तेजविलास
थालनी
‘यो मन कहाँ दुख्छ’ निबन्धात्मक कृतिमा एकाएक तिनजना कविको बारेमा फरक फरक लेख लेखेर अनिल श्रेष्ठले अलि बढी नै प्रशंसा त गरेनन् भन्ने मलाई लाग्यो । कृतिको छलफल कार्यक्रममा पनि यस विषयमा केही समय चर्चा भयो । प्रभावपरक समालोचनालाई अलि धेरै स्थान दिन नहुने विषयमा धेरैको राय प्रकट भयो । कविका रूपमा चर्चामा रहेका अनिल श्रेष्ठले टाइगर हिलकी पुनमपछि यो मन कहाँ दुख्छ कृतिलाई आफ्नो साधनाको प्रमाणको रूपमा प्रस्तुत गरेका छन् । पारिजातसँग केही नारी प्रतिभालाई जोडेर प्रस्तुत गरेको सन्दर्भले नयाँ बहस पनि निम्त्याएको छ । जसका कारण पाठक चर्चा गरिएको तहमा स्रष्टाहरू छन् कि छैनन् भन्ने विषयमा अध्ययन गर्ने बाटो प्रशस्त गरिदिएकामा निबन्धकार अनिल श्रेष्ठप्रति कृतज्ञता ज्ञापन गरिरहेका छन् ।
नेपाली कविताका क्षेत्रमा नारी उपस्थिति
नेपाली साहित्यले चर्चेको क्षेत्रफलमा विविध विधामा आवाद गर्न आइपुगेका नारी स्रष्टाहरू धेरै छन् । साँच्चै भन्ने हो भने २०७० को दशकपछि निजामती, शिक्षक, सुरक्षा, राजनीति जस्ता क्षेत्रमा नारीहरूको उपस्थितिले सङ्ख्यात्मक र गुणात्मक पक्षलाई स्थापित गरे जस्तै साहित्यको क्षेत्रमा पनि गणतान्त्रिक सोच र व्यवहारलाई स्थापित गर्न नारी स्रष्टा कसिलो मुठी उचालिरहेका छन् । विषम स्थितिका बिचमा पनि गुणात्मक लेखनका माध्यमबाट महन विचार उठाउने पारिजात झमक घिमिरेहरूले गरेको सङ्घर्षलाई हेर्ने हो भने विचारको क्षेत्रमा निकै थोरै स्रष्टाहरू मात्र खरो रूपमा परिचित बनेको देख्न सकिन्छ । नाम नै तोक्दा धेरै प्रतिभाहरू छुट्न सक्छन्, प्रवृत्तिगत हिसाबले हिजो पुरुष लेखकले गरिदिएको पात्रीकरणको नकारात्मक परिचयको साथ पाठकका बिचमा पुगेको आधा आकाश अब आफ्नो पीडा विविध विधामार्फत् सजिलोसँग पोखिरहेको छ । यही पृष्ठभूमिमा पछिल्लो अवधिसम्म आइपुग्दा झण्डै एक दर्जन कवितासङ्ग्रहभित्र प्रस्तुत भएको नारी शसक्तिकरण र विद्रोहको आवाजलाई यस लेखमा चर्चा गर्ने जमर्को गरिएको छ ।
साक्ष्य लिइएका स्रष्टा र साहित्यिक कृति
यस लेखमा कवि प्रतिसरा सायमीको ‘पाइलाहरूमै सडक’, शारदा शर्माको ‘युद्धोपरान्त’, प्रभा भट्टराई (आचार्य)को ‘सरित् सङ्गम’, मोमिलाको ‘भीमसेन थापाको सुसाइड नोट’, गौरी दहालको ‘मुक्तिको क्यानभासमा’, राधिका कल्पितको ‘वरफका कोइलाहरू’, सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, ज्योति जङ्गलको ‘आधा शिर उचालेर’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पीपल पात्’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, शान्ति प्रियवन्दनाको ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’, सयपत्री थुलुङको ‘गाउँ फर्किरहेको परदेशी’, सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’ र कल्पना चिलुवालको ‘चुल्ठो’ कवितासङ्ग्रहलाई यस लेखमा सामग्रीका रूपमा प्रयोग गरिएको छ । यसरी हेर्दा चौध कविहरूका चौध कवितासङ्ग्रहभित्रबाट नारी संचेतनाको विषयलाई टिप्ने प्रयास भएको छ । यस लेखमा कविहरूको व्यक्तिगत परिचयको पाटोलाई स्थान दिइएको छैन ।
अध्ययनको सीमा
कवितासङ्ग्रहभित्रको कविताहरूलाई अध्ययन गर्ने क्रममा जम्मा तिन पक्षले खोजी गर्ने प्रयास भएको छ; १) नारी शक्तिको विगत र वर्तमान, २) नारीहरूले प्राप्त गरेको उपलब्धिहरू, ३) सङ्घर्षको उद्घोष । यस हिसाबले हेर्दा पाएसम्मका साक्ष्यहरूलाई लेखनको क्रममा उचित सन्दर्भ सामग्रीको सूचनासहित प्रस्तुत गर्ने काम यसै साथ भएको छ । नेपाली कविताको क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गरेर पनि कुनै धारा वा उपधारामा नसमेटिएका कविहरूले समाज परिवर्तनको पक्षमा उठाउन वा अगाडि बढाउन पु¥याएको योगदानको खोजी गर्न मद्दत मिलोस् भन्ने हिसाबले यो अध्ययनलाई सीमाबद्ध गरिएको छ ।
सामान्य सैद्धान्तिक आधार
यस लेखमा निर्धारित र प्रमाणिक वाद प्रणाली वा विशेष सैद्धान्तिक पक्षलाई पर्याधारका रूपमा अङ्गिकार गरिएको छैन । नेपाली कविताको सुडीर्ध परम्परामा देखा परेका समसामयिकता, मानवीय मूल्य र जीवन सङ्घर्षका अनेकौँ मोड वा प्रवृत्तिलाई उदाहरण स्वरूप प्रस्तुत गर्दै काव्य मूल्यलाई स्थापित गर्दै, मानवीय संवेदना र चेतनाको सञ्चार पक्षलाई घन्काउने रचनाहरूलाई यहाँ स्थान दिइएको छ । उदाहरण प्रस्तुत गर्दा विश्लेषणको शीर्षक अनुरूप विषयको खोजी गरिएको छ भने विश्लेषण गर्दा सङ्क्षिप्त रूपमै प्रस्तुति गर्ने प्रयास गरिएको छ । एक दर्जनभन्दा बढी कवि प्रतिभा र कवितासङ्ग्रहको चर्चा परिचर्चालाई एउटा लेखमा समेट्न खोज्ने कुरो सङ्क्षिप्तता विना सहज नहुने भएकाले विश्लेषणात्मक शैली भन्दा विवरणात्मक टिपोट शैलीको अवधारणमा बढ्नु नै सहज हुने ठानिएको छ ।
कविताहरूको वर्णन विश्लेषण
नेपाली समाज विविधताको समाज हो । यहाँ वर्णगत र वर्गगत हिसाबले अनेकौँ विभेदका शृङ्खलाहरू रहेका छन् । यी विभेदका तह वा शृङ्खलाले नेपालको उन्नति र प्रगतिमा धेरै बाधा उत्पन्न गरेको छ । कतै अनावश्यक अन्तरविरोध सिर्जना गरेर जातीय द्वन्द्व निम्त्याउने चेष्टा गरेको छ त कतै निम्न वर्गलाई जुधाएर निम्न वर्गभित्र रहेको दलाल र उत्पीडनलाई नै थप बलियो बनाउन सहज तुल्याइदिएको छ । यो र यस्तो खालको विषय सन्दर्भलाई मन खोलेर भाषामा कलाका माध्यमबाट प्रस्तुत गर्न सक्ने कविहरूले समाज परिवर्तनलाई मुख्य लक्ष्य बनाएका छन् । यसै सन्दर्भमा रुद्र खरेल लेख्छन्; नेपाल एकातिर सांस्कृतिक प्राक्केन्द्रमा अल्झिन चाहन्छ । अर्कातिर नवकेन्द्रमा बल्झिन चाहन्छ । सीमान्तीय वर्ग, संस्कृति, जाति, धर्म, लिङ्ग र अर्थव्यवस्थाहरू केन्द्रतिर अभिकर्षित हुन खोजिरहेका छन् । (खरेल, २०८०, पृ. १८) माथिको भनाइको विशेष अर्थ रहेको छ । साहित्य लेखनको मूल उद्देश्य कुन पक्षलाई तय गर्ने भन्ने विषयले रचनाधर्मिताको मर्म बोलेको हुन्छ । श्रमजीवी जनताका पक्षमा उभिनु र श्रमलाई नै सौन्दर्यको स्रोत ठानेर अगाडि बढ्नु नै परिवर्तनको पक्षमा लेख्ने साहित्यकारहरूको मूल परिचय बन्नु पर्दछ । कला श्रमको उपज हुने भएकाले कलाले श्रमप्रतिको सम्मानलाई बोकेको हुनैपर्छ भन्ने आशयको विचार प्रस्तुत गर्दछन् समालोचक ताराकान्त पाण्डेय, श्रम र जीवनका पक्षमा उभिने असल सिर्जना गलत प्रवृत्तिका विरुद्ध उभिन्छ र उभिनै पर्दछ । (पाण्डेय, २०६८, पृ. १३) सबै रचनाले वर्गको विषय बोल्ने र वर्गीय मुद्दालाई समाधान गर्ने गरी कार्यमा जोड्न सक्छ वा सक्नैपर्छ भन्ने होइन तथापि समाजको वास्तविक उत्पीडन, दमन र यथार्थ पक्षलाई बाहिर ल्याउने स्थिति भयो भने पनि आम नागरिकलाई चेतनाको बाटोमा डो¥याउन मद्दत पुग्दछ ।
नेपाली कविताले पनि निरन्तर गुणात्मक परिवर्तनको स्वरलाई उराल्दै आएको छ । हाम्रो इतिहासमा श्रमजीवी जनताले निरङ्कुश समय र निरङ्कुश शासकसँग जोरी खोजेको छन् । (पाण्डेय, २०६८, पृ. ३) यो विचारलाई आत्मसात गर्ने हो भने नेपाली कविताको यात्रामा विकसित महिला लेखनको गुणात्मक उपस्थ्तिि मात्र होइन यसले परिवर्तनका पक्षमा जीवन बलिदान गर्ने नारीहरूको समेत अध्ययनलाई आफ्नो विषय बनाउन सकेमात्र सामाजिक न्याय र समानताको पाटोमा योगदान पुग्न सक्छ ।
कविताहरूका अभिव्यञ्जित विचारहरूलाई माथि उल्लिखित तिन आधारमा वर्णन–विवेचना गर्ने प्रयास भएको छ । उपलब्ध साक्ष्यहरूलाई लिएर तिनीहरूको निष्कर्ष समेत निकाल्ने चेष्टा गरिएको छ;
१) नारी शक्तिको विगत र वर्तमान
नेपाली कविताको क्षेत्रमा देखा परेका पारिजात, कुन्दन शर्मा, तोया गुरुङ जस्ता प्रतिभाहरूले नारी उत्पीडन र सामाजिक यथार्थलाई अड्चन गर्ने कार्य निरन्तर गरिरहे । त्यस कार्यमा एक कदम अगाडि बढेर पारिजातले ‘बैँशालु वर्तमान’ कवितासङ्ग्रहभित्र धरै शक्तिशाली कविता सञ्चयन गरेकी छिन् । नेपाली कविता यात्रामा विद्रोह उमार्ने कविका रूपमा उनको स्थान उच्च छ । मूलतः सृष्टिकर्ता आमालाई बलियो बनाउन नसक्दा र आमाको स्थान शक्तिशाली नहुँदाको स्थितिमा भोग्नुपर्ने पीडाले नारीको विगतलाई निकै कोक्याउने गरी छोपेको छ;
आमा ! तिमी नभएपछि
एउटा फूलको अध्याय असमयमै समाप्त भएजस्तै
या हुलबाट छुटेको मृग
सिंहको बथानमा प्रेमको भ्रमले अलिकति बाँचे जस्तै
(आमा ! तिमी नभएपछि, भीमसेन थापाको सुसाइड नोट, पृ. १०)
आमाको अस्तित्वलाई कविताले यति शक्तिशाली ढङ्गले स्थापित गरेको छ । सिर्जनाको महŒव त साँच्चै सृष्टिकर्तालाई हुन्छ अनि आफ्नी जननी नहुँदाको पीडा सन्तानले कसरी भोग्नु पर्छ । मानसिक रूपमा मात्र होइन जननी सामाजिक हिसाबले पनि मानव जीवनको आधार भएको तथ्यले पुष्टि गरेको छ । समाजमा राज्य व्यवस्थाका अङ्गहरू मात्र सक्रिय छैनन् । यहाँ त हजारौँ वर्षदेखिका जकडिएर रहेका मानव ध्वंशक तŒवहरू हाम्रो स्वतन्त्रताको जन्जिर बनेर देखा परिरहेका छन्;
झ्यालखानाका फलामे ढोकाबाट निस्केर
खुला मैदानमा
निर्बाध मान्छेले तानेको
कल्याणमय मुक्तिको सञ्जीवनी प्रश्वास
कत्ति प्यारो, कति मादक
(एउटा अर्को धर्मयुद्ध, युद्धोपरान्त, पृ. १२)
नारी मुक्तिको दिशा र दशा नारी स्वयम्मा मात्र सीमित र केन्द्रित छैन यसभित्र त सिङ्गो मानव सभ्यताको थुप्रै पाठ सन्निहित रहेको देखिन्छ । मान्छेका लागि मान्छेको योजनामा बनेका भौतिक झ्यालखाना जस्ता संरचना त देखिने विषय हुन् मान्छेले आफूलाई अरूको प्रगतिको बाधक नबनाओस् भन्ने आशय कविताभित्र रहेको छ । नारी नारी चेतनाका कारण अगाडि बढ्न खोज्दा पुरुषप्रधान समाजले हेर्ने दृष्टिकोणमा रहेको उल्झनले नारी र पुरुषका बिच सही सम्बन्ध कायम हुन सकेको प्रति पनि नारी स्रष्टाहरूको ध्यान गएको देखिन्छ ।
चुरेटिनी बजै
हवल्दार्नी आमा
र दमिती भाउजूहरूको
व्यथा पोको पारेर
हिँडेकी म
ठोकिन्छु विवेकहीन टाउकाहरूमा
अल्झिन्छु लक्ष्यहीन पाइलाहरूमा
र रोक्न खोज्दै छ बेतुकका सडक नाटकहरूले
(टुँडिखेल हिँडेकी म, मुक्तिको क्यानभासमा, पृ. ७६)
माथि विषय सङ्केतमा चर्चा गरिए जस्तो समग्र अधिकारको निम्ति मुक्ति अभियानमा पुग्ने बाटाहरू नै अवरुद्ध रहेको र यो क्रम धेरै लामो समयदेखि चलिरहेको भेटिन्छ । एउटा नारी अर्काको दुःख बुझ्दाबुझ्दै पनि नेतृत्वमा पुग्न निकै कठिन भएको र नारीले समग्र पीडा बोल्न सक्ने त परै छाडौँ व्यक्तिगत कुण्ठालाई पालेर बाँच्दा धेरै क्षति ब्यहोर्नु परेको विषय यहाँ आएको छ । भित्री पीडालाई पोख्ने माध्यम कविता हो जसले सदियौँदेखिको दमन उत्पीडनलाई ऐतिहासिक सन्दर्भमा अभिव्यक्त गरेको छ;
जुठो भाँडोको कालो मोसो – म
एउटी दासी
सधैँ पराजित
कर्मले बिकिसकेकी
पैसाले चल्न खेलौना ठानिएकी म
हाड, मासु र रगतले भरिएकी पुतली !
