मध्यरातमा मुर्कट्टाः सामाजिक यथार्थको प्रतिबिम्बन

तेजविलास

प्रारम्भ :अनिल श्रेष्ठ (जन्मः वि. स. २०२८, भदौ) सक्रिय कवि हुन् । समकालीन कविता लेखनको यात्रामा कविलाई निरन्तर काव्य साधनामा भेट्न सकिन्छ । २०४६ सालको आंशिक राजनीतिक परिवर्तनभन्दा अगाडिदेखि नै उनले आफूलाई निरन्तर साहित्य यात्रामा जोडेका छन् । उनले २०५० सालमा पहिलो कृति ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रह प्रकाशित गरे भने ‘राष्ट्रले शोक धुन बजाएको छ’ पहिलो कवितासङ्ग्रह २०५१ सालमा प्रकाशनमा ल्याए ।

उनका कृतिहरुले समाजलाई टिपेको समय हेर्दा साँढे तीन दशकभन्दा बढी भयो । २०५१ साललाई नै सङ्ग्रहगत उपस्थितिको आधार मान्ने हो भने पनि विगत तीन दशकदेखि अनिलको कविता लेख्ने क्रम तीब्र गतिमा छ । उनको पछिल्लो कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ (२०७८) पूर्व ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५), ‘आरु फुलेको साँझ’ (२०६३), ‘मफलर युद्ध’ (२०६९), ‘प्रतिनिधि कविता’ (२०७३), ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’ (२०६६) सहित आधा दर्जन त कविता सङ्ग्रहहरु नै प्रकाशित भएका छन् ।

अनिल कवितामा मात्र केन्द्रित छैनन् कथा, संस्मरण, समीक्षा, समालोचनामा पनि छरिएका छन् । उनको मूल व्यक्तित्व कवि हो । यस बाहेक पनि अन्य विधामा उनलाई सजिलै पहिचान र मूल्याङ्कन गर्न सक्ने आधारहरु रहेका छन् । कवि अनिलको काव्य साधनालाई पूर्ण रुपमा यस लेखमा प्रस्तुत गर्न सकिने स्थिति होइन । उनको कविता सङ्ग्रहहरुमध्ये ‘मध्यरातमा मुर्कट्टा’ भित्रका रचनाहरुले सामाजिक यथार्थको प्रतिबिम्बन कसरी गरेका छन् भन्ने जिज्ञासामा आधारित भएर यस लेखमा यस कवितासङ्ग्रहभित्र रहेका कविताहरुको विश्लेषण गर्दै मूल्याङ्कन गर्ने चेष्टा भएको छ ।

कवितामा सामाजिक यथार्थ

प्रस्तुत सङ्ग्रहमा जम्मा ३५ ओटा गद्य कविताहरु रहेका छन् । गद्य कविताको संरचनागत स्वरुपमा प्राप्त रहेका यी कविताहरु सामाजिक चेतनाले ओतप्रोत छन् । सामाजिक विषयवस्तुलाई टिपेर समाजवादी यथार्थवादी चेतना प्रस्तुत भएका कविताहरुले शैली चेत र समाज चेतलाई समानान्तर हिसाबले महत्व दिएको छ । यस कवितासङ्ग्रहभित्रका कविताहरुलाई शैली चेतको मात्र हिसाबले प्रस्तुत नगरी समाज चेतभित्र नै शैली पक्षलाई राख्ने चेष्टा गरिएको छ । कविता सङ्ग्रहभित्रका कविताहरुले बोकेका विचारहरुलाई विभिन्न उप–शीर्षकमा अध्ययन गर्न आवश्यक ठानेर यस लेखमा तीन आधारमा विवेचना गरिएको छ ।

(क) राज्यभित्रका विकृत–विसङ्गत दृश्यहरु
(ख) जनमतको चेतना मापन
(ग) दलन उत्पीडनबाट उन्मुक्तिका उपायहरु

(क) राज्यभित्रका विकृत–विसङ्गत दृश्यहरुः

प्रगतिशील लेखक समाजको चेतनालाई आफ्नै ढङ्ग र ढाँचामा बदल्न चाहन्छ । यो मूलतः बोधमा तथ्यपरक दृष्टिमा आधारित हुन्छ । राज्य व्यवस्था कस्तो हुनु पर्ने थियो र कस्तो छ ? यो लेखकको दिव्य दृष्टिले ठम्याएको हुन्छ र राज्यले जनतालाई उपेक्षा गरेको प्रति कवि आक्रोशित बन्छ । हजारों सहिदको बलिदानले प्राप्त गणतन्त्रमा पुराना शैली र सोच भएका मान्छेहरुले हालिमुहाली गरेका छन् ।

‘सर्वहारावर्गद्वारा साङ्गठनिक रुपमा सुरु गरेर उत्कर्षमा चुल्याउँदै गरेको मुक्तिको अभियानलाई क्षतविक्षत पारेर निरन्तर कालरात्री जगाउने उद्देश्यले यही देशभित्रका केही शक्तिले विस्तारवादी एवम् साम्राज्यवादी शक्तिसँग गुहार मागिरहेको अवस्थामा तिनीहरुका विरुद्ध अनिलका कविता लक्षित छन् ।’ (मरासिनी, २०६७, पृ. २०२)

