रयोग गर्छिन् तथापि निम्न वर्गले भोगेको जीवन र प्रतिरोधी चेतना प्रकट हुनुले कवि विसङ्गतिको मूल श्रोत राज्यलाई दोष देखाउँदा नारा होइन कला प्रयोग गर्न पोख्त छिन् ।

यस कवितासङ्ग्रहमा समाजमा रहेका युगौंदेखिका शोषण, दमन, अन्याय, अत्याचार तथा उत्पीडनहरु नदेख्ने, राज्यसत्तामा रहेर जनताका पसिनामा पोडी खेल्नेहरुको पक्षमा कविता लेख्नेहरुप्रति व्यङ्ग्य भाव समेत प्रकट गरिएको छ । उनले जनताको पक्षमा उभिएर जनतालाई बलियो बनाउन सके मात्र राष्ट्रले सही दिशा पक्रने विचारलाई बहसमा ल्याएकी छिन् । कवि पार्टीको नाम क्रान्तिकारी राख्दैमा वा केही राम्रा काम गर्दैमा ऊ सधैं सच्चा क्रान्तिकारी हुन सक्दैन । म्याद गुज्रेका औषधि जस्ता गीत बनाएर अब जनताको सेवा हुँदैन;

ओ कमरेडहरु !
तिमीले बोकेको लालझण्डाहरुले
क्रान्तिको प्रतिनिधित्व गर्छ कि गर्दैन
तिमीहरुले भनिरहेको समाजवादले
विभेदकारी संस्कार र पुरातन मान्यताविरुद्ध
विद्रोह माग्छ कि माग्दैन ?
तिमीहरुले बोकिरहेको कम्युनिष्ट मेनिफेस्टो भित्र
सांस्कृतिक क्रान्ति पर्छ कि पर्दैन ?
(पृ. ६९, क्रान्तिको रोमाञ्चकता)

देशमा गणतन्त्र सहितको शासन व्यवस्था छ । कम्युनिष्ट पार्टीको नाम नमिसिएको कुनै सरकार छैन । परिवर्तनको कुरा पस्कन माहिर नेताहरुले संवृद्धिको कुरा गर्न छाडेका छैनन् । देश परतन्त्री अर्थव्यवस्थाले जकडिएको छ । यस्तो स्थिति बोधलाई कविको कटाक्ष छ । कवि सुमिनाको कविता आफैमा प्रतिपक्ष आवाज हो उनका कविताले पुरुष सत्तासँग भद्र अवज्ञा गरेको छ भने राज्यसत्ताले निर्माण गरेको नारी माथिको नाम मात्रको सहुलियतमान व्यङ्ग्य गर्न लायक छ । समावेशिताका नाममा आफ्ना पारिवारिक सदस्य भरेर राज्यको ढुकुटी रित्याउने कुराको खिलाफमा कविता बोलेका छन् ।

गुलाफका पत्रहरु च्यात्दै
केही निमेष आँखा बन्द गरेर
जब म सोच्न थाल्छु गुलाफी कविता
रगताम्य यौनाङ्गसहित लुटिएका नग्न स्तनहरु लिएर
आन्दोलित हुन्छन् मेरो मस्तिष्कभरि
प्ले कार्ड बोेकेका
भर्खरै चिताबाट बिउँझिएका एक हुल स्त्री अनुहारहरु
ठूलो अक्षरमा लेखिएको छ
न्याय र प्रतिरोध ।
(पृ. ७६, ललकार)

अस्तित्व रक्षाको सवाल

नारीले आफ्नो अस्तित्व रक्षा गर्न कति धेरै साहस र जोखिम उठाउनु पर्दछ । प्राकृतिक न्यायको सिद्धान्तलाई समेत पुरै बेवास्ता गरेर सामन्ती समाज नारीको शरीरमा अधिकार राख्छ । आफ्नो शरीर आफ्नो नहुने वा आफ्नो निर्णयले नचल्ने पनि कुनै समाज हुन्छ ? दासयुग, सामन्तयुग मात्र होइन यो युग अर्थात् एक्काइसौं शताब्दीमा पनि कवि निभा शाहले भने जस्तो;