(कुवाको बाटुलो चकटीमा बसाउँछु म आगोलाई, पाइलाहरूमै सडक, पृ. ४८)
समाजका नियम कार्यान्वयन गर्न र भेद्भावपूर्ण पुरुष सत्ताको आदेश पालना गरेर आफू पीडै–पीडामा रहेर अर्काको स्याहार सुसारमा खटेको नारीको उत्पीडनको कथा यस कविताले प्रस्तुत गरेको छ । प्रत्येक युगलाई परिवर्तन गर्न पहिले सचेत पुस्ता तयार गर्नुपर्ने भाव कवितामा सम्प्रेषित भएको छ । चाहे गद्य लय होस् वा पद्य लय पीडाको लय पुरानो हो । पुरुषको सामन्ती सोचप्रतिको मौन विद्रोह आजदेखिको होइन;
मैले सजग भै दायाँबायाँ हेर्न हुँदैनथ्यो
सोझो हिँड्नु थियो, उसको इशासा नाघ्न हुन्नथ्यो
प्रचण्ड घाममा खुट्टा कतै रोकिन हुन्नथ्यो
चल्ने शक्ति नहोस् वा होस् यन्त्रझैँ चल्नु पर्दथ्यो ।
(बन्धन र कर्तव्य, सरित् सङ्गम, पृ. २९)
कवितामा प्रतीकात्मक रूपमा कविले नारीको जीवनलाई जुवामा नारेको गोरु जस्तै पीडा व्यहोरेर यात्रा गरेको विषयसँग तुलना गरेका छन् । घटना यात्रामा जसरी पशुलाई मान्छेको चखालीले एउटा निर्मम श्रममा जोरेको छ । त्यसैगरी घरभित्र पनि अनेकौँ पीडा बोकेर नारी बाँच्न पर्ने स्थितिले समाज सभ्यताको बाटोमा अगाडि बढ्न नसक्ने सङ्केत प्रस्तुत गरिएको छ । पशुप्रति त मानवीय दृष्टि दिनु पर्नेमा मान्छेप्रति कठोर भएको हाम्रो समाज र शासक वर्गको कुकृत्यले समाज अगाडि नबढेको होइन प्रगतिमा बाधा उत्पन्न गरिएको हो भन्ने निधो यहाँ प्रस्तुत गरिएको छ । समाजमा अनेकौँ शीर्षकमा लुटको कर्म मौलाइरहेको छ । ईश्वरप्रतिको धारणा पनि एउटा दार्शनिकले माथि नै भङ्ग गराइदिएका छन् कवि उनै महान् दार्शनिक नित्सेको उद्घोषप्रति सहमत बन्दै आफ्ना कविता अगाडि सार्दछिन्;
जब नित्सेले थाहा पाए
मान्छेले मन्दिरमा पुजेको ईश्वर जिउँदो छैन
त्योभन्दा धेरै अघिदेखि
नारीले भेटिरहेकी हो,
ईश्वर आफ्ना ओठमा मुस्काइरहेको ।
(ईश्वरको बास, आधा शिर उचालेर, पृ. ७९)
कवि ज्योति जङ्गल नारि जातिको ओठको मुस्कान वा कर्मको परिणति नै सृष्टिचक्र हो । यहाँ छुट्टै अर्को ईश्वर छैन । प्रत्येक मान्छेभित्र रहेको सामूहिक चेतना र जिम्मेवारीबोधको भावना नै ईश्वरको बास भएको ठाउँ हो । धर्मान्धहरूले ईश्वरको नाममा निकै दोहन गरेकोप्रति कविको गम्भीर ध्यानाकर्षण र व्यङ्ग्यभाव प्रकट भएको छ । इच्छाशक्ति वा आँटबाट दुःखका पहाडहरू पनि पन्छिन सक्दछन् । अनौठो मान्ने र आश्चर्यमा हराउने मानवीय प्रवृत्तिप्रति गम्भीर बनेर गरिने सङ्घर्षले धेरै पाठ सिकाउन सक्दछ । सत्यको अन्वेषण गर्नका लागि सामान्य हिसाबको यात्रा पर्याप्त छैन र हुँदैन त्यसैले त कवि सुमिनाको विचार यहाँ फरक ढङ्गले अभिव्यक्त हुन सकेको हो;
सत्यको अन्वेषणले
हरेक आश्चर्यबोधलाई मबाट टाढा धकेल्यो
अलौकिक लागेन
चुम्बक र फलामको आकर्षण
धरती र आकाशको सम्बन्ध
जीवन र मृत्युको रहस्य
महिना, वर्ष र शताब्दीको अङ्कगणित
(त्यो एक समय थियो, बागी स्त्रीको आत्मकथा, पृ. ८०)
विगतका अन्धतालाई चिरेर विचारको आलोकमा यात्रा गर्नु अब एक मात्र विकल्प हो । नारी र पुरुष, प्रकृति र पुरुष वा जमिन र आकाशको जो सन्दर्भले समाज चल्ने वा पर्यावरण बन्ने विषय छ त्यसले नै हामीलाई सही बाटो देखाउँछ भन्ने भाव सम्प्रेषित भएको छ । एउटा यस्तो समय थियो जहाँ अदृश्य तŒव वा अमूर्त कुरा गरेर एक वर्ग वा पक्षका मानिसलाई कमजोर बनाउने काम गरिन्थ्यो । आगामी यात्रामा नारी शक्तिको चेतना प्रमुख बाधक वा साधक बन्ने गर्दछ भन्ने विचारले सुमिनाका कविता सुसज्जित रहेको छ ।
एकालाप र एकापक्षीय सन्दर्भले समाजलाई गाँजेको कुरामा कविहरू आवाज उठाइरहेका छन् । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई गर्नुपर्ने व्यवहार पनि त अपेक्षित सुधारोन्मुख छैन । समाजमा विषय वर्गको मात्र छैन, विषय लिङ्गको मात्र पनि छैन यहाँ त विषय परिवारभित्रको असमान व्यवहार पनि त हाम्रो समाजको अतीतदेखि दुखाइरहने विषय नै हो;
तमाम अतृप्तिलाई केशमा बाँधेर
तिम्रै खातिर समर्पण हुँदाहुँदै पनि
कहाँनेर भूल भयो मेरो व्यवहारमा
कतिखेर चुक भयो मेरो चरित्रमा
र
असन्तुलित हुन पुग्यो
सदा चम्चाभाइरहने तिम्रो सत्ताको क्यालकुलेटर !
ओ ! मेरो प्रियतमकी प्रिय आमा !
अझै पनि अटाउन सकिनँ म
मेरो प्रियतमझैँ
किन तिम्रो ‘उदार’ वात्सल्यभित्र !