कवि अनिलका कवितामा राज्यमाथिको दुरुपयोग तथा शोषणको नयाँ नयाँ रुपको चित्रण यथार्थवादी ढङ्गले व्यक्त भएको छ । वर्तमान स्थितिको यति धेरै विकृत परिदृश्य राजनीति नेतृत्वमा देखिन्छ कि कविले चित्रण गर्दा प्रतिनिधिमूलक ढङ्गले मात्र प्रस्तुत गर्दछन् । सामाजिक जीवनमा देखिएको विविधताले समस्याको विस्तार मात्र गरेको छैन, राज्य पक्ष त्यसको समाधानतिर लाग्न उदासीन प्रायः छ । सिंहदरबार राज्यको अभिभावक बन्न त सकेन, सकेन; यो लाखौं जनताको प्राण लिन अग्रसर किन छ ? कवि कविताबाट आफ्नो फरक मत दर्ज गर्दछन् ।

फूलहरुलाई
हिंसाका आँखाहरु मन पर्दैन
सिंहदरबारका पर्खालहरुमा
उम्रिरहेका छन् हिंसाका विषाक्त आँखाहरु

आजकल
सिंहदरबारमा फूलहरु फुल्न
किन छाडिरहेका छन् हँ !
(पृ. १४, आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्)

सिंहदरबार भनेको जनताको प्रतिनिधि र स्थायी सरकारको रुपमा रहेको कर्मचारी सुशासन दिन तलब खाएर बस्ने ठाउँ हो । यो लामो समयदेखि जनताको करबाट तिरेको पैसा असुल्न तल्लीन छ । एकातिर यहाँ राम्रा र असल योजना बन्दैनन् भने जनताले लडेर ल्याएको गणतन्त्र पनि चपाउँदैछन् । कविले प्रतीकात्मक रुपमा व्यक्त गरेका छन् । अहिले हामी ०६२÷०६३ सालपछि प्राप्त गणतन्त्रको भोग गरिरहेका छौं । यसको सकारात्मक पक्ष भनेको लाखौं जनता सचेत बन्दै प्रतिरोधी चेतनाले मुक्त बन्दै छन् भने अर्कोतर्फ शासकहरु सुध्रेका छैनन् । जनताको पीडामा मलम लगाउनु पर्छ भन्ने उनीहरुमा कुनै चेतना छैन ।

त्यसैले कवि अनिलका कविताले जनताको अन्धकार प्रायः जीवनलाई बोलेको छ । मरुभूमि जस्तो सिंहदरबार कुनै सिर्जनात्मक थलो होइन । यी त जनताको रगत पसिनामा होली खेल्ने योजना बनाउने ठाउँ हो भन्ने भाव रहेको छ । जनताले तिरेको राजश्वबाट पालित–पोषितहरु चलखेलमा संलग्न भएका कारण हाम्रो लोकतन्त्र लोकतन्त्र जस्तो बन्न नसकेको ठहर गरिएको छ । साहित्य परिवर्तनको भोक जगाउनका लागि उपयोगी हुने भएकाले पनि कवि अनिलका कविताहरु त्यस दिशातर्फ वेग हानिरहेका छन् । कविले ‘सत्ता’ शीर्षकको कवितामा अत्यन्त मार्मिक ढङ्गले तथ्यलाई राखिदिएका छन्;

एउटी छोरी छे
आमाजस्तै
चुलोमा आमालाई सघाउँछे
तरकारी काट्छे
भात बसाल्छे
जुठाभाँडा माझ्छे
कसिङ्गर बढार्छे
र, भाइ र मेरालागि
भात पस्कन्छे

एउटा छोरो छ
मजस्तै
भात खान्छ
हात चुठ्छ
र गाउँ डुल्न निस्कन्छ
(पृ. १९, सत्ता)

सत्ता घरदेखि नै छ । राज्यसत्ताको प्रशिक्षण तलतलसम्म र पुरुषको नशा–नशामा पुगेको छ । यही विषयको मार्मिक प्रस्तुति नै सत्ता हो । नारी विरोधी, श्रमविरोधी, पुरुष सोच र सत्ता समानताको बाधक हो । दैनन्दिन व्यवहारमा समानता नआए नाराले मात्र समानता हुने होइन । सत्ताले आम नागरिकलाई सामान्य ढङ्गले चिन्दैन । व्यवहार गर्दैन । जनतालाई केवल दुहुनो गाई बनाउने कार्यपालिका र न्यायपालिकाको लाचार छाया बनेर देशको ढुकुटी रित्याउने हाम्रो व्यवस्थापिका संसद मानवद्वेषी कानुन बनाउन तल्लीन छ । अलिकता पनि फराकिलो नबन्ने हो भने कसरी समावेशिता र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको सही सदुपयोग हुन्छ त !

मध्यरातमा
सहरमा देखिन थालेका छन् मुर्कट्टाहरु
मुर्कट्टाका विशेष मुद्राहरु
देखिएका छन् सहरको मध्यभागमा
र एकाएक सहर
मुर्कट्टाहरुको क्रीडास्थल
बनेको छ ।
(पृ. २१, मध्यरातमा मुर्कट्टा)

देशका ठूला सहरहरुको निर्माण गर्न लाखौंको पसिना बगेको छ । हजारौंले आफ्नो जीवन लीला सहरमा समाप्त गरेका छन् । सेवा दिन सुविधा सम्पन्न भवन बनेका छन् तथापि जनता सेवाबाट बन्चित भएको पनि धेरै भयो । कहिल्यै न्याय र समानताको नारा सुनाएर नथाक्ने नेताहरुको निम्न वर्गबाट उच्च वर्गमा वर्ग उत्थान भइसक्यो । न्यायालयमा न्याय हराएपछि बाँकी त के खोज्नु छ र ! सरकारमै बिचौलियाहरु पुगेपछि दैनिकी कहाँ सजिलो हुन्छ र !