आफूले बोकेको बन्दुक
अरुले नै काशन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनिया बदलिदैन मनसरा
आगो बोलिरहेछ मनसरा
आगो भर्भराएको सुन्यौ मनसरा ।
(शाह, २०७२ः ११)

जनयुद्धको अवधि र पश्चात पनि नारीलाई अबोला, कमजोर र दीनहीन सम्झने राज्यसत्तालाई सुमिना र निभा शाहले दिएको चुनौती नै नारी आन्दोलनको सुखद पक्ष हो । जनयुद्धको समयमा झण्डै चालिस प्रतिशत महिला बन्दुक बोकेर हिँडेको, त्यसैको जगमा महिला राष्ट्रपति र सभामुख भइसकेको अनि विभिन्न शक्तिशाली स्थानमा पुगेर आफ्नो उपस्थिति जनाएको विषय सूचनाका लागि मात्र उपयोगी भएको छ । सभामुख, राष्ट्रपति र प्रधानन्यायाधीश भएर मात्रै त केही नहुने रहेछ नि !

राज्यको मूल चरित्र बदलिन जरा बदलिनु पर्छ तब न जराले काण्ड र पातहरुलाई मल र जल प्रवाह गर्न सक्छ । त्यतिबेला मात्र प्रकाशको उपस्थितिमा खाना वा शक्ति निर्माण गरेर नारी अधिकार रुपी विरुवा आत्मनिर्भर बन्न सक्छ । आजसम्म नारीहरुको हैसियत परजीवीको जस्तै बनाएर शोषण, दमन र उत्पीडनको दुस्चक्रमा फसाइएको छ । त्यो अस्वीकार्य छ । कवि तथा जनयुद्धको एउटा योद्धा निभा शाहकै शब्दमा ‘पिरामिडजस्तो व्यवस्थाको पिँधमा रहेका महिलालाई पार्टीहरुले प्रजाजन्त्र, समाजवाद र साम्यवादको प्वाँख लगाइदिएका छन् । तर पिँधमा उड्न नसकेर थला परेको छ । पिँधले यस व्यवस्थालाई ढाल्दै आफू मुक्त हुन नसक्नुको कारण खोज्दै हिँडेको कविता हो बागी स्त्रीको आत्मकथा । (शाह, भूमिका) कवि सुमिनाले वस्तु र बजारको साथमा नारीलाई तुलना गर्नेहरुप्रति ठाडै चुनौती दिएकी छिन्;

मिथ्या प्रशंसाको मोहमा मुग्ध भएछ
थाहा छैन
कुन बेला गुमाएँ मैले आफ्नो चेतना ?
जहाँ मेरा आँखाहरु मेरा रहेनन्
ओठहरु, अङ्गप्रत्यङ्गहरु मेरा रहेनन्
हुन सक्छ
म आफै आफू रहिनँ
(पृ. ८५, बदलिएको सौन्दर्यचेत)

एकातिर भोक र विपन्नताले निम्न वर्गीय जीवनलाई चिन्तग्रस्त बनाएको छ भने पुँजीवाद र साम्राज्यवाद नारीलाई विश्व बजारमा रुपको प्रतिस्पर्धा गराएर उनीहरुको अङ्ग र अस्मितामाथि खेलिरहेको छ । जनयुद्धोत्तर कविताहरुको व्याख्या विश्लेषण गर्ने क्रममा समालोचक ताराकान्त पाण्डेय भन्छन्; ‘साम्राज्यवादको पोषण गर्ने नवउदारवादी पुँजीवादले लोकतन्त्र र राजनीतिलाई भल्गर बजारमा रुपान्तरित गरिदिएको छ । (पाण्डेय, २०८२, पृ. १५५) अब राजनीति लगायत सबै विधा व्यवसाय बन्यो । राजनीतिबाट नाफा कमाउने लोभमा विभिन्न अधिकारको आन्दोलनमा लागेकाहरु नै संलग्न हुन थालेपछि यो दृश्यावली देखिनु अन्यथा होइन ।