(प्रियतमकी आमासँग, ओक्कल दोक्कल पिपलपात, पृ. ६०)
आखिर असमानताको पहाड जताततै छ । मान्छे निकट र दूरको व्यवहार गर्छ । त्यसको असर गहिरो चोटको रूपमा रहेको हुन्छ भन्ने एउटा ज्वलन्त प्रमाण यहाँ प्रस्तुत भएको छ । पुरातन मान्यता र सोचले आज पनि हामीमाथि कुनै न कुनै रूपमा शासन गरेकै छ । हजारौँ वर्षदेखि सभ्यतालाई यहाँसम्म ल्याउने नारी आखिर कही नगर्ने पात्रका रूपमा चित्रित गर्दा नारीमा उत्पन्न हुने भावलाई कवि सीमा आभासले कलात्मक हिसाबले प्रस्तुत गरेको पाइन्छ;
उसले आफ्ना औंला नसल्काए चुलामा
भोकले ओइलाउँछ उसको घर
जता जान्छे उसैको पछि लाग्दै हिँड्छ घर
अरूझैँ टाठोबाठो भइदिने हो भने
उसैका हत्केलाबाट उक्लिएर ढल्छन् जहान
ऊ यति कमजोर र निरीहजस्तो नभइदिने हो भने
अस्तित्व मेटिन्थ्यो बलिया भनिएकाहरूको
(ऊ केही पनि गर्दिन, म स्त्री अर्थात् आइमाई, पृ. ८४)
पुरुषलाई सधैँ सेकताप गरेर दैनन्दिन भोको पेट लिएर हिँड्ने नारीलाई आज पनि सम्मान त परै छाडौँ समभावको दृष्टिबाट हेर्ने गरिएको छैन । काम बिगारे महिलाले बिगारेको काम सप्रिए पुरुषको कर्मले गर्दा भन्ने सामाजिक सोचले जहिले पनि नारीलाई ‘गल्याङ्ग्री’ देख्छ । त्यसै कारण त नारीलाई विगतको परिचयबाट आजको परिचयमा ल्याउन अनि सबै प्रकारका शोषणबाट मुक्त पार्न सहकार्यको अनिवार्यता निर्माण गर्नै पर्दछ । नारीलाई न्यायको कुरा गरेर नथाक्ने हाम्रो समाज र डलर डकारेर ऊर्जापूर्ण भाषण ठोक्ने अभियन्ताहरूप्रति पनि कविहरूको ध्यान केन्द्रित भएको पाइन्छ । कवि सयपत्री थुलुङ्ग विगतबाट नै शोषणको जाँतोमा पिसिएका नारीहरूले आधुनिक नारा बेचेर हिँड्नेहरूसँग पनि त्यत्तिकै सचेत हुन आह्वान गरेकी छन्;
फक्रिँदो समयको छातीमा उभिएर
वा बोकेर काँधमा बलात्कारको समाचार
फलाकिरहन्छन् नारी हक र
छाउपडी विस्थापनको कुरा
दाइजोको जाँतोमा घुन पिसिएझैँ
पिसिन्छन् हजारौँ अलौटा सपनाहरू
युगौँ भइसक्यो
कठघरामा तराजु बोकेर उभिएको
न्यायको इतिहास भरियो होला
निर्मलाहरूका समाचारहरूले
अखवारका आवरण वा भित्री पृष्ठहरू
(न्यायको पृष्ठभूमि, गाउँ फर्किरहेको परदेशी, पृ. ७६)
शताब्दी अगाडिदेखि हालसम्म आइपुग्दा पनि न्याय र समानताको कुरा केवल समाचारका पानामा मात्र रहेको तथ्यलाई कविले कलात्मक ढङ्गले प्रस्तुत गरेकी छन् । नेपाली समाजमा रहेको पछौटेपनका सङ्केतहरूलाई कवि सयपत्रीले एकएक गर्दै केलाएर प्रस्तुत गरेको पाइन्छ । नारीहरूले कलम चलाउँदा आमाको विषयमा बढी भावुक हुने मात्र होइन जन्म दिने बुबाको सन्दर्भलाई पनि आमाको सरह नै ठान्ने रचनाहरू पनि यहाँ प्रस्तुत भएको पाइन्छ । कवि दिपा मेवासङ राईले नारीपुरुषको सहअस्तित्व र सहयात्राबाट नै एउटा जीवनले संसार देख्छ अनि समाजको सोचले भोग्नुपर्ने पक्षपातको पाटो त पछि पो थपिने हो भन्ने आशयका साथ आफ्ना रचनालाई प्रस्तुत गरेकी छन्;
आमाले पलेंटी फिँजाएपछि
मिलेको हो जग
बाले दरिलो खुट्टा टेकेपछि
उभिएका हुन खाँवाहरू
बाआमा दुवैले
एकअर्काको हात कसिलो पक्रेपछि
बनेको हो छानो ।
(घर, यारको सन्दुक, पृ. ७०)
माथि उल्लिखित अन्य कविताहरूको तुलनामा विगतको विषयलाई अलि फरक शैलीले प्रस्तुत गरिएको कवितामा कवि आजसम्मको यात्रामा सहअस्तित्वले स्थान पाएकोमा सम्मानका शब्द वर्षा पनि गर्न पुग्दछिन् । हाम्रो इतिहासले हामीलाई धेरै झूट कुरा पढायो । हुन त शासकहरूको जीवन्त कहानी हो इतिहास तथापि केही त सत्य हुनुपर्ने त्यो पनि प्राप्त गर्न सक्ने स्थिति छैन । ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’भित्र रहेको एउटा कविताले त्यस्तै विषयलाई सहज ढङ्गले भनिदिन्छ;
शताब्दीले फेरो मारिसक्दा पनि
सतीको श्रापबाट मुक्त भयौँ कि भएनौँ हामी, मामु ?
गोरखालीका वीरगाथाहरू पढ्नै हुकिएँ म
त्यसरी नै हुर्किरहेकी छे मेरी छोरी
उसलाई अर्कै खालको इतिहास पनि
पढाउनु जरुरी छ
(छोरी इतिहास पढिरहेकी छे, जिल खाइरहेको एक्काइसौँ शताब्दी, पृ. ८०)
कविताले केही नवीन पक्षलाई बाहिर ल्याउनै पर्दछ । कविता असत्यले छोपेको सत्य खोज्ने यात्रा पनि हो त्यसैले हामीले पढ्दै र पढाउँदै आएको झूटो इतिहासलाई हामीले बदल्नु पर्ने स्थिति देखा परेको अवस्था हो । हाम्रो समाजमा विगतदेखि नै नारीहरूलाई अनेक आरोप लगाउँदै पछाडि पार्ने योजनाहरू सफल भइरहेको देखिन्छ । यस क्रियाकलापले समाजलाई अगाडि बढाउन सकिन्छ त ? कवि कल्पना चितुवालले पनि धेरै कठोर भएर आफ्नो अभिव्यक्तिलाई सोझ्याएकी छिन्;
सहनशीलको शालीन विम्ब
पतिदेवको रक्सीको बोतलले चर्काएपछि
आक्रोशका राता–पहेंला बत्ती बाल्दै आँखामा
पहिलो पटक पतिलाई मुख फर्काएकी
छिमेकी शान्तिदेवीको अशान्त बोक्सी रूप
उसले त्यही रात
प्रत्यक्ष देखेकी हो ।
(बोक्सी जुलुस, चुल्ठो, पृ. २९)
आज पनि नारीलाई कमजोर बनाउने दुई ओटा पक्ष छन् पहिलो पक्ष भनेको नारीभित्रको चेतना र दोस्रो पक्ष भनेको पुरुषको उपभोक्तावादी अहङ्कार हो । यस हिसाबले हेर्दा पुरुषलाई ठिक हिसाबले नेतृत्व गर्दा नारी सहयोगी वा सहयात्री बन्ने कुरामा कविको असहमति छैन भने पुरुष जब हिंसामा उत्रन्छ तब नारी आफ्नो सही रूप देखाउन बाध्य हुनै पर्दछ । विगतमा नारीहरूले धेरै सहेरभन्दा शोषणको सीमाले डाँडो काटेको हो भन्ने कुरा नै माथिको कवितांशले प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्यमा कविता विधामार्फत् समाजलाई सचेत तुल्याउने कविहरूको सूचीमा सुत्रा त्रिपाठी, कुन्ता शर्मा, सीता शर्मा, पञ्चकुमारी परियारहरू जस्तै राधिका कल्पितका वैचारिक स्वर पनि अलि आवेगी वा केही विद्रोही भावको देखिन्छ । उनको बरफका कोइलाहरू कवितासङ्ग्रहभित्रका कविताहरूको सामन्ती चेत बोकेर बाँचेको पुरुषप्रधान समाज र पुरुष सत्तालाई ठाडो चुनौती दिएको देखिन्छ;
भो भो श्रीमती बन्नु छैन मलाई
म दुलही बनेर तिम्रो घरको मूल ढोकाबाट छिरेको
केही महिनाभित्रै हाम्रो पवित्र प्रेमले
झ्यालबाट हामफालेर आत्महत्या गर्न बाध्य हुनुपर्छ भने
भैगो मलाई तिम्री प्रेमिका नै रहन देऊ ।
(मलाई प्रेमिका नै रहन देऊ, बरफका कोइलाहरू, पृ. १४०)
वर्षौंवर्षदेखि दमन, उत्पीडनमा जकडिएर बस्नु परेको नारीले प्रेमिका बन्दा जति सम्मान पाउँछन् त्यसको पछि वैवाहिक बन्धनमा बाँधिने भनेको साँच्चै पीडादायी बन्धनले जीवन नै नरहने स्थिति हाम्रो समाजको प्राचीनदेखि अर्वाचीन समयको यथार्थ हो । यस कविताले थर फेर्ने, गोत्र फेर्ने वा जीवन साथीका नाममा भएका चरम शोषणप्रति कविताले असहमतिको झण्डा उठाएको छ । नारी र पुरुष एकअर्काका सहयोगी भए मात्र सहयात्रा हुन सक्ने विचार गतिलो कथ्यका माध्यमबाट प्रस्तुत भएको छ । कविताले प्रस्तुत गरेको विद्रोही स्वरलाई बेलामा सुन्न र चिन्न नसके नारी विद्रोह फरक हिसाबले अगाडि बढ्ने स्थिति आउने निश्चिततातर्फ सङ्केत गरेको पाइन्छ ।
नेपाली कविता लेखनका क्षेत्रमा क्रियाशील नारी स्रष्टाहरूको केही कृतिहरूको अध्ययनका आधारमा हेर्दा नेपालको इतिहास नारी जीवनका दृष्टिले अत्यन्त क्रूर रहेको मात्र होइन अनेक खालको धर्मान्धका बिच सङ्घर्षपूर्ण विगतबाट आंशिक सफलताको गोरेटोमा आइपुगेको देखिन्छ । नारी शुद्ध नारी मात्रको कुरा गरेर त्यसभित्रको चरम शोषणको विषय भने अधिकांश कविहरू अलमलमा नै रहेको देखिन्छ । नारी स्वतन्त्रतालाई व्यक्ति स्वतन्त्रतामा मात्र सीमित नगरेर वर्गीय र लैङ्गीय स्वतन्त्रता र समानताको पक्षमा आवाज घनिभूत हुँदै गएको प्रति आशा गर्ने ठाउँ रहेको छ ।
२)नारीहरूले प्राप्त गरेका उपलब्धिहरू
नेपाली सन्दर्भमा नारी सङ्घर्ष र उपलब्धिको पाटोमा प्रशस्त मात्रामा स्रष्टाहरूले कलम चलाएका छन् । पारिजात, सुधा त्रिपाठी, कुन्ता शर्मा, सीता शर्मा, लक्ष्मी माली, सुशीला प्रधानाङ्ग, धनकुमारी सुनार, सरिता तिवारी, हरिमाया भेटवाल, सत्या पहाडी, सरला रेग्मी, निभा शाह, गौरी देवकोटा, कल्पना चिलवाल, मनु बिक, विन्दु शर्मा, पञ्चकुमारी परियार आदि प्रगतिशील चिन्तनधारामा कलम चलाउने स्रष्टा मात्र होइन नेपाली साहित्यको सुगम राजनीतिको फाँटमा आफूलाई अनुकूलन गर्दै कलम चलाउने शारदा, शर्मा, कुन्दन शर्मा, सरिता पाण्डे, ज्ञानु पाण्डे, गायत्री श्रेष्ठ, राधा पौडेल, वानीर गिरी, मञ्जु काँचुली, वेन्जु शर्मा, प्रभा बराल आदि प्रतिभाले नेपाली कविताको क्षेत्रमा निरन्तर योगदान दिइरहेको देखिन्छ । नेपाली कविताको समग्र स्थितिलाई आँकलन गर्दा साहित्यमार्फत् नेपाली नारी स्रष्टाहरूले देशमा राजनैतिक परिवर्तन र सामाजिक न्यायको निम्ति निरन्तर आफूलाई देखाउँदै र चिनाउँदै मात्र नभएर २००७ सालको परिवर्तनदेखि २०५२ फागुन १ गतेपछिको सशस्त्र जनयुद्धमा समेत समाहित गरेका छन् । यस हिसाबले हेर्दा नेपाली कविताको क्षेत्रमा क्रियाशील स्रष्टाहरूले आजसम्मको उपलब्धि अर्थात् गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक–समावेशी प्रतिनिधित्वको सिद्धान्त स्थापित गर्नका निम्ति निकै ठूलो योगदान गरेको देखिन्छ । त्यसका साथै अन्तर्राष्ट्रिय सचेतता र विीश्व बोधका विविध पक्षमा समेत खुलेर अभियान चलाएको विषयलाई नजरअन्दाज गर्न हुँदै र सुहाउँदैन । नेपालको राजनीतिमा २०७२ सालको संविधानले महिलाको उपस्थितिलाई राजनैतिक हिसाबले नै स्थापित गरिदिएको पक्ष झन् गौरव गर्न लायक रहेको छ ।
नेपाली राजनीति र साहित्यको सन्दर्भलाई हेर्ने हो भने गीत, सङ्गीत र कवितामार्फत् नेपालको यथास्थितिका विरुद्ध आवाज उठाउने, सङ्गठन गर्ने र अभियानमार्फत् परिवर्तनको शङ्खघोष गर्ने काम पनि भएको छ । “राजनीतिलाई आम जनताको बिचमा पु¥याउने सबैभन्दा लोकप्रिय माध्यम भनेको साहित्य, कला र संस्कृति हो । जनतालाई राजनीतिक कुराकानीले भन्दा छिटो कलाले प्रभाव पार्दछ ।” (दुःखी, २०७९, पृ. १३७) साहित्य, कला र संस्कृतिले वैचारिक भूमिका खेल्दछ । जनयुद्धमा राजनीति सँगसँगै साहित्य, कला र संस्कृतिको माध्यमबाट पनि धेरै ठूलो भूमिका भएको छ । यसै सन्दर्भमा केही कविहरूका कविताभित्र यी र यस्ता विषयलाई कसरी संयोजित र वितरित गरिएको छ भन्ने कुरा केही साक्ष्यहरूको आधारमा पुष्टि गर्न सकिन्छ । यस शृङ्खलामा साहित्यले राजनीति उपलब्धिलाई केही भयो नभनी अझैँ के आवश्यक छ । भन्ने बाटोमा कलम चलाउने र जनताको ध्यान खिच्ने काम गर्दछ । नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराको प्रथम प्रहरमै साङ्केतिक रूपमा व्यक्त गरिएका विचारले २००७ सालको परिवर्तन निम्त्याएको हो । १९९७ सालको पर्व अगाडि नै योगमायाहरूको विद्रोहले नारी आन्दोलन र सचेतताको यात्रामा गहिरो प्रभाव पारेको यथार्थ हाम्रो बिचबाट हराएको छैन र हराउन पनि हुँदैन । त्यस यात्रादेखि जनयुद्धको क्रममा चरम यातनासहित बन्दी जीवन बिताइरहेका महिला योद्धाहरूले गरेको जेल ब्रेकले पनि निकै ठूलो हलचल पैदा ग¥यो ।