अनि व्यवस्थापिका संसदमा मात्र ठेकेदारहरुको उपस्थिति भएपछि जनताले पाउने आखिर मुर्कट्टाको स्वरुप न हो । कविता सङ्ग्रहको शीर्ष कविता समेत भएकाले यस कविताले सतहमा लोक मान्यताको मुर्कट्टा बुझाएजस्तो तर व्यञ्जना तहमा अत्यन्त तीब्र व्यङ्ग्य गरेको छ । जनताहरु ज्तिबेला पनि माथिको आशा गर्दछन् । उनीहरु आफ्नो प्रतिनिधिले आफू मरेर भएपनि जनताको आवाज बोलोस र केही गरेर देखाओस् भन्ने चाहन्छन् ।

समय त्यसको ठिक विपरीत छ । संसद नै कोभिडले थलिए पछि सबै थोक सङ्क्रमित हुन्छ, हुन्छ । जनताको प्रतिनिधि बनेर गएका सांसद साथै ती सांसदले छानेका प्रधानमन्त्रीको भाषण हामीले फर्केर सुन्यौं भने थाहा हुन्छ उनले कति जिम्मेवार भएर बोले वा आफ्नो बचाउका लागि मात्र खेती गरे प्रष्टै छ भन्दै कविले घुमाउरो भाषमा कटाक्ष गरेका छन् ।

भोक छ
रोग छ
शोक छ
यहाँ सबथोक छ

केवल आँखामा आँसु छैन

साँच्चै
सरकार
के यो देशको सिंहदरबार पनि
यतिखेर कोभिड–१९ ले
सङ्क्रमित छ ?
(पृ. ३१, संसदमा कोभिड)

कविताले जनताले पाएको दुःख र तत्कालीन (कोभिड १९ कालीन) सरकारले गरेको जनताप्रतिको बेवास्ता एवं व्यवहारको फेहरिस्त खोज्न सम्झाउँछ । कोभिडको बेला समयमै उपचार पाएको भए सामान्यभन्दा सामान्य रेखदेखले हजारौं मानिस बाँच्न सक्थे । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको ठट्टा, गैर जिम्मेवारपूर्ण अभिव्यक्ति र सोही बेला चर्चा चलेको यति, ओम्नी जस्ता चर्चित शब्दहरुले तत्कालीन घटनालाई सम्झाउँछ ।

नेपाली राजनीतिको हेर्न नसकिने कुरुप दृश्यलाई कविले बिम्बात्मक रुपमा कवितामार्फत् बोलेका छन् । देशमा निर्मला भट्ट, मैना सुनार जस्ता चेलीहरुको बलात्कारपछि हत्या गर्नेहरु अझै छानबिनमा परेका छैनन् । कोही अर्कै धन्दा चलाएर नेता रिझाउने कार्यमा लागेका बिचौलियाहरु देश लुट्न पल्किएका छन् । अलिकति न्यायको कुरा गर्नेहरुलाई राज्यले देखिनसहने प्रवृतिप्रति कवि आक्रोशित छन्;

खास
केही छैन दाइ
बस्, सामान्य चलिरहेछ यो देश
जसरी सामान्यतः चलिरहेछ प्रधानमन्त्रीका
नयाँ उखान टुक्काहरु
(पृ. ३३, त्यस्तो दिनचर्या केही छैन)

नेपाली राजनीतिमा उखान टुक्का भन्ने बित्तिकै एउटा सन्दर्भ आउँछ । देश सञ्चालनलाई भद्दा मजाक ठान्ने र जनताको विषयमा ठट्टा गर्ने प्रवृत्तिको नेतृत्व गर्ने माथि लक्षित गर्दै कविले कसिलो प्रहार गरेका छन् । २०७५ पछाडि २०८२ साल भाद्र २४ गतेसम्म आउँदा पटक पटक भाषणको सत्तामा पनि उखान टुक्का हावी हुने र जनअधिकार कुण्ठित हुने स्थिति आयो ।

आजको परिस्थिति आउनुमा गैरजिम्मेवार पात्रहरुलाई जिम्मेवारीमा पु¥याउनु नै मुख्य कारण हो भन्ने देखिन्छ । कवि आफ्ना कवितामा जीवनप्रतिको आशा, श्रमप्रतिको सम्मान र समाजप्रतिको दायित्वबोध मात्र गर्दैनन् बेइमानहरुप्रति कडा व्यङ्ग्य प्रहार समेत गर्न चुक्दैनन् । कविले नेपाललाई गणतन्त्रको यात्रामा डो¥याउने एक क्रान्तियोद्धा कलाकार खुसीराम पाख्रिनको सम्झनामा निकै मार्मिक रचना गरेका छन्;

किन कर्कश छ
तिम्रा गीतहरुका विरुद्ध
यो हावा ?
कसले खोस्दै छ
तिम्रो हारमोनियमको लय ?
र तिम्रो स्मृतिमा बज्दै छ
ज्याज सङ्गीत !
(पृ. १७, तिम्रो स्मृतिमा)

कवि आफूले देखेका होचो अर्घेलोलाई अत्यन्त भावपूर्ण ढङ्गले उजिल्याउँदै लेख्छन्; जनगायक खुसीराम पाख्रिनको मृत्यु चुनावी कार्यक्रममा भयो उनी यति प्रतिबद्ध कलाकार थिए कि समयले उनलाई पनि दुरुपयोग गरिदियो । दुरुपयोग हुने र गर्ने दुवै पक्ष जनताको नजरमा कमजोर ठहरिन्छन् भन्ने शूक्ष्म संकेत रहेको छ ।
नेपालले परिवर्तनको गुणात्मक फड्को मार्न नसकेको स्थितिमा परिवर्तनका कमाण्डरहरु पनि खुइलिँदै गएका छन् । परिवेशले अर्कै ठाउँमा पुगेका क्रान्तियोद्धाहरुको गतिविधिप्रति समेत उनले कलात्मक प्रस्तुति दिएका छन् । सत्ताले जनताको दैनिकी बदल्ने होइन नेतृत्वको व्यवहार बदलिने राजनीति सर्वहारावर्गको हितमा छैन भन्ने उनको कथन छ ।