यसै विषयमा निभा शाहका विचार निकै संश्लेषित ढङ्गले अभिव्यक्त भएको पाइन्छ; ‘उपहार, जडौरी र बक्सिसमा दिइएका प्वाँखहरु जुनसुकै रुपरङका भए पनि ती मार्फत आफ्नो अस्तित्वको उडान भर्न सकिँदैन ।’(शाह, भूमिका) यस हिसाबले हेर्दा सुमिनाका कविताले उपभोक्तावादी दृष्टिप्रति गम्भीर ध्यानाकर्षण भएको र नारीलाई बजारको वस्तुका रुपमा हेर्ने उदारवादी विश्व बजारको चिन्तनलाई राम्ररी झापड हानेकी छन् ।

कवि समस्याको पहाड मात्र उठाउँदिनन् उनी त समस्याहरुसँग जुध्नका निम्ति हामीले निर्भीक भएर अगाडि बढ्नुको विकल्प नै छैन भन्छिन् । ज्ञान र विवेकले व्यवस्था बदल्न सक्नु पर्ने कुरालाई अगाडि सार्दै उनले प्रत्येक विषय र घटनामा नारीको बन्धन तोडेर मुक्तिमा बदल्ने योजना प्रस्तुत गरेकी छिन्;

सोच एक पटक
अनि मुक्त गर आफूलाई मानसिक दासताबाट
परित्याग गर
त्यस्ता आभुषणहरुको मोह
जसले तिम्रो
स्वतन्त्रतालाई हनन मात्र गरेको छैन
भारी बनाएको छ
फुर्तिलो शरीरको वजनलाई पनि
त्यागिदेऊ शृङ्गार
र उन्मुक्त गर
आफूसँगै आफ्नै शरीरका
एक एक बन्धक अङ्गहरुलाई ।
(पृ. ९७, शृङ्गार)

अस्तित्व र स्वत्व

यी र यस्तै कविताहरुको अध्ययन, मनन र प्रभावले होला धेरै लेखकहरु कवि सुमिनाका अग्रगामी र वैज्ञानिक विचार प्रवाह शैलीको बारेमा लेख्छन्; ‘अस्तित्वको उडान भर्न स्वत्वसहितको आफ्नै प्वाँख, पखेटा र आकाश चाहिन्छ । यसर्थ उनको कविताको सारांश उडानको स्वामित्व आफ्नो हुनुपर्छ भन्ने हकदावी हो । (शाह; भूमिका) अनावश्यक रङरोगनभन्दा आफ्नो मौलिक विशेषतालाई सङ्घर्षद्वारा स्थापित गर्दा मात्र त्यसले दीर्घकालीन प्रभाव दिन सक्छ । माथिको कविताअंशलाई बोध गर्दा पुनः एकपटक पारिजातको सम्झना गर्न पुग्छन् कवि अनिल श्रेष्ठ; ‘म सुमिनाका यी कवितााहरुले पारिजातलाई पछ्याइरहेका उनका पाइतालाका पदचापहरुलाई चियाइरहेको छु ।’
(श्रेष्ठ; २०८१, ४०) कविता कहिलेकाहीँ कवितामा मात्र सीमित हुँदैन यसले जीवन बदल्ने पाठको पनि काम गरिदिन्छन् । तब न कविताको वैचारिकीको अर्थ हुन्छ । प्रेमसँग सम्बन्धित कविताहरु पनि शिष्ट, सरल र सुबोध भाकामा गाउन सकिने हुँदोरहेछ भन्ने उदाहरण पटक पटक पेश गर्छिन् कवि सुमिना;

तिमी त यसरी छुटिगयौ
जसरी छुट्छ
समुद्रसम्मको गन्तव्य तय गर्न
सहयात्रामा ल्याप्चे लगाएको नदीबाट
छाल हुँदै अचानक छुटिजान्छ
उछिट्टिएर बगरमा एक थोपा पानी ।
(पृ. १०७, छोडिनेहरु)