नारी लेखनमात्र होइन नारी चेतनाले उत्पादन गरेको विद्रोह स्वयम्मा परितर्वनको साहित्यको मूल अंश हो । साधना प्रधानको नगरपालिकामा प्रतिनिधित्वको विषय होस् वा साहना प्रधान, मोतिदेवी श्रेष्ठ, मंगलादेवी सिंह जस्ता नारी पात्रहरूको राजनीति सक्रियता जसले आजको स्थितिसम्म आउँदा नारीलाई साँच्चै आधा आकाशको हिस्सेदार बनाउने यात्रामा क्रियाशील तुल्याएको छ । यही सन्दर्भको सिलसिला सचेत नारी स्रष्टाहरूमा प्रकट भइरहेको देखिन्छ;
म यसरी मरिरहन सक्दिन अब
आँसुको पर्याय भइरहन सक्दिन
पिइरहन सक्दिन अपमानको विष
राँको बन्छु म अब
दनदनाउँछु
पस्छु त्यहाँ त्यहाँ
जहाँ जहाँ छन्
पुरातन
जीर्ण
संस्कारका जङ्गलहरू ।
(राँको, जिल खाइरहेको एक्काइसौँ शताब्दी, पृ. ९७)
राँको बाल्नका निम्ति तयार बनेको बनाउने नारी स्रष्टा नै आजको नेतृत्व हो । यो नेतृत्वले आम जनतालाई समेत जगाएर आफ्नो अधिकारप्रति सचेत मात्र गराएको छैन प्राप्त परिवर्तन प्रतिगमनतर्फ फर्कन सक्दैन भन्ने भाव समेत झल्काएको छ । अधिकार कसैको दयामायाका कारण प्राप्त नभएकाले अधिकारविरुद्ध आवाज उठाउनेहरूलाई समेत जनअनुमोदन हुनु पर्ने विषय शृङ्खलाले पछिल्लो आन्दोलनले उपलब्धिलाई थप बलशाली र विस्फारित गरिएको छ । माथिको कवितांशले समाजमा रहेको सडेगलेका प्रवृत्तिलाई नफालेसम्म हुने परिवर्तनको महसुस हुँदैन भन्ने आक्रोशमय काव्य चेत झल्किएको छ । आज हामीले भोगिरहेको गणतन्त्र पनि उस्तै खालको बाटोमा लाग्न थालेको प्रति कवि कल्पना चितुवालको कविताले उद्घोष गरेको छ;
साबिकबमोजिम नै फर्कनेछ
उस्तै निर्वाचनपछि
उस्तै शैलीमा
यो देश
खसिसकेको छ मतमेटिकामा मत
क्रमशः आउनेछ हार÷जितको चुनावी परिणाम
साबिकमा झैँ बन्नेछन्
कोही सांसद, कोही मन्त्री, कोही प्रधानमन्त्री ।
(साबिक बमोजिम, चुल्ठो, पृ. ११७)
कविहरू जीर्ण व्यवस्थाका विरुद्ध जहिले पनि आगो ओकल्छन् । आफैँले लडेर ल्याएको व्यवस्थाभित्र पनि देखिएको छ उही पुरानो जनतालाई चरम शोषण गर्ने रोग हो त्यो पनि फ्याँक्नै पर्छ । विद्रोहको यात्राले उज्यालोको खोजी गर्दछ । परिवर्तन कसैलाई सत्तामा पु¥याउनका लागि होइन । जनता शक्तिशाली बन्न नसकेको आजको सत्यलाई हामीले स्वीकार नगरी हुँदैन । नेपाली कवितामा नारीहरूले एकपछि अर्को विद्रोहका स्वरलाई उरालिरहेका छन् । नेपाली समाज दमन उत्पीडनमा रहन सक्दैन एक्काइसौँ शताब्दीमा पनि पछौटे चिन्तनले घर गरेका नेता भनौदाहरूले जनतालाई रैती वा दासका व्यवहार गरेकोप्रति कवितामार्फत् सत्य उद्घाटन गर्न कवि सुमिना अग्रसर भएको छिन्;
सदियौँ भयो
मालिक र मजदुरीबिचको यो सम्बन्ध
युगौँ भयो
गरिखाने वर्ग बसिखानेहरूको नियन्त्रणमा रहेको
लुट
सामन्तको वर्गीय पेसा
र, लुटिनु भुईमान्छेको नियति ।
(वर्गीय नियम, बागी स्त्रीको आत्मकथा, पृ. ४२)
वर्तमान समयको उपलब्धि भनेर गणतन्त्र प्राप्ति भनौंला तथापि हाम्रो आजको अवस्था भनेको लुटतन्त्रको बिचमा रोइकराइ गर्नु मात्र त भयो । कवि सुमिनाले आफूलाई लागेको कुरा मात्र अभिव्यक्तिमा उनेकी छिन् । उनको भनाइ आम नागरिकको पीडासँग सम्बन्धित छ । पछिल्लो समयका कवि प्रतिभाको रूपमा परिचित सुमिनाले आजको छताछुल्ला स्थितिलाई सपाट देखाएबाट नेपाल र संसार भरिँदै श्रमिक वर्गको जटिल स्थिति चित्रमा हेरे जस्तै देखिन्छ । नेपालको राजनैतिक कुसंस्कारले आलोपालो र बहुमत पु¥याएर शासन गर्थे र जसले शासन सत्तामा पुगेर जनता लुट्ने प्रवृत्ति विरुद्ध जेहाद नै छोड्न सफल भएको कवितांशबाट स्पष्ट हुन्छ । देश आज प्रशासनको कुरा ओकल्दै छ भने अर्कोतर्फ दिनदिनै परनिर्भर बन्ने स्थितिमा पुगेको छ । राजनीति विदेशीहरूका सामु भिख मागेर शासनको घर बनाउने काममा तल्लीन छ ।
बहुराष्ट्रिय कम्पनीको एक कुनामा
जमरा जस्तो पहेँलो बाँच्ने परदेशी दाजु
यहाँको शीतलमा फुल्न आइपुग्छ
फर्कनु अघिसम्म राष्ट्रको ममतामा डुबी बस्छ
(दशैँ, आधा शिर उचालेर, पृ. ५)
देशको स्थितिलाई आँखा चिम्लेर कहाँ बस्न सकिन्छ र ! आम जनताको जीवनस्तर नउकासिएको अवस्थामा कवि धेरै खालका विसङ्गत पक्षलाई अलि फरक ढङ्गले प्रस्तुत गर्न पुग्छिन् । चाडपर्वमा भित्रिएको खाद्य संस्कृति र चालचलनले कसरी यो माटो उर्बर होला र ! “मैले नपाएको उत्तर मसँग जस्ताको तस्तै छ । हजार जवाफका बिच बाँचेको यो अनुत्तर सधैँ प्रश्नवाचक चिन्ह लिएर मेरो दायाँबायाँ उभिइरहन्छ ।” (ज्योति जङ्गल, २०७९, भूमिका) जनताका अवैतनिक प्रतिनिधि कविहरू प्रश्न प्रश्नका लागि मात्रै गर्दै छैनन् । कवि घमण्ड र अहङ्कारी शासकहरूलाई राज्यको नेतृत्व समाधानमूलक ढङ्गले गर्न नसकेको प्रति आक्रोश व्यक्त गर्दछिन् । नेपाली समाजमा उठ्ने गरेका अनेकौँ सङ्गीन प्रश्नको उत्तर खोज्ने काम सचेत युवा पुस्ताको हो भन्ने ठहर कवि ज्योति जङ्गलको रहेको छ ।
कवि स्वयम् रचनाकर्ता हो । उसले आफ्नो सोचअनुसारको संसार सिर्जना गर्छ । यो संसार अपूर्व छ । यसको पूरक पक्ष खोज जरुरी छ । यहाँको असमानताको यावत पक्षलाई फरक ढङ्गले सम्पादन नगरी भएको छैन । त्यसैले त नारी स्रष्टाको वर्तमान प्रतिको आक्रोश यहाँ स्पष्ट देख्न सकिन्छ ।
यस धरतीले श्वास फेरेसँगै जन्मिएको हो मेरो ढुकढुकी
जम्ल्याहा हुन् यस धरतीको चेतना र मेरो चेतना
विशिष्ट उभिएकी छु यही युगल चेतनाले सिँगारिएर ।
(म स्त्री अर्थात् आइमाई, पृ. १२)
सृष्टिको पर्याय नारीलाई सानो वा अबुझ भनेर गरिने टिप्पणीहरू गलत छन् । मानव हुनुको नाताले पुरुषभन्दा कुनै हिसाबले पनि नारीहरू कमजोर छैनन् । विगत वर्तमान र आगतमा समेत नारी विनाको संसार कल्पना पनि गर्न सकिँदैन । नारी अधिकार प्राप्तिको लडाई भनेको मानव सभ्यताको यात्रामा निर्माण भएको विशिष्ट चेत हो भन्ने भावले कवि सीमा आभास काव्यांशमार्फत् आफ्नो विचार प्रस्तुत गर्न पुगेकी छिन् । आफ्ना आवाजलाई परिवारभित्रदेखि राज्यस्तरसम्मै बुलन्द पार्दै लैजान पर्ने विचार पोख्ने अर्का कवि विन्दु शर्मा आफ्ना अभिव्यक्तिलाई कलात्मक ढङ्गले प्रकट गर्दछिन्;
कताकति भत्किँदै
छालले हिर्काएका नदीका कमजोर किनाराजस्तै
पुग्नु छ मलाई
हृदय बन्दकी राखेको
मेरो पुरातात्विक आलमारीसम्म
लानु छ
दिनभरिको ताप र हुकुमी रापले
मेरो जिउजस्तै ओइलाएका सागका मुठा
पिचुलिएका गोलभेंडा
झुप्पाबाट झरेका अङ्गुरका दाना
सासूको दमको दबाई
अनि
छोरीको सिसाकलम
(खास्टो, ओक्कल दोक्कल पिपल पात, पृ. ७९)
आज पनि नारीको सङ्घर्षमा पुरुषको साथ छैन । नारीको विवाहित छन् उनले सबै व्यवहार हर्नु परेकै छ । लोग्ने नामको पात्र शासकको रूपमा गजधुम्म उभिएको छ । ऊ केका लागि छ कहिले त प्रश्नमाथि प्रश्न गर्न मन लाग्छ । घर व्यवहारले थिच्दा पनि दुख्यो, सकिन, भ्याइन, जानिन् भन्न पाएकी छैन । व्यक्तिगत जीवनभित्रका व्यथाको कुरा त कता छ कता ? कसले खोजिदिने ? त्यसैले त राज्यले नारीलाई कहिल्यै बलियो भएको देख्न चाहेन अनि घरले समानस्तरमा जाउँ वा लैजाऊ भन्दै भनेन । कविताभित्र नारीका अन्तरसङ्घर्षको पेचिलो पाटोको मर्मान्त स्थिति प्रकट भएको छ । आफ्ना अभिव्यक्तिमार्फत् कवि राधिका कल्पित नारी हक अधिकार घरबाट स्थापित गर्न सके राज्यसम्मै हैसियत पुग्ने विचारलाई सशक्त ढङ्गले प्रस्तुत गर्दछिन्, “आफ्नो दिल र दिमागमा चलिरहेको संवेदना र बौद्धिक आन्दोलनको रस्साकस्सीबाट जब एउटा बविताको जन्म दिनु तब म आफूलाई वर्षातपछि छ्याङ्ग खुलेको आकाश, लामो प्रसव पीडाबाट गुज्रेर शिशुलाई जन्म दिएकी आमाजस्तै पाउँछु ।” (राधिका कल्पित, २०७७, प्राक्कथन) लेखकले कतिपय रचनाको मूल आफ्ना सुखदुःख वा जीवन अनुभवबाट पाउँछ । बाह्य विषयले भन्दा अन्तरद्वन्द्वका पेचिला विषयले रचना जन्मन मद्दत मिल्दछ । कवि कल्पित कवितामार्फत् आफूलाई माथि भनिए जस्तै गरी पोख्छिन्;
तिमीले मेरो रातो रगतलाई कालो भनेर लेख्यौ
म बोलिनँ
तिमीले तिम्रा देशलाई छुन वर्जित ग¥यौ
मैले छोइन
तिमीले गीता नपढ बौलाउँछेस् भन्यौ
मैले पढिनँ
तिमीले घुम्टो ओडेर हिँड सिङ्गो आकाश नहेर भन्यौ
मैले हेरिनँ
(इतिहासको पुनर्लेखन, बरफका कोइलाहरू, पृ. ८६)
हाम्रो मानव समाजभित्र पनि पूर्वीय सभ्यता पछाडि पर्नुको मूल कारण धर्मभीरु अन्धविश्वासी पुरुषको विभेदकारी र उपभोक्तावादी सोच नै हो । कविले युगौँदेखि नारीलाई पछाडि पारेर आज यो जान्दिनस् र ऊ जान्दिनस् भन्न पाइँदैन भन्ने परिपक्व तर्क गरेकी छन् । पछिल्लो समयमा नेपाली कविता व्यङ्ग्यमा सीमित छैन यसले निश्चित उद्देश्य राखेर समाजको गुणात्मक परिवर्तनका लागि आवाज बुलन्द गरिरहेको छ । समाजलाई जगाउने रचना लेख्ने कवि वा लेखक स्वयम्मा वैचारिक स्तर उठेको हुनुपर्छ, नभए त जीवन निरपेक्ष रूपमा भ्रम वितरण गरेर आफ्नो स्वार्थ पूरा गरिरहेको विसङ्गत अवस्थाप्रति आवाज उठाउनै नसक्ने स्थिति बन्दछ । आज मान्छे मान्छे हो वा अरू केही वा को हो चिन्न समय लाग्ने खालको बन्दै गएको छ । लामो समयको सङ्गत गरेपछि रिचय लिन सक्ने मान्छे सानो विषयले आफ्नो मुखुण्डो उत्रिन पुग्दा परिचय शून्य हुन पुगेको छ;
एकापट्टिबाट आफ्नै मस्तिष्क भ्वाङ पारेर
अर्कोपट्टिबाट हेरिरहेछ
मुखुण्डो लगाएर हिँडिरहेका मान्छेहरूलाई
देखिँदा उस्तै देखिन्छन्
उस्तै व्यवहार गर्छन्
तर पनि बारम्बार
म त्यतै हेरिरहन्छु, चिहाइरहन्छु
आखिर त्यो मुखुण्डोभित्रको असली अनुहार
तिम्रो या मेरो ! कसको हो ?