नेपाली समाज विकृत राजनीतिको फन्दामा फसेको छ । यहाँ राम्रो काम गर्न चाहनेहरुले पनि सही मार्ग पाइरहेका छैनन् । संसदीय विकृत चुनावले जनतालाई चुनावको बेलामा मात्र खोज्ने र अरु बेलामा बेवास्ता गर्ने कुरा सामान्य जस्तै भएको छ ।

ती गालीका फूलहरु
ऊ त्यो संसदघरको छतमाथि नै
फुलिरहून्

त्यही संसदघरलाई सुहाउँछ ।
(पृ. ४५, गुहेलीको फूल)

कवि संसद, सरकार र मनपरिपन्त्र गर्ने संस्थाका विपक्षमा उभिन्छन् । उभिनुको पछाडि कारण छ । हजारौंले जीवन दिएर तयार भएको गणतन्त्र, करोडौं खर्च गरेर गराएको चुनाव र अलपत्र परेको जनजीविकाको विषयप्रति कविको गम्भीर ध्यानाकर्षण रहेको छ । जनताको पीडामा बोल्ने कुनै माननीय छैनन्, त्यसमा पनि जनताको सेवा गर्न गएकाहरु कसरी माननीय ?

सेवा दिन चुक्नु त कमजोरी नै भइहाल्यो । यस्ता विषयप्रति पनि कवि चिन्तित छन् । नेपालको न्यायालयको संरचना, नियुक्ति प्रणाली र न्यायिक निर्णय प्रक्रिया बारे कविले मसिनो ढङ्गले विषय उठान गरेका छन् । कवि राष्ट्रको लागि दास बन्न तयार छन्, कुनै व्यक्ति वा पार्टीको होइन । कविले दास मनोवृतिमाथि कटाक्ष गर्छन् ।

श्रीमान्
म आफू दास हुँ भन्न
आज यो कठघरामा उभिएको छु
यो इजलासप्रति
मानहानी भए
म दोषीलाई कडा सजाय पाऊँ
(पृ. ४७, इजलास)

जनतालाई अधिकार दिएको बहानामा व्यवस्था बलियो हुने भए त राम्रो हुन्थ्यो होला । यस कविताले न्यायिक क्षेत्रको कमजोरीलाई खुलेर बोल्न पाउनु पर्ने आशय व्यक्त गरेको छ । केवल संविधानको धारामा मौलिक अधिकार लिपिबद्ध गर्दैमा संवृद्धि आउने भए यहाँ के के हुन्थ्यो, हुन्थ्यो ।
माथि पनि भनिएकै छ कि देशमा जनताको काम गर्न गठित न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका संसदको भूमिकालाई दलालहरुले आफ्नो पक्षमा प्रयोग गरेकाले यस्तो भएको हो । पैसा नहुने र झुटो बोल्न नजान्नेहरु सांसद बन्न नसक्ने आजको परिवेशमा भोट माग्ने बेला खुट्टामा ढोग्न आइपुग्ने नेता चुनाव जितेपछि जनताको दैलो टेक्न समेत बिर्सन्छ ।

उसले
मेरो काँध माग्यो
मैले काँध दिएँ

र, ऊ माथि उक्ल्यो

अहिले
ऊ मलाई भन्छ
तिमी लिलिपुट हौ
कहिल्यै अग्लाइ देख्दैनौ
जमिन मै मर ।
(पृ. ४९, अन्तराल)

(ख) जनमनको चेतना मापन
जनताले आजको दिनमा आफ्ना विचार अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गरिरहेको छ । गणतन्त्रले दिएको वाक् तथा प्रकाशनको स्वतन्त्रताले जनतामा सचेतना आएको छ । प्रगतिवादी कविहरु विषय छनौटको पृष्ठाधार र शिल्पपक्षमा गरिने व्यवस्थापनबाट नवीन सन्देश सम्प्रेषण गर्दछन् । समकालीन यथार्थको पाटोलाई व्यक्त गर्ने यस खालका कविताहरु सङ्ग्रहभित्र धेरै छन् । अन्य विशेषता भएका कविताहरु भित्र पनि यो खालको विकसित चेतनको सन्दर्भ रहेको पाइन्छ;

सरकार
तिम्रो राज्यमा
म यो किसानको आँसुको
कुनै मूल्य हुन्न भने
अब म विद्रोहले
बहुलाउँछु ।
(पृ. ५०, छली देवता)

आम जनता भनेको दलका कार्यकता होइनन् । पार्टीका समर्थक होइनन् । उनीहरु त यहाँका सबै जनताका मुखमा माड लगाइदिने उत्पादकहरु नै हुन,् साक्षत देवताहरु हुन् । किसान पीडामा छन् भन्ने विषयलाई कविले उखु किसानको समस्यामा केन्द्रित गरेको पाइन्छ ।
कवितामा जनमनको चेतना बढेको तथापि उनीहरुमाथि राज्यले ठगहरुसँग मिलेर दमनको चक्र चलाएको सन्दर्भ आएको छ । दूध उत्पादक किसानले पैसा नपाएको, सहकारीमा ठगिन परेको आदि सयौं दलन–उत्पीडनका विषय छन् । जनता सचेत बन्दै गएको छ । जनताले सिधा बोल्न थाल्ने अवस्था आउँदा निरङ्कुश शासकको अन्त्यको दिन आउने उद्घोष कविले गरेका छन् । जनताको विचार अब अत्यन्त बलियो बन्दै गएको सन्दर्भ छ । जनताको काम नहुने कार्यालयको औचित्यमाथि जनताको तर्फबाट प्रश्न खडा गरिएको छ;