कविले सबै कुरा निजी अनुभूति पनि लेख्दैन र सबै अर्काको विषय मात्र पनि लेखिहिँड्दैन । कवि अरुका विषयलाई आफ्नो बोधको तहमा ल्याएर अनुभूतिको तलरता पोखिदिन्छ । तब त सबैको लय बन्छ त्यो कविता । सुमिनाका केही कविता केलाउने क्रममा कवि अनिल श्रेष्ठ भन्छन्; ‘कहिलेकाहीँ कविता पढिरहँदा मलाई कविताले हिप्नोटाइज गरोस् भन्ने लाग्छ । एक तमास होस् र मन कविताका हरफहरुमा हेलिरहोस् भन्ने लाग्छ । यस्ता कविताले पाठकलाई एक प्रकारको मेडिटेटिभ अवस्थामा पनि पु¥याउँछ । (श्रेष्ठ; २०८१ः ४०)

कविता पढिने पाठ मात्र होइन एक उपचार पद्धति पनि हो । आफ्नो विगत र वर्तमानलाई हेर्ने अर्काको रचना पढ्दा त्यहाँ आफू भेटिने संभावना कवितामा हुन्छ नै । सक्नेले बगरलाई पनि त खेतियोग्य अझ भनौं हराभरा उर्वराशक्ति भएको बारीको रुपमा प्रयोगमा ल्याउन सक्छ । त्यसका निम्ति योजना र लागिरहने दृढ शक्ति चाहिन्छ ।

बस एक बगर
सकेजति पछ्याइरहन्छ
गन्तव्यमा पुग्न हतारिएको नदीसँग
गुनासो गर्दैन छोडिनुमा ।
(पृ.. ११४, बगर)

प्रकृती र मानव
कवितामा मानवको प्रकृतीकरण र प्रकृतिको मानवीकरण दुवै भएको छ तथापि कताकतै विषयलाई अलि बढी आलङ्कारिक बनाउँन खोज्दा अमूर्त र बोधगम्यतामा भने असर परेको देखिन्छ । विषय र कलाको प्रयोग पक्षमा पक्कै केही समस्या देखिन्छ । यही भएरै होला कवितामा गहिरो चिन्तन गर्ने आहुति भन्छन्; ‘कतिपय कविताहरु केवल तर्कहरुमा सीमित हुनु, बौद्धिक विमर्शमा मात्र थला पर्नु र भावुक उडान–अवतरणमा खुशी हुनु भने कविका सीमा रहेका छन् ।’ (आहुति, भूमिका) कविताको पठनमा कताकतै खड्कने कुरा पनि पाठकले झण्डै झण्डै समान हिसाबले नै पहिल्याउने रहेछन् । कवि व्यापक प्रकृति अनि आफ्नै निजी जीवन अनुभवबाट परिभाषा तयार गर्छिन् । त्यसमध्ये प्रेमको परिभाषा निकै घतलाग्दो देखिन्छ;

तिम्रो चाहनाको खातिर
म आफूलाई समर्पण तयार भएँ भने
तिम्रो परिस्थितिलाई मध्यनजर गर्दै
म तिमीलाई त्याग गर्न तयार भएँ भने
सम्झनु
त्यो प्रेम हो ।
(पृ. १२३, प्रेम)

अलि फरकै छ कविताभित्रबाट गरिएको प्रेमको परिभाषा । कसैको इच्छा विपरित झुण्डिनु पनि प्रेम होइन । प्रेम भनेको प्राप्ति मात्र होइन नि ! त्याग पनि खासमा प्रेम हो जसले मानिसलाई दुःखी होइन झन् सुखी र ऊर्जाशील बनाउन मद्दत पु¥याउँछ । कवि अनिलले भनेजस्तै; ‘लेखकले आफ्नो लेखकीय यात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नुपर्छ । लेखक र पाठकका बिचमा संवाद हुनुपर्छ । संवादले पठन यात्रालाई सहज बनाउँछ । नत्र पाठक थाक्छ र लेखकलाई छोडिदिन्छ । कहिलेकाहीँ त यसले लेखक र पाठकका बिच द्वन्द सिर्जना गरिदिन्छ । कवि सुमिना आफ्ना पाठकहरुप्रति सचेत छन् र इमान्दार छन् । उनका कविताहरु पाठकसँग संवाद गर्न सिपालु छन् । त्यसैले उनका कविताहरु पाठकहरुका लागि कत्ति पनि बोझिला लाग्दैनन् ।
(श्रेष्ठः २०८१ः४६)