(मुखुण्डो, यादको सन्दुक, पृ. ७१)
समाजमा प्रत्येक व्यक्ति आफूलाई के के न ठान्छ तथापि परेको दिन उसमा रहेको कमजोरी देखिन्छ । कति धेरै कमजोरी बोकेर कुरा काट्दै हिँडिरहेको छ मान्छे, आफ्नो रूप देखाइरहेको छ । नेपाली कविताको सुगम धारमा कविता लेख्नेहरूले प्रस्तुत गर्ने विषय आदर्श छाडिरहेको र प्रगतिशील चिन्तन बोकेका कविहरूले परिवर्तनको पक्षमा आवाज उठाएको सहज देख्न सकिन्छ जहाँ न्यायपूर्ण समाजको स्थापनाका लागि पुरातन संस्कृतिको अवैज्ञानिक पक्ष समेत खोज्ने काम हुन्छ । नेपाली समाजमा रहेको विभेदकारी सत्ता र त्यसका विरुद्ध नारी जगत्ले गर्नु परेको जागृतिको यात्रा सजिलो छैन । जहाँ मुक्ति चेतना र वर्ग सङ्घर्षका अनेकौँ अन्वेषण समेत गर्नै पर्दछ । सङ्घर्षको यात्रामा अग्रज स्रष्टाहरूलाई सम्मानपूर्वक सम्झने र सोही अगूज लेखकहरूको ऊर्जालाई लिएर समाज परिवर्तनको अविचल लाग्ने निधो समेत कतिपय कविहरूले गरेका छन्;
तिम्रो सौन्दर्यको विद्रोहले सिकाएको हो
आफ्नो अस्तित्व जोगाउन
जसरी जोगिँदै जोगिँदै विद्रोहमा
झर्न तयार छन् धेरै पारिजातहरू
श्रम बेच्न सुदूर आइपुगेका छन् कयौँ
आधुनिक पारिजातहरू
अब उनीहरूलाई
कसैको दासी बन्नु छैन
कसैको प्यास बन्नु छैन
बरु आफ्नै पौरखले रोपेर स्वाभिमानको बीजहरू
फुल्नुछ आफ्नै देशको उर्बर माटोमा
फैलाउनु छ चारैतिर इज्जतको सौन्दर्य
(सम्बोधन पारिजातलाई, गाउँ फर्किरहेको परदेशी, पृ. ५०)
एउटा सङ्घर्षको पर्याय बनेकी पारिजातले सिकाएको विद्रोह नारी सङ्घर्षको एउटा प्राप्ति र गौरवमय महाआख्यान हो । यही आख्यानको चेतनाले निर्माण गरेको यात्राले आज महिला प्राप्तिको क्षेत्रमा समेत प्रसिद्धि कमाएको छ । कवि थुलुङले नेपाली साहित्य यात्राकी एउटी वैचारिक सगरमाथा पारिजातलाई माध्यम बनाएर उनको जीवन सङ्घर्षको कथा बुझाउन सहयोग पु¥याएको छ । नारी मुक्तिको कुरा विचारविहीन ढङ्गले अगाडि बढ्न सक्दैन । विचारको यात्राले निश्चित स्थानमा आन्दोलनलाई सहयोग पु¥याउँछ;
सपना देख्नु मेरो नैसर्गिक अधिकार हो
चोर कति चोर्छौ ?
खोस कति खोस्छौ ?
म सपना देख्न छाड्ने छैन
मेरो खुल्ला आँखाले देखेको सपना
दिउँसै खोस्नेहरू
तिमी थाक्लाऊ
म थाक्ने छैन
(मेरो सपना, मुक्तिको क्यानभासमा, पृ. ८६)
नेपाली समाजको यात्रालाई गुणात्मत्र अवस्थामा लैजान नारी नै जाग्नु पर्दछ । जो पछाडि परेको छ त्यसैलाई अगाडि बढाउनु पर्ने हुन्छ । मूलतः वर्गीय मुद्दाका पक्षधरहरूले आफ्नो यात्रालाई सङ्गठित र प्रभावकारी बनाउन जरुरी छ ।
उफ् !
किन मलाई जकडिएको त्यो हत्कडीले
हातगोडा यथावत छँदै सबै
कौच र सिंहासनले
च्यापिँदै थिचिएका छन्
अहिले यतिखेर
ब्वाँसोको सामु भेंडाको
सिंहको सामु खरायोको
बाजको नजिक परेवाले
शिर उठाइ कुनै प्रश्नै गर्न निषेध
यो समय
(म एउटा फिराद पत्र वर्तमान अदालतमा, पाइलाहरूमै सडक, पृ. ३५)
कवि प्रतिसरा सायमीले समाजको चरित्रलाई प्रतीकात्मक रूपमा चित्रण गरेकी छिन् । समाज शिकार र शिकारी अर्थात् एउटाको आहारा अर्को बन्नु पर्ने चक्रभन्दा पृथक छैन । वर्तमान अदालतमा केवल समाजमा रहेका यस्तै मात्र परिदृश्य देखा परिरहन्छन् । जसको उत्तर खोज्न स्वयम् सुरक्षित हुनु पर्ने पात्रको एउटा बलियो सङ्गठन हुनु पर्ने अनिवार्यता रहन्छ । कसैको स्वार्थको लागि समय बलि चढिरहेको छ । समाजमा समन्याय र स्वतन्त्रताको प्रत्याभूति भइरहेको छैन । राज्य जिम्मेवारीविहीन छ । त्यसभित्रका पछाडि परेका समुदाय र अल्पसङ्ख्यामा रहेका मानिसहरू अत्यन्त पीडामा बाँचिरहेका छन् ।
आजसम्म
मलाई
तिम्रा स्वाङ्का पर्खालले छेकिरह्यो रहेक
मुखुण्डाको कृतिम उपस्थितिले
माया गर्नादेखि रोकिरह्यो
दम्भका पर्खालले
(अभिजात्यको पर्खाल, युद्धोपरान्त, पृ. ७४)
समाजमा रहेको घमण्डको नेतृत्व पुरुषले गरेका छन् । पुरुष नारीलाई दलनमा पारेर आफ्नो हैकम जमाइरहेका छन् । जीवन यात्रालाई सजिलो बनाउनका लागि समान हैसियत निर्माण गर्ने जग बसाउनुको विकल्प छैन । पुरुष स्वयम् स्वार्थ र घमण्डको पोको बोकेर हिँडिरहेका छन् । नारी अस्तित्वको लागि व्यक्ति पुरुषसँग होइन प्रवृत्तिसँगको लडाई आवश्यक हरेको दृष्टिकोण कवितामा प्रस्तुत गरिएको छ । मान्छे मान्छेका बिचमा जब ठूल्याँइको पर्खालले अर्कालाई रोक्न खोज्छ त्यो पर्खाल भत्काउनै पर्दछ । यो संसारको सृष्टि गर्ने सृष्टिकर्ता आफैँ न्यायको भिख मागेर हिँड्न परे स्थिति कस्तो होला ? त्योभन्दा दर्दनाक स्थिति केही हुने छैन;
हाँगाबाट बिरानिएका कति फूलपातहरू
बुद्धको पासपोर्टमा आफ्नो फोटो टाँसेर प्रवेश गरेको
बेमौसमी हुरीमा हुर्रिदै ठोक्किँदै
अपरिचित जस्तो उही पुख्र्यौली वृक्षमा अडेसा लाग्न पुग्छन् रे !
आफ्नै आँगन पुगेर पनि
शरणर्थीझैँ सन्तान हराएका बहुलाही आमाहरू
लोग्ने मरेपछिको आफ्नै घरमा पराई जस्तो बास माग्छनु रे !
(शब्दहरूको कोलाहलमा अदृश्य हस्ताक्षर, भीमसेन थापाको सुसाइड नोट, पृ. ५०)
त्यति सजिलो छैन अस्तित्वको लडाई । अझ साँच्चै भन्ने हो भने सहअस्तित्व र संवादको पाटो नभए मानव सभ्यताले एक पाइलो पनि सार्न सक्दैन । आज मान्छे बाँच्नुको आशामा क्षणक्षण मरिरहेको छ । आज जन्म दिने आमाका लागि नै एक पाइलो टेक्ने स्थान छैन । कहाँ छ न्यायको यात्रा ? हुँकार वा गर्जन उरालेर मात्र राज्यले शोषणको मारमा लाखौँ सामान्य नागरिकलाई ताडना दिएको छ । बुद्धको देशमा सत्यको परीक्षामा धेरै बुद्धहरू असत्य प्रमाण पेश गरेर उत्तीर्ण भइरहेका छन् । समाज सहअस्तित्वको यात्राको प्रतिमान हो भने लोग्ने मरेपछि एउटी नारीले किन सजिलो गरी बाँच्न पाएकी छैनन् आदि गम्भीर प्रश्न कवि मोमिला कवितामार्फत् उठाइरहेकी छिन् । बाँच्नु र बाँच्ने उपक्रम गरिरहेको बेलाका पीडा अभिव्यक्त गर्दै कवि प्रभा भट्टराई (आचार्य)ले आफ्ना छन्दमय रचनामा गहिरो असहमति व्यक्त गरेकी छिन्;
लाखौँ क्रूर व्यथा, सयौँ विवशता बोकेर बाँचे पनि
छातीभित्र हजार वाण दुःखका रोपेर हाँसे पनि
पूर्ण स्वतन्त्रता अब यहाँ यो भन्दिनै पर्छ रे !
मिथ्या बोल्दछ बाध्य भै मनुज, यो सोचाइ भिन्दै छ रे !