कहिले
निद्रामा देखिन्छन्
सुनौला महलहरु
सिंहदरबार
र ती अग्ला
सिङ्गमरमरका ढोकाहरु
र, ती अग्ला ढोकाहरुसम्म पुगेर
यो बाटो हराउँछ ।
(पृ. ६२, अनादि लय)

कविताले गम्भीर बहस उठाएको छ । कविता तीब्र व्यङ्ग्यपरक बनेको छ । जनताले परिवर्तन गर्न गएकाहरुको सपना सिंहदरबारमा पुगेर वा सुविधा सम्पन्न ठाउँमा गएर हराउने गरेको कुरा यहाँ उल्लेख रहेको छ । अर्को हिसाबले हेर्दा फेर्न गएकाहरु फेरिन थालेकाले यो अनादि लय उस्तै स्वार्थपूर्ण भयो ।

अगुल्टो
बीज हो आगोको
उज्यालोको
क्रान्तिको
परिवर्तनको ।
(पृ. ६५, अगुल्टो)

आगोलाई जगाउन अगुल्टो चाहिन्छ । अगुल्टोले यहाँ महत्वपूर्ण अर्थ दिएको छ । जसरी विचारको बीउ निकै महत्वपूर्ण छ त्यसैगरी आगोलाई झिल्को मात्र भनेर सोच्नु वा व्यवहार गर्नु हुँदैन । संसारमा फैलिएको आजको प्रगतिवादी विचार कार्लमाक्र्सले विकास गरेको द्वन्द्वात्मक भौतिकवाद निकै शक्तिशाली रहेको छ । यसले श्रम गरेर बाँच्नेहरुलाई आशावादी बनेर जीवनमा आइपर्ने हरेक समस्याको द्वन्द्वात्मक बनेर निकास निकाल्न मद्दत पु¥याउँछ ।
सङ््घर्षको माध्यमबाट सत्यलाई स्थापित गरी श्रम गरेर बाँच्नेको जीवन शैली राम्रो बनाउन राज्य लाग्नै पर्दछ । बलियाको राज्य त सधैं र सबै ठाउँमा स्वतः तयार बनिहाल्छ । कमजोरका लागि राज्य संरक्षक र अभिभावक बन्न सक्नु प¥यो । आशा मान्छेको जीवनमा अपरिहार्य छ त्यसको मूल जरो नै आगो वा क्रान्तिको तयारी हो भन्ने कविताको आशय रहेको छ ।

कवि अनिल श्रेष्ठले कवितामा एउटा फरक खालको शैली अर्थात् नाट्य शैलीलाई समेत प्रयोग गरेको देखिन्छ । यसले कवितालाई अझै रोचक र पठनीय बनाएको छ । कविताले पाठकलाई जिज्ञासा बढाउँछ;

बाहिर
छिप्पिदै गइरहेको थियो
रातको अँध्यारो

निस्तब्ध सडकमा
निकै जोड जोडले सुनिन्थ्यो
राष्ट्रिय नाचघरको दर्शकदीर्घाबाट
उठिरहेको ताली

र, देखिन्थ्यो
अँध्यारोमा फैलिरहेको जादुगरको
उन्मुक्त बाहु
(पृ. ३५, जादुगर)

कवि यथार्थलाई आकर्षक ढङ्गले प्रस्तुत गर्दा पनि निकै जिम्मेवार र जनसरोकारमा केन्द्रित हुन्छन् । विचारलाई कलामा ढाल्ने सिपको विकास र वर्गीय पक्षधरता उनको पछिल्लो कविता लेखनको विशेषता नै बनेको छ । कविता कलामा अभिव्यक्त हुँदा कविता पाठकको मनले सहजै स्वीकार गर्ने स्थिति आउने रहेछ । सोही मार्गका नियमित यात्री र निर्माताहरु मध्ये कवि अनिल आफूलाई छोटो छोटो रचनामार्फत झन् पढिने बनाउँदै छन् ।

र, यो समयको
यो अन्तिम युद्व हुनेछ
अन्त्य हुनेछन् मानिसले विकास गरेका
सम्पूर्ण सभ्यता

र, शायद
मेरो अब यही अन्तिम कविता हुनेछ ।
(पृ. ७१, अन्तिम अर्थात् चौथो अनुच्छेद)

कविता कलात्मक छ, कलावादी होइन । कविले यस संसारमा निरन्तर अहङ्कार टकराएको र निम्न वर्ग तथा आम मानिसलाई केही सन्काहाहरुको प्रवृत्तिले असजिलो पारेको कुरा उद्घाटित गरेका छन् । आज गाजाका बालबालिका के गर्दै होलान् ? आज विश्वमा सबैभन्दा शक्तिशाली भनेर आफूलाई घोषणा गर्ने देश के सोच्दै छ ? ऊ साँच्चै मानवताको पक्षमा छ कि ! मानवताको नकाब वरण गरिरहेको छ ? प्रत्येक पाठकको मनमा अनिलका कविताले एउटा नयाँ विचारको प्रार्दुभाव गरिदिएको छ । कविका कवितामा जनमनको विचार एउटा सानो आकारमा आए पनि निकै ठूलो महत्व राख्छ भन्ने कुराको प्रमाण ‘वक्त’ कविता हो ।