कवि सुमिनाको कविताप्रतिको प्रत्येक पाठकको फरक फरक दृष्टि होला तथापि उनका कविताहरुले बनोट र बुनोटको दुवै पक्षमा आधारभूत सावधानी पु¥याएकै देखिन्छ । कवि सम्बन्ध एकापस बिचमा भएको करारजस्तै हो । एकापक्षीय रुपमा सम्बन्ध तोड्ने कर्म होला । धेरै थोरै दुवै पक्ष त्यसमा जिम्मेवार र जवाफदेही हुन्छन् ।

अब अथ्र्याऊ आफैं
तिमी को हौ र म को हुँ ?
के सम्बन्ध छ हामीबीच ?
कति छ आत्मीयताको आयतन ?
एकअर्कामा अन्योन्याश्रित या परस्परता ?
(पृ. १२८, सम्बन्ध)

सम्बन्ध टिकाउन समभाव

सहभाव र समभावमा मात्र सम्बन्ध टिक्न सक्छ । यदि एकपक्षले मात्र मरिहत्ते गर्ने अर्को पक्ष त्यसमा अनुत्तर नहुँदा त्यो जोखिमतर्फ उन्मुख हुन्छ । सुमिनाका कविताहरुमा व्यावहारिक, आन्दोलन र मौलिक स्थितिको प्रकट गरिएको विषयमा शब्द र अर्थको मेल राम्रोसँग भएकाले अभिधाभन्दा लक्षणा र कुनै कुनै त व्यञ्जनाको तहमा समेत ध्वनित भएको भेट्न सकिन्छ । कवि जब तथ्यमा टेकेर विभेदको अन्त्य गर्न योजनाबद्ध ढङ्गले उद्घोष गर्छिन् । साँच्चै कविताले एउटा विद्रोह माग गर्दछ;

होसियार पितृसत्ता !
तेरा सम्पूर्ण भाष्यहरु खारेज गरेर
म एक सम्पूर्ण मान्छे बनेको दिन
तेरो साम्राज्यमा
मेरो विचारको आगो लाग्नेछ
तेरो नीति नियमका दायराभित्र परिभाषित
नियम, कानुनहरु भस्म हुनेछन्
सदियौंदेखि अस्वीकृत भएको
मेरो वैचारिक सचेतता र विद्रोहको यात्रा नै
तेरो पराजयको अन्तिम अस्त्र हुनेछ ।
(पृ. १३८, अन्तिम अस्त्र)

पुरुष सत्ता सामन्ती विचारमा अडेको छ । यो न्यायपूर्ण छैन । यसले समाजलाई उपयोगितावादी कोणबाट हेर्छ र गर्नुसम्मको दोहन गर्छ । धेरै लामो यात्रा शोषण र अन्यायले तय गरिसकेको छ । समस्या पुरुष र नारीमा मात्र छैन । समस्याको भुमरीमा निम्न वर्गलाई राखेर उच्च वर्गले छुवाछुत प्रचलन चलाएको पनि धेरै भयो । त्यसभित्र पनि सामन्तले धनीलाई हेप्न नसक्ने गरिबलाई शोषणमाथि शोषण गर्ने कार्यले समाज थङ्थिलो भइरहेको छ । विषय भूगोलको पनि उठ्ने गर्छ ।