(बाध्यता, सरित् सङ्गम, पृ. ४९)
मानव सभ्यता एक्काइसौँ शताब्दीसम्म आइपुग्दा समानता, स्वतन्त्रता र सुशासनको कुरा गरेर भाषणरूपी आतसबाजीमा रमाएको छ । समाजको स्थितिलाई गहिरो वा मसिनो हिसाबले हेर्ने वा विश्लेषण गर्ने हो भने छोपिएको यथार्थ अर्कै खालको छ । सजिलो ढङ्गले अभिव्यक्त गर्न नसकिएको पीडाको सङ्गीत सुन्ने र बुझ्ने मान्छे समाजमा रहेको छैन । ढाँट, छल र आरोप–प्रत्यारोपमै समाजले यात्रालाई निरन्तरता दिइरहनु परेको छ । आजको यस्तो पर्यावरण मान्छेका पीडाले कुनै दिन विस्फोटक रूप धारण गर्छ भन्ने आसयको अभिव्यक्ति कविताको मूल आसय बनेको छ । छन्दका माध्यम एउटा गहन विचार प्रस्तुत गर्दै त्यही पाठले समाजलाई जगाउन तल्लीन कवि प्रभाले उत्ताउलो वा भड्किलो नभइ शालीन ढङ्गले विद्रोह बोलेको देखिन्छ ।
३. सङ्घर्षको उद्घोष
परिवर्तन सजिलो विषय होइन । समानधिकारको निम्ति नारीहरूले लेखेर मात्र पुग्दैन । नारी र पुरुषले समान खालको सोच बनाउने र श्रमको विभाजन गर्न सकेमात्र त्यो अवस्था आउन सक्छ । त्यसका लागि निश्चित वैचारिक र राजानीतिक परिवेश सिर्जना हुनुपर्छ । नेपालको सन्दर्भमा पनि प्राप्त भएको सीमित अधिकारको स्रोत नै धेरैलाई थाहा छैन । यस्तो अवस्थामा यसको पृष्ठभूमि थाहा पाउनु पनि क्रान्तिप्रति निरन्तर जागरुक भइरहनु हो भन्ने बुझ्न सकिन्छ । हरेक परिवर्तनलाई राजनीतिक नेतृत्वले अगाडि बढाएको हुन्छ । नेपालको राजनीतिमा २००७ सालपूर्व र २००७ सालपश्चात् धेरै नराी व्यक्तित्वहरूले आफूलाई क्रान्तिमा समर्पित गरे । २०५२ सालपूर्वको स्थिति हेर्ने हो भने फौजमा नै संलग्न भएर महिला प्रस्तुत भएका थिएनन् । नेपाली जनतालाई परिवर्तनको यात्रामा डो¥याउन २०५२ साल फागुन १ गतेको घटनाले निकै ऊर्जा दियो । जहाँ देशका सबै क्षेत्रका हजारौँ नारीहरूले आफूलाई बलिदान गरे । राज्यसत्ताका समग्र क्षेत्रमा परेको प्रभावको जग भनेको साहित्य–कला र संस्कृति नै हो । “त्यसप्रकारको परितर्वनमा सशस्त्र फौजी कारबाही तथा गैर फौजी कारबाही जस्तो जनआन्दोलन, सभा, जुलुस, अन्तरक्रिया, वार्ता, संवादका सबै रूपहरू प्रयोग गरेर गरिने जनयुद्धको रूप नै समग्र युद्ध हो ।” (दुःखी, २०७९, पृ. १३७) यही यात्रामा लागेर चुनु गुरुङ, शारदा श्रेष्ठ, जुम्मन चौधरी, कौशिला तमु, कटकटी रोका, सीता पुन, सिर्जना पुन, टिकीकुमारी बुढा, खला के.सी., गंगा घर्ती, दिलमाया डाँगी, जयन्ता घर्ती, लीला वली, शिला वली, अञ्जु बराल, अमपुरा शाही, जमी शाही, राधिका योगी, तिलाकन्या खत्री, बखिता शाही, आशा चौधरी आदि स्रष्टाहरूले आफ्नो गीत, नृत्य र वाद्यवादनद्वारा जनतामा चेतनामात्र छरेनन् उनीहरूले आफूलाई बलिदान गरे ।
नेपाली राजनीतिको पछिल्लो संस्करण गणतन्त्रको स्रोत भनेको यही नै हो । यस पाटोमा नारीहरूले पुरुषसरह र अझ अगाडि बढेर देखाएको कुशल रणनीतिलाई तत्पश्चातका लेखक कविहरूले चर्चा परिचर्चा गरेका छन् भने २००४ साल आसपासको महिला सङ्घर्षको क्षेत्रमा साधना प्रधान, साहना प्रधान, मंगलादेवी सिंह, मोतीदेवी श्रेष्ठ, द्वारिकादेवी ठकुरानी हुँदै दर्जनौा महिला नेतृत्वले पु¥याएको योगदानको पाटोलाई पारिजात जस्ता सशक्त महिलाहरूले निकै कष्ट सहेर अगाडि बढाइरहे । राज्यसत्तालाई मन पर्ने कुरा भनेको चाकरी चाप्लुसी हो भने क्रान्तिकारीले गर्नुपर्ने यात्रा भनेको जोखिमपूर्ण सङ्घर्षको यात्रा नै हो । यही पृष्ठभूमि र प्रवाहलाई हेर्दा नेपाली जनक्रान्तिको क्षेत्रमा नारी कलाकार र कविहरूले जतिबेला पनि समाजलाई सहकार्यमा अगाडि बढाउन मद्दत पु¥याइरहेका छन् ।
२०५२ पछिको विषयलाई निभा शाह, सत्या पहाडी, शोभा दुला, शोभा कट्टेल, सीता आचार्य, सीता शर्मा, कुन्ता शर्मा, गौरी देवकोटा, चन्द्रा थानी, विना मैनाली, वन्दना ढकाल, विभूति भट्टराईलगायत सयौँ स्रष्टाहरूले परिवर्तनको पाटोमा नपुगेका विषयलाई सशक्त ढङ्गले चर्चामा ल्याएका छन् । यथास्थितिमै रमाउने र सुगम पथमा साहित्य सिर्जना गर्नेहरू आफूलाई अनुकूलन गर्दछन् भने क्रान्ति र चेतनाका निम्ति कलम चलाउनेहरूले निरन्तर जनतालाई जगाउँदै आफ्नो भूमिका निर्वाह गर्दछन् । नेपाली समाजमा रहेको दमनको एउटा पाटो दलन र उत्पीडन पनि हो यस क्षेत्रमा पनि धेरै नारी प्रतिभाहरूले आफूलाई उभ्याएका छन् । दलितहरूको पीडा पनि वर्गीय पीडा हो । सिङ्गो नारी आन्दोलनभित्र दलित आन्दोलन अटायो भने मात्र वर्गीय आन्दोलनले खास उपलब्धि हासिल गर्न सक्छ । यस हिसाबले हेर्दा माथिल्लो प्रसङ्गहरूमा समावेश गरिएका कवि र कविताभन्दा अझ विशेष खालको ठोस यात्राको चाहना राख्ने कवि लेखक वा संस्कृतिको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूमा मात्र सङ्घर्षको खाका हुने गर्दछ ।
विद्रोहको कुरा गरेर मात्र विद्रोह हुने होइन । चुला र चौको भन्दा माथि उठेर चुनौती नबेहोरे कुनै पनि परितर्वनको ठोस यात्रा पूरा नहुने कुरामा कविहरू प्रतिबद्ध भएर सङ्गठन र साहित्य दुवैतर्फ क्रियाशील भएको पाइन्छ । विविध हिसाबले हेर्दा २०५२ फागुन १ गते पछिका विषयले राज्य पक्षको दमन, उत्पीडनको खुलेर विरोध गरेको छ भने २०४६ देखि २०५२ सम्मको अवधि अनि २०५२ पछि २०६३ सालसम्मको स्थितिमात्र नभएर २०६३ देखि आजको स्थितिसम्मको घटनावलीलाई कवितामा प्रस्तुत गरेर गुणात्मक समाज निर्माणको पाटोमा भएका प्रयासको साहित्यिक र सांस्कृतिक क्षेत्रबाट चर्चा परिचर्चा हुनु जरुरी छ । साहित्यिक र सांस्कृतिक गतिविधिले व्यवस्था परिवर्तन र परिवर्तित व्यवस्थाअनुरूप अवस्थाको परिवर्तनको पक्षलाई समेत कविताहरूमा प्रस्तुत गरिएको छ ।
पिठ्यूँको छाला खुइलिने गरी
ढुङ्गा र पानी बोकेर
ठड्याएको मन्दिरमा
उँचा भनिने मान्छेहरूले
प्रवेशमा रोक लगाएपछि
आमैले आस्थालाई नै सेलाइ दिइन्
उनको विद्रोही अवतारमाथि
मलाई
एउटा महाकाव्य लेख्न मन छ ।
(विद्रोही आमै, जिल खाइरहेको एक्काइसौँ शताब्दी, पृ. ९५)
धर्मको नामा लुटको राज्य चलेकै छ । समाजलाई न्यायपूर्ण बनाउनका लागि रातोदिन खट्नेहरू नै धर्म नामक विषको चक्करमा परेको समयमा श्रम गर्ने मान्छेको गाँस, बास, कपासको कुनै ग्यारेन्टी छैन भने त्यहाँ कसरी हुन्छ न्याय र समानता ? कवि शान्ति प्रियवन्दनाले व्यवस्थाभन्दा पनि अवस्थाको विषयलाई कलात्मक हिसाबले कवितामा स्थान दिएको देखिन्छ । धेरै सङ्घ, संस्थामा निरन्तर सम्पन्न वर्गका मान्छेले कब्जा गर्ने र त्यसलाई कमाइखाने भाँडो बनाउने काम गरेकोप्रति कविको तीब्र आक्रोश चुलिएको छ । यो व्यक्तिगत आक्रोश नभएर प्रवृत्तिगत भण्डाफोर हो । शीर्षकले नै बोल्छ कि ! किन विद्रोह निम्तिन्छ । आज पनि शोषणका अनेक ढङ्गढाँचा थपिएका छन् । न्याय र समानताका मुद्दा कमजोर बन्दै जाँदा लुट र भ्रष्टाचारका शृङ्खलाले टाउको उठाइरहेको छ । नागरिकको स्वतन्त्रताको प्रश्न केवल कागजमा सीमित भएको छ । सरकारको जनउत्तरदायित्वको कुरा भाषणमा केन्द्रिकृत छ ।
टुप्पामा लोकाचारको कैँची हैन
जरामा विचारको खन्ती चलाऔँ
धेरै पढियो समस्या
धेरै भोगियो पीडा
न त पढेर सकियो
न त भोगेर रित्तियो
त्यसैले त भनेको सखे
म, तिमी, ऊ हैन
हामी बनौँ
समस्याको जरा खोतल्न र
समाधानको गीत गाउन
आऊ हामी बनौँ ।
(कैँची हैन खन्ती चलाऔँ, मुक्तिको क्यानभासमा, पृ. ९७)
नेपाली समाजको आजको यथार्थ पक्षलाई कविताले बोलेको छ । गौरी वर्गसचेत लेखक हुन् । उनका कवितामा निम्न वर्गको पीडा प्रतिध्वनित भएको छ । कर्मशील बन्दै धेरै खालका अन्याय, अत्याचारको जालोलाई फाल्नका निम्ति विचार निर्माण गर्ने र अर्काको नकरात्मक पक्ष खोतल्न भन्दा आफूले उदाहरणीय काम गर्न जाँगर चलाउन कवि आह्वान गर्न पुग्दछिन् । परिवर्तनलाई संस्थागत गर्नका लागि त विचारको जरामा मलजल गर्नु पर्दछ भन्ने निष्कर्ष उनका कविताहरूमा प्रस्तुत भएको पाइन्छ । परिवर्तनको पक्षमा हतियार उठाउनेहरू, आवाज उठाउनेहरू, कलम चलाउनेहरूले शोषणको जाँतोमा पिसिएका लाखौँ जनताको अप्ठ्यारोमा साथ दिन सके मात्र सही विचार र कार्यदिशा निर्माण हुने कुरामा कवि गौरी प्रतिबद्ध भएको देखिन्छ । कतिपय घटना र नसुधारिएको कार्यशैलीले हाम्रो देश र हामी नेपालीलाई दिनानुदिन कमजोर बनाउन सरकार नै तल्लीन भएको देखिन्छ । कवि ज्योति जङ्गलको आधा शिर उचालेर कवितासङ्ग्रह भित्रका कविताहरू त्यस दिशातर्फ उन्मुख भएको स्पष्ट देख्ने सकिन्छ;