एउटा बूढो ट्रक
तेर्सिएर बसेको छ सडकमा
नौबिसे–नागढुङ्गामा
सडक अबरुद्ध छ ।
(पृ. १२, वक्त)

घटनासँग तल संवाद छ । मान्छे हो अभावमा पनि भाव खोज्छ । समाधानको प्रयास जारी राख्छ । मनलाई कुनै तरिकाले भुलाउँछ । यात्रामा अवरोध छ र पनि उपायको खोजी गर्दै खुशी हुन जान्नु पर्छ ।

कवि अनिलका कविताहरुले जनताको मनको कुरा भन्छन् । स्वाभाविक हिसाबले हेर्दा उनी श्रमिक जनको पक्षमा उभिएका छन् । पसिनाको मोलको कुरा गर्छन् । श्रममा विश्वास राखेर मेहनतकस मानिसहरुको बारेमा पाठ सिर्जना गर्नु एउटा प्रगतिवादी कविको गुणधर्म हो ।

(ग) दलन उत्पीडनबाट उन्मुक्तिको उपाय

समाजमा सयौं वर्षदेखि दलन उत्पीडन छ । थाहा पाएर पनि हटाउन नसकिने त्यस्ता रुढ विचार र व्यवहारले जरा धेरै परसम्म फैलाएको छ । परिवर्तन त्यति सजिलो छैन तर जति नारा लगाउन सजिलो छ । एकातिर आर्थिक शोषण अर्कोतिर नारी पुरुष बिचको विभेद । अझ श्रम गर्नेप्रति नै शोषणको ठूलो जालो हाल्ने प्रवृत्तिले समाज निकै पछाडि परेको छ ।

औपचारिक शिक्षालाई विकास भन्ने र चिल्ला गाडी र ठूला घरलाई सम्पन्नताको परिसूचक मान्ने आजको हाम्रो समाज चरम श्रम शोषणमा उभिएको छ । कवि अनिल श्रेष्ठले समाजको निर्दोष पक्षलाई पनि निकै महत्वका साथ लिपिबद्ध गरेका छन्;

जुठेल्नुमा
तिमीले फ्याँकेर गएका
जुठाभाँडाहरु खकालेरै म बुढी भएँ
र मेरा यी चर्चर्ती
फुटेका हातहरुका दुःखका
कथाहरु लेखेरै
तिमी कवि भयौ

बुढा
तिमी कवि भएरै
सम्मान थाप्छौ
र, म तिमीले सम्मानमा पाएका
ती प्रमाणपत्र हेरेरै
खुसी हुन्छु

आखिर
म आइमाई हुँ ।
(पृ. ६८, श्रीमती भन्छिन्)

कवितामाथि नयाँ ढङ्गले बहस उठ्न पनि सक्छ । बहसका लागि यो सामग्री आवश्यक पनि छ । एउटी नारी आफ्नो परिवारको मेरुदण्ड भएर हरेक राम्रो काममा सहभागी हुन्छिन् । सम्मान, पदक, अभिनन्दन आफूले नपाएर पनि सन्तुष्ट हुने नारीको महानताको वर्णन यहाँ छ । यस्तै सबै हुन्छन् र हुनुपर्छ भन्ने होइन तर पनि पुरुष आफ्नो उपलब्धिका निम्ति नारीलाई जस दिन खोज्दैन । नारी भने आफ्नो पिता, श्रीमान र छोराछोरीको प्रगतिमा खुसी हुन सक्छन् ।
यहाँ विषय सङ्घर्ष र सन्तुष्टिको पनि हो । सङ्घर्षको पाटोमा एकले अर्कालाई सघाउँदाको आनन्द स्वार्थपरक भन्दा फरक हुन्छ । अन्तरदिलबाट गरिने योगदान साँच्चै महान हुन्छ । यही विषयलाई एक खाले मानिसहरुले गलत गरिकाले चर्चा गर्छन् जहाँ सम्मान शून्य हुन पुग्छ । कविको यात्रा यतिमा मात्र रोकिन्न । कवि दलनमा परेका नारी र उनीहरुको जीविकाको पाटोमा आएको अवरोधलाई निकै पेचिलो हिसाबले प्रस्तुत गर्दछन् ।
विचारमा स्पष्ट हुनु र व्यवहारमा पारङ्गत हुनु अलि भिन्न कुरा रहेछ । समाजभित्र रहेको वर्ग र वर्गभित्र पनि उपवर्ग अर्थात दलनको रोग हाम्रो नेपाली समाजमा निकै लामो समयदेखि रहेको छ । समयले दलितको जीवनमा झन् असजिलो पारेको कुरालाई उनको रचनाले बोलेको छ;

अचानक
साँइली सुजिनीको हातको सियो
भाँचिएको छ

सियो भाँचिएदेखि
निकै चिन्तित छिन् उनी
उनीसँग छैन
अर्को जगेडा सियो

नयाँ सियो किन्न
बजार जान पनि सक्दिनन् उनी
यतिखेर
लकडाउनले
बन्द छ बजार
र, बन्द छन् दोकान ।
(पृ. ७, भाँचिएको सियो)

जसका लागि जे आवश्यक हो त्यो वस्तुको अभाव परेपछि मान्छे कसरी बाँच्छ ? कति जटिल प्रश्न उठेको छ । समाज यस्ता प्रश्नको उत्तर खोज्दैन । जब जीविकाका लागि मान्छे जटिल मोडमा पुग्छन् झन् बल्झन्छ दलितको पीडा अनि कवि अगाडि शब्दले नै वर्गका पक्षमा समर्थन गर्दछन् ।