प्रत्येक असमानताका पर्खाल भत्काएर समानताको निम्ति विगुल फुक्नुलाई नै पनि नेपालको सन्दर्भमा अपराध करार गरी मृत्युदण्ड दिएको इतिहास हामी सामु छिपेको छैन । कविताहरुको व्याख्या विवेचनाका क्रममा सन्दर्भ लिन मिल्ने गरी आहुतिको भूमिकामा रहेको टिप्पणीलाई यहाँ राख्नु सान्दर्भिक हुनेछ; ‘महिला र महिला स्वतन्त्रता कविका धेरै कविताका विषय रहेका छन् । र यो स्वाभाविक पनि छ । सामन्तवादी र पुँजीवादी पितृसत्ताले निर्माण गरी क्रूरतापूर्वक महिलाविरुद्ध लागू गरेका तमाम भाष्यहरुको बर्खिलाप उभिनु उनका कविताहरुको मुख्य स्वर हो, वैचारिकी हो । (आहुति, भूमिका)

आमाको संस्कारविरुद्ध

कवि सुमिनाका कविताले नारीको चेतना स्तर उकास्न र पुरुषले आफ्नो यात्रालाई सुविचारित रुपमा अगाडि बढाउन सहयोग पुग्ने देखिन्छ । नेपाली समाज र मुलतः सामन्तवादी पाठ्यक्रमले पाठ्यांशमै राखेर भृकुटी, सीता, द्रौपदी आदिको गुणगान गाइरह्यो । उनीहरुको विवशताको खोजी गरेन । उनीहरुलाई आदर्श र मानक बनाउन यावत कथा, उपकथा हालेर अर्कै विषयमा पु¥याइदियो र त सहनशीला सुशीलाहरु लेखिए ।

आमा
तिम्रा सपनाहरु कत्लेआमगर्दै
आज म तिम्रो संस्कार विरुद्ध जाँदै छु
औला उठाउँदै छु तिम्रो लालनपालनमाथि
भृकुटी र सीताझैं बन्नु भन्ने तिम्रो उपदेश लत्याउँदै छु
रामायण पढ्दा पढ्दा
म अघाइसकें सीताको विवशता देखेर
म विचलित छु द्रौपदीको चीत्कार सुनेर
म अवाक छु प्रेमको नाममा सतीको दासत्व सम्झेर
मलाई विवश नारी बन्नु छैन आमा ।
(पृ. १३२, आमा)

आमा पुस्ताले धेरै सह्यो । त्यो सहन गर्ने क्षमता जति भए पनि त्यसरी सहन हुने विषय थिएन । अब सहन गर्न सकिने स्थिति छैन । यो पुस्ता सहन सक्ने अवस्थामा छैन । खुल्ला रुपमा नारीमाथि भएको दमन, उत्पीडन अब पनि सहनु भनेको एक्काइसौं शताब्दीको नागरिकका लागि परिचय गुमाउने विषय हो । अब केही आदर्श बन्न होइन झुटको इतिहास च्यातेर नेतृत्व विकास गर्दै सत्ता कब्जा गर्न लाग्नु पर्ने विचार यस कवितामा आएको छ ।

कवि आमाहरुको कमजोरी चेतनामा थियो अब चेतना कमजोर भए त एकछिन पनि बाँच्न सकिने स्थिति हुँदैन । बाध्यताले आफ्नो जीवनलाई अर्कै बाटोमा मोडेर अगाडि बढेकी नारीलाई अनेक नाम दिने हाम्रो समाज अर्काको प्रगतिमा पनि रिस गर्छ र दुःखमा पनि खेदो खन्छ । के हो नैतिक बन्धन र अनुशासन ? कसले बनायो यो र किन ? प्रश्नै प्रश्न उठाएर कविले वेश्या त नारी हो ठिक छ तर वेश्यागमन गर्ने को हो ? कस्तो पदीय भूमिकामा रहेकाहरु मोलतोल गर्न पुग्छन् ? त्यसको जवाफ पुरुषहरु र पुरुष सत्ताले दिनु पर्दैन र ?