सरकार यो सहरको धुलेआम कुहिरोभित्र
कागै त भएको छ
ट्याउँ ट्याउँ गरिरहेछ दसकौँदेखि
म त धनीहरू औँलामा घाऊ सुम्सुम्याउँदै
आक्रोश, क्षोभ र प्रतीक्षाको मसला हालेर
आशाको खिचडी पकाउन रुँगी बसेका छन्
तर आगो बोकेर भागेका छन् कागनायकहरू
हरदम आकाशमा कावा खाइरहेका
झुण्ड–झुण्ड आपसमा निशाना मरिरहेका
मानौँ, ठुँग्नु र कराउनु मात्र तिनको अस्तित्व धर्म हो ।
विगतदेखि वर्तमानसम्मका हरेक सरकारहरूले जनताको नाम लिन्छन् । जनताकै नाममा विविध कुरा गर्छन् तथापि सरकार भन्ने संस्था नै अनौठो जीव जस्तो छ । त्यसैले त सचेतता नअपनाए जनता दास नै रहिरहनु पर्ने स्थिति आउने ठहर कविको रहेको छ । कविताको शक्ति धेरै छ । कविताले जगत्लाई जगाउँछ । नारी विद्राहको कुरा पनि कवितामा नै सलबलाउन सक्छ । कवि सुमिना वर्तमान राज्यसत्ता र त्यसको चरित्रप्रति कठोर मात्र नभइ आगामी दिनको चिन्ता परिपक्व ढङ्गले गर्दछिन्;
मानौँ,
अब यो कलम
एक अध्यायको अन्तिम विन्दुमा उभिएर
हतारिएको छ युद्ध गर्न
हतारिएको छ विस्फोट हुन
ध्वस्त हुने गरी पुरातन संरचनाको
जीर्ण र वृद्ध धुरी ।
त्यसपछि लगत्तै घोषणा गर्न
अर्को सुनौलो अध्यायको आरम्भ ।
(परिवर्तित कलम, (बागी स्त्रीको आत्मकथा, पृ. ५६)
नारी चेतनाको निर्माण नारी स्रष्टाहरूले गर्दा त्यो सुल्टो पर्दो रहेछ । आफ्ना पीडादायक भोगाइले सिर्जना गरेका रचनाहरूले अन्य पीडामा जीवन भोगिरहेकाहरूलाई पनि सचेत बनाउने र त्यस यात्रामा समवेत स्वर जगाउनु आवश्यक छ । कलमले हजारौँ वर्षको दासत्वबाट मुक्ति दिलाउने प्रक्रिया अगाडि बढ्न सक्दछ । नेपालको भूगोल भित्रमात्र नभएर विश्वभरि नै नेपाली नारीले भोग्नु परेको समस्यालाई जम्मा गर्दा एउटा फरक खालको चेतनायात्रा तय हुनेमा कवि सुमिना प्रतिबद्ध छिन् । उनको कलमले वर्गको आवाजलाई घन्काएको छ । निम्न वर्ग र दमित उत्पीडितको हित खातिर उनले उठाएका आवाजले धेरैलाई सचेत तुल्याएको देखिन्छ । आज समाज दुईखाले अतिबाट ग्रसित छ । एकातिर प्रेमको सस्तो बजारको शेयर बढिरहेको छ भने अर्कोतिर घरेलु हिंसाले नारी संहार चरम पीडादायक स्थितिमा रहेको छ । हाम्रो गरिबीले गरिबमारा नीतिलाई नै समर्थन गरिरहेको भान हुन्छ;
एउटै समयमा
हामी दुईथरि दाग
बोकेर हिँडिरहेका छौँ
त्यो क्यामेराको आँखा
सल्बलाउँछ
तिम्रो छातीमाथि कुँदिएको गुलाफमा
जसरी सल्बलाउँछ
मेरो शिरदेखि पाउसम्म
कुनै परचक्रीझैँ
धामीको हातमा नाचिरहने
कुमन्त्रित कुचो ।
(गुलाबको ट्याटु र पन्युँको डाम, चुल्ठो, पृ. २१)
माथि उल्लिखित कवितांशले नर–नारी चेतनालाई गिज्याइरहेको छ । परिवर्तन भयो भनेर मुख मीठो पार्दैं सत्तामा रमाइरहेका सङ्घर्षबाट आएका पूर्वयोद्धाहरूलाई व्यङ्ग्य गरिरहेको छ अनि आम नारीले भोग्नु परेको पीडामा कतै पुरुषहरू संवेदनशील नभएकोप्रति तीब्र आक्रोश व्यक्त गरेको छ । घरेलु हिंसा र राज्यको भेद्भाव दुवै हिसाबले नारीलाई निकै नै मर्का परेको छ । एकातिर स्वतन्त्रताको नाममा स्वच्छन्द भएर हिँड्ने एउटा जमात छ जसले आफूलाई धेरै सस्तो रूपमा प्रस्तुत गरेका छन् । पैसा प्राप्ति हुन्छ भने पुतलीजस्तै बनेर हिँड्नेहरूले नारी अस्मितालाई अत्यन्त सतही रूपमा प्रयोगमा ल्याएका छन् त्यसैगरी समाजमा चेतनाको अभावग्रस्त नारीहरू उपचार र श्रमका नाममा समाधानतिर होइन समस्याको थप दलदलमा फस्न पुगेका छन्;
निर्दयी मालीबाटै पत्रहरू थुतिएको
सौन्दर्यविहीन सयपत्री फूजस्तै
छोरीका छताछुल्ला कहरहरूलाई
सम्हाल्ने आँसुका अँजुली पनि
यिनै त हुन् !
सुकेनसले खाएको सुनकलीको सेतो शरीरलाई
‘क्याटवाक’मा निर्वस्त्र गरिँदा
दुःशासनका विरुद्ध उठ्ने
कलेँटी परेका मुट्ठी पनि
यिनै त हुन् ।
(आँसुको सौन्दर्यशास्त्र, ओक्कल दोक्कल पिपत पात, पृ. २७)
समाजका विविधता धेरै छन् । समाजभित्र रहेको अज्ञानता मात्रै होइन खुलेआम व्यापारीको हातमा नारीको सौन्दर्यलाई बेच्नेहरूले नारीलाई कि त दास कि पुतली बनाउने परियोजना तय गरेको स्पष्टै देख्न सकिन्छ । सङ्घर्षको परिचायक नारी शक्तिले चेतनाविना भोग्नु परेको दुवै खाले समस्या दुवै नै घातक स्थितिबोधक हुन् । आफैँले निर्माण गरेको संसार जनसामान्यमाथि लुटको साम्राज्य चलाइरहेको छ जसका विरुद्ध एउटा जेहाद नछोडे उपभोक्ताहरूले संसारलाई निल्ने निश्चित भएको तर्क कवि विन्दु शर्माको कवितांशले प्रस्तुत गरेको छ । विगतका शोषणका सञ्जालले नारीलाई कमजोर त तुल्याएकै थियो आज पनि उही कृत्य दोहो¥याइरहने प्रपञ्च गर्दा पनि कति सहेर बस्नु पर्ने कवि सीमा आभास आफ्नो कवितासङ्ग्रहमा निकै आक्रोशपूर्ण यथार्थ अभिव्यक्ति प्रस्तुत गर्न पुग्दछिन् । नारी को हो ? किन उनीहरू सचेत हुन जरुरी छ;
आगोले कुल्ला गरी
आगैले नुहाएर
उभिएको छ आगोकै संघारमा
बल्छन् मेरा आँसुका फोहरा
दन्कन्छन् मेरा औंलाका टुप्पा
फुसफुसाउँछ मेरो मुटु
र, सल्कन्छ शरीर ।
(अग्निपरीक्षा, म स्त्री अर्थात् आइमाई, पृ. ३८)
कवि सीमा आफ्नो कविता उपरको अनुभूतिमा भन्छिन्, “हामीले आफ्नो सम्मान गर्ने हो भने, हामीले आफ्नो साहित्य लेख्ने हो भने, हामीले कानुनलाई हाम्रो आवाजको लागि दह्रो स्वर दिने हो भने, आइमाई शब्दलाई पुनर्परिभाषित गरिनुपर्छ ।” (सीमा आभास, २०७५, पृ. १०७) नेपाली समाजमा हेयका कोणबाट गरिने प्रत्येक सम्बोधन नारीलाई ग्राह्य छैन । आफैँले बदल्नका निम्ति गर्नुपर्ने सङ्घर्षको पाटो र सो पाटोमा खरो उत्रने उद्घोष कविको रहेको छ । समाजबाट नै फेरिन सके नारीलाई भन्ने गरिएको आइमाई शब्दको रुढ अर्थ राज्यको एउटा महŒवपूर्ण पक्ष बनेको महिला आन्दोलन स्वभाविक ढङ्गले स्थापित हुनेमा कवि दृढ छिन् । कविताभित्र नारीको अदम्य साहस र आँटको वर्णन कलात्मक हिसाबले गरिएको छ;
घोचिरहेछन् मलाई नै
रगत टप्किरहेछ आँखाबाट
मेरो मर्मको गहिराइबाट
रोएको हैन म यो
घाउको केवल चह¥याइमा कन्याएको
तर त्यसैमा नुनचुक छरिरहने
हात जुन हो, आफ्नै भनेको
त्योदेखि अत्ताली रोएँ म
खप्ने बाँध फुटेर ।
(समयको ऐनामा देखापरेका सत्याहरू, पाइलाहरूमै सडक, पृ. १७)
समयको काव्य विचार निकै भावमा डुबेको छ । आज हाम्रो समाजको चरित्र यति धेरै जटिल बनेको छ जो दुःख दिने वर्ग हो उही वा उसैलाई अङ्कमाल गर्नु पर्ने स्थिति विद्यमान रहेको छ । “अन्याय, अत्याचारको विरोध गर्ने र परम्परागत मान्यतालाई हुत्याएर मात्र पुग्दैन, जनपक्षीय साहित्य लेख्नेहरूले जनतामा आस्था पनि राख्नु पर्दछ, जनताको शक्ति अपार छ, उक्त शक्तिले सामाजिक परिवर्तन ल्याउन सक्छ ।” (श्रेष्ठ, २०६३), भूमिका, पाइलाहरूमै सडक पढेपछि) समाजको भित्र धेरै सम्भावना र चुनौती छ । चुनौतीको सामना गर्नका लागि आशाको दियो जलाउनु पर्दछ । कवि प्रतिसराको कवितामा आफ्नै अनुभूति माध्यम भएर आम महिलाका पीडा मुखर भएका छन् । नारी दाम्पत्य जीवनको पीडाबाट प्रताडीत भएको विषय पनि कविताहरूमा सूत्रात्मक बनेर प्रस्तुत भएको देखिन्छ जो आजको प्रत्यक्ष देखिने सामाजिक विषयवस्तु हो । कवि मोमिला यही आजको समाजको प्रतिविम्बन आफ्ना रचनामा प्रवाहित गर्दछिन्;
उज्यालोको सारा सहुलियत आफैँसँग राखेर
मनलागी अँध्यारो दियो
जम्मामा,
तिम्रो उज्यालो सुख र मेरो अँध्यारो पीडा
बेलगाम पेम ग¥यौँ
मिठो दुर्घटना !
तिम्रो र मेरो प्रेमको कुनै हिसाब नै रहेन !
(आकाशलाई धर्तीको सम्बोधन, भीमसेन थापाको सुसाइड नोट, पृ. २७)
फैलँदै जानु पर्ने मान्छे–मान्छेबिचको प्रेम असहजताका कारण खुम्चन पुगेको छ । नर–नारीबिचको सम्बन्ध कचल्टिएको छ । मान्छेले मानवीय भावनालाई बिर्सिएर गरिरहेछ अर्कालाई देखाउने र दुखाउने प्रेमको नाटक । यतिबेला सच्चा प्रेमको कुरा स्वभाविक लाग्दैन र छैन । यही पृष्ठभूमिमा बलियाको साम्राज्यमा कमजोरले पाउने भनेको पीडा नै हो । पछिल्लो समयमा छन्दमा कविता लेख्नेप्रति र छन्दका कविताप्रति नकारात्मक धारणा विकास मात्र भएनन् । छन्द कवितालाई प्रभुको स्तुति सरह मान्छेहरू पनि धेरै भए । त्यस्ता आरोपलाई खण्डन गर्ने केही सशक्त कविहरूमा पर्दछिन् प्रभा भट्टराई आचार्य र उनका कविताले अँध्यारोलाई सङ्घर्षले चिर्दै आशावादी चेत विस्तारित गर्न मद्दत गरेका छन्;
तेरै अगाडि यी डाँका मालामाल भए सबै
तेरै अगाडि यी निर्धा लुटिए निख्रिए त्यसै
हत्या, लुट, बलात्कार के–के भो अन्धकारमा ?