म अछुत
यसै त अछुत भइहालेँ
छुतलाई पनि अछुत बनाउने
र मान्छेलाई घरबाहिर
निस्कन समेत नदिने
यो कोरोना भन्ने के जातिको
रोग हो कुन्नि !
(पृ. ९, भाँचिएको सियो)

नेपाली समाजको ग्रामीण जनजीवन अर्काको पीडामा रमाइरहेको छ । चेतना हुनेहरुले पनि आफूलाई व्यवहारमा देखाउन सकेका छैनन् । कति पीडादायी छ व्यथा ? मान्छे र रोग कुन ठूलो ? के मान्छेचाहिँ छुन नहुने रोगभन्दा पनि तल्लो दर्जाको हुन्छ ? कसरी निर्वाह गर्ने हो जीविका ? कविका शब्दले एउटा कारुणिक बिम्बलाई यहाँ सजीव ढङ्गले पुष्टि गरेको देखिन्छ ।

टाँक हाल्नु पर्ने छ
ब्लाउजमा
यत्ति टाँक हाल्ने ठाउँ
खिप्न पाएदेखि
आउने ठाउँ थ्यो
गोडा दुई चारेक रुपैयाँ
चामलको पैचो
त्यै पैसो दिनु हुन्थ्यो
छिमेकीलाई ।
(पृ., ८)

समाजभित्र एउटा समुदाय वा समूह अर्को समूहको परिपुरक हो । एकले अर्काको दैनिकीमा मलम लगाउन सकेको मान्ेछेको जीवनले सामूहिक स्वार्थको बाटोमा सहज ढङ्गले यात्रा गर्न सक्छ । नभए त व्यथामाथि व्यथा मात्र थपिने मार्मिक काव्यिक भनाइ कवितामा समावेश छ;

यो फाटेको मन
र भाँचिएको सियो जोड्ने ओखती
किन हुँन्न हँ !
(पृ. ९)

यही दुर्गति छ समाजको आज पनि । मान्छे कति धेरै शोषणको मारमा छ । नेपाली समाजमा रहेको दलन र उत्पीडनको एउटा जीवन्त शब्द चित्र हो यो कविता । कविको दृष्टिकोणले यसलाई बेठीक भनेको छ । राज्य कोभिडको नाममा अनेक प्रपञ्च गरेर लुटपाटमा लागेको समयमा जनजीविका झन् चौपट्ट भएको विषय कविको सरोकारमा पर्नु भनेको नै वर्गीय पक्षधरता हो ।
असमानता देख्नु, असमानताको कलात्मक प्रस्तुतिमा ध्यान दिनु र विभेदकारी नियम र व्यवहार हटाउन प्रयास गर्दै विचार यात्रालाई तीब्र बनाउनु नै प्रगतिवादी कविको मूल कर्म हो । “वर्ग समाजमा आस्था र प्रेम पनि, सुन्दर असुन्दरको अनुभूति पनि वर्गीय नै हुने गर्दछ ।” (पाण्डेय, २०५३ः ७४) हाम्रो राज्य व्यवस्था आजको एक्काइसौं शताब्दीमा पनि बदनाममा बाँच्ने धृष्टता गरिरहेको छ । यो त्यति टिकाउ हुने कुरा त होइन तथापि यसको प्रतिरोध गर्ने चेतना नबनेसम्म समाज परिवर्तन हुन सक्दैन ।

कवि अनिल श्रेष्ठको ‘सत्ता’ शीर्षकको कविताले श्रममा रहेको विभेदप्रति राम्रै झापड हानेको छ । असमानता हरेक क्षेत्रमा रहेको तथ्यलाई कवि अलि विशिष्ट हिसाबले उठाउन आफ्नै घरको उदाहरण प्रस्तुत गर्दछन् । यस कवितामा उनले गरेको चर्चा निकै मार्मिक रहेको छ । ‘त्यस्तो दिनचर्या केही छैन’ कविता उनको निकै मार्मिक कवितामध्ये एक हो ।

फेरि भागिरथी भट्टको
बलात्कारको रगतले
लतपतिएको छ
यो देश

उल्लासमा छन् हत्याराहरु
र, सिंहदरबारका पर्खालहरु बाहिर
उठिरहेछ हत्याराहरुको
उल्लासमय हाँसो ।
(पृ. ३३, त्यस्तो दिनचर्या केही छैन)

राज्य राज्य जस्तो छैन । जनता अभावमा छन् । कहिले सुरक्षाको अभाव कहिले जीविकाको अभाव छ । यस कविताले नेपाली राज्य व्यवस्था निकै कमजोर छ । विश्वका साम्राज्यवादसँग झुकेर सत्तामा पुगेर इतिहास बनाएँ भन्नेहरुले देशलाई निकै थोत्रो बनाए । अब सबै समस्या थुप्रिएर समाधान गर्नुभन्दा राष्ट्र विघटनको पक्षमा शासक पुगेको निष्कर्ष निकालिएको छ ।
सिंहदरबार जनहत्याराहरुलाई संरक्षण केन्द्र बन्न पुगेको कुरालाई कवि कलात्मक हिसाबले झल्काउँछन् । उखान टुक्का हालेर कमेडियन बनिरहेका देशका प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै कवि गैरजिम्मेवार नेतृत्वमाथि प्रहार गर्दछन् ।