ओ अति प्रतिष्ठावान्
मेरा अनन्य पुरुष मित्रहरु !
ऊ शान्त छे
स्थिर छे
मौन छे
त्यसैले बचेको छ तपाई.को छद्म प्रतिष्ठा
कृपया नजिस्क्याउनुहोस्
ऊ शान्त छे
शान्त रहन दिनुहोस्
उसको शान्ति भङ्ग भएको दिन
सङ्कटमा पर्नेछ तपाईंको प्रतिष्ठा ।
(पृ. १४७, उसलाई शान्त रहन दिनुहोस्)

कवि सुमिनाले खुल्लमखुल्ला चुनौती दिएकी छिन् पुरुषको स्वार्थी सत्तालाई । पुरुषको भोगको लागि जसले साथ दियो त्यसैलाई हेपेर कुरा गर्ने अनि अनेक खालको नाम राख्ने समाज मानवद्धेषी छ । कविताको भूमिकामा आहुतिले पनि भनेका छन्; ‘कवितामा मुख्य विषय महिला भएपनि नेपाली समाजका अन्य तमाम विषयमा उनका कविताहरु दृढतापूर्वक बोल्छन् । श्रमिक तथा गरिबहरु उनको कवितामा अर्को खास विषय हुन् । (आहुतिः भूमिका)

सहकार्यको सम्भावना

कवि सुमिनाले कुन आधारमा समाजका उत्पीडित नारीहरुलाई सङ्गठित गर्ने र समाज बदल्ने रणनीति भने कुनै रचनामा त्यति रुचिपूर्ण हिसाबले आएको देखिन्न । कविका आठ ओटा खण्डका कविताहरुको आ–आफ्नै खालका विशेषता रहेको छ । खण्ड आठमा पुग्दा कवि अलिकति बलियो, अलिकति गतिशील र अलिकति समन्वय गर्ने भावका साथ प्रस्तुत भएको देखिन्छ । यस उपशीर्षक भित्रका कविताहरुले नारी स्वयं जागेपछि समाज स्वत नै एउटा ठाउँमा आउँछ । त्यसका लागि चेतना भएका, नारी र समाजको गहिरो मर्म बुझ्नेहरुसँग सहकार्य गर्न सकिन्छ । सहकार्य गर्नुअघि निश्चय छ बलियो हिसाबले आफ्नो तयारी गर्नु नै पर्छ ।


समाजलाई बदल्नु पर्छ । यो नसकिने कुरा होइन । त्यसका लागि;

कोही दाउराजस्तै दन्किन्छन्
र रुपान्तरण हुन कोइला वा खरानीमा
तर म त फलाम भएको छु साथी फलाम
अग्निको ज्वालासँगै खारिएर इस्पात बन्दै छु
(पृ. १४९, सङ्घर्षको सौन्दर्य)

यस खण्डका भ्यु–टावर र समुन्नत–यात्रा पनि निकै शक्तिशाली कविताका रुपमा रहेका छन् । यस खण्डमा राख्न त्यति सहज नदेखिएको यो कविताले नेपालजस्तो आर्थिक परनिर्भरतामा रहेको मुलुकले भ्युटावर बनाइरहँदा सिङ्गो गरिब बस्ती, बेरोजगार युवा र शिक्षाको अधिकारबाट बन्चित नानीहरुको आशाले पिरिरहेको छ भन्ने निस्कर्ष निकालिएको छ । कवितामा सौखिन तानाशाहहरु अर्काको पेट काटेर यस्तै नाटक गर्छन र गरिरहन्छन् ।

कठोर महङ्गीको सीमारेखामा उभिएर
भोका पेटहरुमाथि
चरम शोषणको बज्र हिर्काएर
जिजीविषाका निम्ति
भुइँमा रगडिएका सीमान्तहरुलाई
गिज्याउँदै गिज्याउँदै
आज देशैभरि भीमकाय आवरणमा
ठिङ्ग उभिएको छ भ्युटावर ।
(पृ. १५७, भ्युटावर)

भ्युटावर संस्कृतिले लाखौं युवालाई विदेश लखेटेको छ । देशमा सानातिना रोजगारी, व्यवस्थित कृषि र उन्नत सीप सिकाउने प्राविधिक शिक्षालयमा नानीहरुले पढ्न पाएका छैनन् । विदेशी ऋणले सगरमाथा छोप्ने बेला हुँदा पनि नचेत्ने नेतृत्व र खबरदारी गर्न नसक्ने युवाहरुले देशलाई मरुभूमि बनाउन लागेका त होइनन् ?

जीवन यात्रा भनेको सङ्घर्ष र सह–अस्तित्वको एउटा लय हो । यदि निस्वार्थ एक लयमा विलय हुँदा फरक परेन तर लय बिग्रियो भने अस्तित्व नै विलय हुन पुग्छ । साँच्चै कवि पारिजातको ‘मानुषी’ कविताको निकै राम्रो भावलाई सम्झाउने गरी ‘समुन्नत यात्रा’ कवितामा सुमिनाले सम्झौताको बिन्दु पनि सुझाएकी छन् ।

बरु आऊ
तिम्रा केही सहुलियत र सुविधाहरु
मेरा केही कठिनाइ र जटिलताहरु
आधा आधा बाडेर हाम्रा कार्यभारहरु
पुरा गरौं एउटा समानताको समुन्नत यात्रा ।
(पृ. १५९, समुन्नत यात्रा)

निष्कर्ष

कवि सुमिना नेपाली राजनीति, इतिहास, शासकहरुको दमन, उत्पीडन र अत्याचारको पराकाष्ठाबाट तय भएको आजको स्थितिबोध प्रति जानकार कवि हो । आफ्नो चेतनाको आधारमा आलोचनात्मक चेतलाई कविता कलाका माध्यमबाट पाठकले नै निर्णय गर्न मिल्ने गरी प्रष्ट शब्दमा विचारको खुराक पस्कन तल्लीन कविको कविताले पाठकलाई निराश पार्दैन । कलामा जति शक्ति छ विचारको तह अझै उठे हुने थियो भन्ने लागिरहन्छ ।

सरल शैलीमा समाजको परम्परागत संरचना र सोचलाई प्रभावित पारेर कुरा बुझाउन सक्ने पाठ निर्माण गर्नु र सबै खाले पाठकभन्दा पनि परिवर्तनको चाहना राख्ने दमन र उत्पीडनको विरुद्ध लाग्न चाहने पाठकलाई यसले निकै जागरुक बनाउँछ । नेपाली समाजको गुणात्मक रुपान्तरणको बाटोमा यो कवितासङ्ग्रह पारिजातको ‘वैशालु वर्तमान’, कुन्ता शर्माको ‘पोथी बास्नु हुँदैन’, सुधा त्रिपाठीको ‘जिरहा वर्तमान’ सीता शर्माको ‘नालिस’, निभा शाहको ‘मनसरा’, गौरी देवकोटाको ‘प्रतिरोध’ र कल्पना चिलुवालको ‘चुल्ठो’ जस्तै शक्तिशाली ठहर हुन्छ ।

सन्दर्भ सामग्री

अधिकारी, तेजविलास (२०८२), अनिल श्रेष्ठः केही रचना, केही विवेचना, काठमाडौं, भुँडीपुराण प्रकाशन
अधिकारी, तेजविलास (२०६५), समीक्षा सन्दर्भ, काठमाडौं, विवक सिर्जनशील प्रकाशन प्रा. लि.
ढकाल, घनश्याम (२०६७) सम्पा. माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौं, अखिल नेपाल लेखक संघ केन्द्रीय समिति
पाण्डेय, ताराकान्त (२०८२), माक्र्सवादी साहित्य र संस्कृति चिन्तन, काठमाडौं, भुँडीपुराण प्रकाशन
शाह, निभा (२०७२), मनसरा, काठमाडांै, सुशिला शाह
सुमिना (२०८०), बागी स्त्रीको आत्मकथा, काठमाडौं, इन्डिको इन्क
श्रेष्ठ, अनिल (२०८१), यो मन कहाँ दुख्छ, काठमाडौं, भुँडीपुराण प्रकाशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here