नेपालको सार्वभौमसत्ता नेपाली जनतामा रहेको छ भनेर संविधानमा किटानी गरिएको भए पनि नेपाली जनतामा आशा आशामै सीमित रहेको दशकौं भयो । कवि अनिल चर्चित कवि विमल निभाको प्रसङ्ग उल्लेख गर्दै ‘विमल निभा’ शीर्षकमा लेख्छन् ।

विमल निभा
कविता लेखिरहन्छन्
रिक्सा मजदुरको
ट्याक्सी चालकको
खेतका किसानको

सधैं लेखिरहन्छन्
अमलेख

सत्ताका विसङ्गतिहरुसँग
उनका कविताहरुको
विमति छ ।
(पृ. ५४, विमल निभा)

नेपाली साहित्यमा विमल निभा एउटा स्थापित नाम हो । साहित्य सिर्जनाभित्र व्यङ्ग्य निबन्ध र चोटिला प्रतिरोधी चेत भएका कविता लेखेर उनले श्रमिक र परिवर्तनको पक्षधरहरुलाई आशावादी हुन गुन लगाएका छन् । एउटा फरक शैली भएका कवि विमल निभालाई नै उनले किन छाने ? प्रष्ट छ वर्गीय प्रेमको कुनै सिमाना हुँदैन । यो राष्ट्रभित्र मात्र होइन पुरै विश्वभर नै छरिन्छ । क्रान्तिको समयमा तमासा हेर्ने र परिवर्तन पश्चात नियुक्तिमा कुद्नेहरु भन्दा पृथक देखिने विमललाई एउटा स्वाभिमानी लेखक, प्रतिपक्षी आवाजको रुपमा कविले चुनेका छन् ।

यस कविता सङ्ग्रहमा एउटा महत्वपूर्ण कविता रहेको छ ‘बधशालामा देश’ । यस कविताले नेपाललाई बधशाला बनाउनेहरु को हुन् ? किन यो अभ्यास गरिरहेका छन् ? कसको निर्देशनमा यो सबै भइरहेको छ ?

र शहरमा बढ्न थाले
मासु व्यापारी
(पृ. ६०, बधशालामा देश)

नेपालजस्तो प्रकृतिको उपहार प्राप्त देशलाई जहाँबाट भएपनि जसरी भएपनि लुछ्न तयार एउटा गिरोह सक्रिय भएको धेरै भयो । कसरी हुन्छ जनतालाई पीडा दिने कर्ममा यी नाम मात्रका संरक्षणविद्, वातावरणविज्ञ विदेशी डलर उग्राइरहेका छन् ।

निष्कर्ष

‘मध्यरातमा मुर्कट्टा’ नेपाली कविता यात्राको एउटा प्रतिनिधि कविता सङ्ग्रह हो । यतिबेला कमजोर राष्ट्रको असफल राजनीतिको यात्रामा अलमलिरहेका पात्रहरुलाई शाब्दिक झटारो हान्न सक्ने रचना र रचनाकारहरुको खडेरी लागिरहेको परिप्रक्ष्यमा यस कवितासङ्ग्रहले थोरै भएपनि पाठकलाई राहत दिएको महसुस हुन्छ । क्रान्तिको कुरा गरेर नथाक्ने उपभोक्तावादी अवसरवादी कसैप्रति पनि लचक नबनेर उनले आफ्ना विचारलाई श्रमिक र परिवर्तनको सपना देख्ने जनताका बिच कवितामार्फत् राखिदिएका छन् ।

त्यसैले त कवि अनिल श्रेष्ठको कविताहरुको पछिल्लो स्वाद ‘मध्यरातमा मुर्कट्टा’ मा राम्ररी लिन सकिन्छ । कवि निकै शक्तिशाली बिम्ब र प्रतीकहरुको सहारा लिएर समाजको वस्तु यथार्थलाई लेख्न सक्रिय छन् । कवि अनिलले यी कविताहरुमार्फत् मुलुकमा क्रान्ति आवश्यक रहेको तर क्रान्तिले बलिदानी मात्र होइन परिवर्तन स्थापित गर्न पनि सक्नु पर्छ भन्ने विचार सम्प्रेषण गर्दछन् ।

कविको आफ्नो प्रगतिशील विचार र व्यवहारको प्रतिबिम्ब यस कवितासङ्ग्रहभित्र परेको छ । उनका कवितामा श्रम गरेर जीवन बिताउने जनमनको सम्मान र ढोँगी तथाकथित माननीयहरुको उछित्तो काढिएको छ । उनको लेखनले श्रम गरेर बाँच्नेहरुको एकता र राजनीति सचेतताले मात्र राष्ट्र जनहितमा काम गर्न बाध्य हुन्छ भन्ने ठहर गरेको छ ।

सन्दर्भ सामग्री
अधिकारी, तेजविलास(२०८२), अनिल श्रेष्ठः केही रचना, केही विवेचना, काठमाडौं, भुँडीपुराण प्रकाशन
अधिकारी, तेजविलास(२०७८), सम्पा. सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ, बनेपा, जनमत प्रकाशन
ढकाल, घनश्याम(२०६७), सम्पा. माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौं, अखिल नेपाल लेखक संघ
पाण्डेय, ताराकान्त(२०५३), कला साहित्यः भूमिका र मूल्याङ्कन, काठमाडौं, चिन्तन प्रकाशन प्रा. लि.
मरासिनी, नारायण(२०६७), ‘उज्यालाको खोजीमा अनिलका कविताहरु, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौं, अखिल नेपाल लेखक संघ
श्रेष्ठ, अनिल(२०७८), मध्यरातमा मुर्कट्टा, काठमाडौं, विवेक सिर्जनशील प्रकाशन प्रा. लि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here