एक–एक गरी त्यसको सक्छेस् तिर्न हिसाब तँ ?
(रजनीसँग, सरित् सङ्गम, पृ. २४)
विगतका कालरात्रि भनिएको समयमा मात्र होइन दुईतिहाइवाला पहिलो र दोस्रो संस्करणले लालरात्रि नामक समय वा प्रहरमा पनि जनताले उस्तै र उत्तिकै स्तरमा दुःख पाउने अनि चोर र चतुरहरूले सेतो नम्बर प्लेटका असङ्ख्य सवारीसाधनमा तस्करी धन्दा गर्ने क्रम रोकिएन । जनताका छोराटोरीको केही सुरक्षा हुन सकेको छैन । मैना सुनार मात्र होइन निर्मला पन्तहरूको बलात्कार पछिको हत्याले नारीमाथि राज्यको उपस्थिति कस्तो छ ? भन्ने राम्ररी बुझ्न सकिन्छ । जतासुकै र जतिसुकै आदर्शका गफ चुटे पनि नेपाली समाजमा दमन, दलन र उत्पीडनको स्थिति अत्यन्त दर्दनाक स्थितिमा रहेको कुरालाई कवि प्रभा भट्टराई आचार्यको काव्यांशले पुष्टि गरेको छ । नारीलाई आधा आकाश भनेर समाजलाई लुट्नेहरू पनि छन् । पारिजातले आधा आकाशको मुद्दालाई विशेष महत्व दिएर साहित्य र राजनीति दुवै क्षेत्रबाट हस्तक्षेप गर्ने काममा अगुवाई गरिन् । पछिल्लो समयका लेखकहरू पनि आधा आकाश अर्थात् नारी चेनाको विकास र विस्तार विना केही गर्न नसकिने निष्कर्षमा पुगेका छन् । कवि सयपत्री थुलुङको शब्दमा,
यहाँ भत्काउनु जो छ,
हाम्रो मस्तिष्कको सङ्कीर्ण छाउघर
मेटाउनु छ छाया जस्तै पछ्याइरहने
हाम्रो स्वतन्त्र आकाशको पुरातन आकाश
घाम उदाउनु अघि नै
उदाइसक्नु छ समानताको पारिलो घाम
र फैलिएर यो ब्रम्हाण्डको चारैतिर
भन्नु छ हामी यो सिङ्गै आकाशको
आधा हिस्सा हौँ
र पूरा ब्रह्माण्ड हौँ ।
(आधा आकाश, गाउँ फर्किरहेको परदेशी, पृ. ८)
स्थापितदेखि नवोदित स्रष्टाहरू सबैले भनेका छन् त सहकार्यको विषय अनि सहअस्तित्वको यात्रा । सहअस्तित्व नहुने हो भने यो पक्षपात पूर्ण व्यवहार मान्छेको होस् वा राज्यको सहेर बस्नै पर्छ भन्ने केही छैन । संसारका नारीले खोजेको आधा हिस्सा हो । नारी स्वतन्त्रताले मात्र समाजको सभ्यतालाई व्यवस्थित बनाउन सक्छ । समाजको मर्यादालाई बलियो र व्यवस्थित बनाउन सक्छ । वर्गीय समाजमा सम्बन्धहरू पनि वर्गीय हुन्छन् अनि जहाँ आर्थिक अधिकार र स्वामित्वको प्रश्न विचारणीय हुन्छ । यस हिसाबले हेर्दा कवि सयपत्री जुलुङका कविताहरूले परिकल्पना गरेको समाज सङ्घर्षले स्थापित समाज हो । त्यसैगरी नारीलाई प्रतीकात्मक रूपमा बरफका कोइलाहरूको संज्ञा दिने कवि राधिका कल्पितले आफ्ना कवितासङ्ग्रहमार्फत् उन्नत विचारलाई विवेकले स्थापना गर्ने अधिकतम् प्रयास गरेको पाइन्छ । यो समाजमा नारीले मात्र मौन धारणा गर्नु पर्ने हो ? सहिरहनु पर्ने हो सबै पीडाको भारले थिचिएको जीवनका क्षणहरू । हुँदैन अब यसरी सहेर बसेर हुँदैन । हामीले प्रश्न मात्र गर्ने होइन अत्यन्त सशक्त ढङ्गले हस्तक्षेप बढाउनै पर्दछ भन्ने उद्घोष उनका कविताहरूले गरेका छन्;
बहसै बहसको यो ब्रह्माण्डमा
नथपौँ अर्को बहस
नारीवाद या पुरुषवाद
आऊ बरु कुरा गरौँ
त्यस्तो नौलो वादको
जुन नहोस् फगत नारीको
वा नहोस् त्यो पुरुषको
आऊ कुरा गरौँ ।
मानवतावादको
प्रेमवादको
सहकार्यको
अनि
सह–अस्तित्वको ।
(नौलो वाद, बरफका कोइलाहरू, पृ. ८१)
आखिरमा खोजिएको कुरा र चाहेको बहसको विषय मात्र समानता हो । मानवतावाद नवनि लुटको सञ्जाल गैरसरकारी संस्थाको लुटको खुराक नबनोस् । वास्तवमै सहयात्राले मात्र समाजलाई एउटा विशेष उत्कर्षमा पु¥याउँछ । समाजका अभिन्न पाटो प्रकृति र पुरुषको सहकार्यका लागि आह्वान गरेको धेरै भयो । यो सहकार्यको यात्रामा नहिँडेपछि नारीहरूले विद्रोहको आवाजलाई बुलन्द बनाउनु पनि स्वभाविकै छ । सृष्टिचक्रलाई विशेष हिसाबले हेर्ने हो भने पनि प्रकृति र पुरुषको आ–आफ्नै तर विशिष्ट सम्बन्ध छ । स्वार्थी पुरुष जगत् किन प्रकृतिको विनाशमा उत्रिएको छ बुझ्न नसकेको विषय हो भन्दै कवि राधिका कल्पितले आफ्नो लेखनमा कवि पारिजातको ‘मानुषी’ कविताको जस्तै उच्च सहअस्तित्वको आह्वान गरेकी छन् । लेखनको बहसलाई कुन किसाबले केन्द्रित गर्ने र समाजलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा समालोचक ताराकान्त पाण्डेयको धारणा पनि माथिका कविताको आशयसँग मिलेको देखिन्छ, “हामी यदि सामाजिक परिवर्तनका निम्ति लेखिरहेका उत्पीडित जनगणको मुक्ति र तिनको आत्मिक आनन्दका निम्ति लेखिरहेका छौँ भने विषयका बृहत् फलकबाट छनोट गर्न पर्दछ ।
जुन विषय आवश्यकताका वा महŒवका केन्द्रमा छ, लेखनका निम्ति त्यसबैबाट सामग्रीको छनोट गर्नु आवश्यक हुन्छ ।” (पाण्डेय, २०६८, पृ. १९) माथि उल्लिखित भनाइले पुष्टि गर्दछ कि, सामाजिक सरोकारसँग जोडिएर आउने प्रत्येक विषय वा सन्दर्भ हाम्रो लेखनीको विषय भयो भने मात्र सामाजिक रूपान्तरणका विविध आयामहरूले फैलने र संस्थागत हुने मौका पाउँछ ।
विश्वस्तरमा चलेको राजनीति र समाज चलिरहेको प्रचलन वा रीतिरिवाज मान्छेको चेतना र सहभागितामा आधारित रहेको छ । “साहित्य र राजनीतिको सम्बन्धलाई पूरै अस्वीकार गर्ने दृष्टिकोण साहित्यको समाजपरक भूमिकाको विरोधमा उभिँदै आएको छ । साहित्य र राजनीतिको सम्बन्धलाई स्वीकार त गर्ने तर यस विषयमा त्रुटिपूर्ण दृष्टिकोण राख्ने र त्यसैअनुरूप साहित्यलाई परिभाषित गर्ने धारणा पनि गलत छ ।” (गिरी, २०७९, पृ. १२५) उल्लिखित विषयमा पनि माक्र्सवादी र गैरमाक्र्सवादी लेखकहरूको विचार फरक छ तथापि समाजलाई निरन्तर गतिशील यात्रामा लैजाने हो भने दमित, उत्पीडित जाति, क्षेत्र र लिङ्गको उपस्थितिलाई बलियो बनाउँनै पर्दछ ।
स्वाभिमानको नारा दिँदै
आकाशतर्फ उठेका
हजारौँ निरस्त्र हात
अहिल्यै नखसाल
बमै खसे पनि शिरमाथि
यसबखत छरिन हुँदैन
पिरोलिन र एक्लिन हुँदैन
युद्ध शृङ्खलामा विभाजित छ
र निक्कै माथिमाथिको
उचाइ छुनु छ हामीले साथसाथै
भर्खरै त
प्रियजनका लाशहरूमाथि उक्लेर
आधारशिविरमा झण्डा गाडेका छौँ
आरोहणको क्रम भर्खर आरम्भ भएको छ
यात्रा अविच्छिन्न छ ।
(अविच्छिन्न यात्रा, युद्धोपरान्त, पृ. २०)
समानताका लागि न्यायको युद्धमा होमिनेहरू कहिल्यै हरेश खानु हुँदैन । यात्रा जीवन रहेसम्म चलिरहन्छ । स्वाभिमानको यात्रामा योद्धा थाक्यो भने परिवर्तनको पदयात्रामा अवरोध उत्पन्न हुन्छ । दमित, उत्पीडित मनहरूलाई जगाउँदै, उठाउँदै साथ–साथ लाग्न सकेमात्र उपलब्धिको सगरमाथाको आधार शिविरबाट माथि उठ्न सकिन्छ । साहित्यले सकारात्मक राजनीतिको निर्माण गर्ने र भ्रष्ट राजनीतिलाई साहित्यले नै सुधार गर्ने योजना नबनाइकन हुँदैन । कवि शारदा शर्माले अठोट गरेजस्तै प्रत्येक स्रष्टाले निश्चित उद्देश्य प्राप्तिका लागि योजना बनाउनेहरू र एजेण्डा मिल्नेहरूले मोर्चाबन्दी गर्नै पर्दछ । आजको सत्ता चाहे पुरुष सत्ता होस् चाहे राज्य सत्ता सक्कली अनुहारमा हिँड्न सकेको छैन । त्यसको मुखुण्डो उतार्ने दिन नजिक आइसकेको छ । समाजका यी विरूप दृश्यले कवि दिया मेवाहाङ राई पनि आफ्ना कवितामार्फत् आक्रोश पोख्छिन्;
एकापट्टिबाट आफ्नै मस्तिष्क भ्वाङ पारेर
अर्कोपट्टिबाट हेरिरहेछु
मुखुण्डो लगाएर हिँडिरहेका मान्छेहरूलाई ।
देखिँदा उस्तै देखिन्छन्
उस्तै व्यवहार गर्छन्
तर पनि बारबार
म त्यतै हेरिरहन्छु, चिहाइरहन्छु ।
आखिर त्यो मुखुण्डोभित्रको असली अनुहार
तिम्रो या मेरो, कसको हो ?
(मुखुण्डो, यादको सन्दुक, पृ. ४१)
आज हाम्रो समाज निकै धेरै छलकपट गर्न खप्पिस भइसकेको छ । जुनसुकै नाममा आफ्नो प्रभुत्वलाई कायम गर्ने होडले नेपाली समाज झन् ग्रसित भएको देखिन्छ । कवि दिपाले भने जस्तै यो मुखुण्डो लगाएर अर्कालाई तर्साउने प्रवृत्ति (चाहे जोसुकैले अपनाएको किन नहोस्) घातक छ । त्याज्य छ । आक्रोशपूर्ण र निन्दनीय छ । आज प्रश्न अर्कोतर्फ फर्केर गरिरहँदा उत्तर आफैँसँग छ भन्ने आशयको कविताले के पुरुष वा नारी हामीले आफूलाई सुधार्नुको विकल्प छैन । छेदविच्छेद भइरहेको मानवीय संवेदनाको पाटोलाई बचाउन र सङ्घर्षद्वारा आफ्नो हक स्थापित गर्न पुनः सजग वा सचेत हुनुपर्दछ भन्ने चासो कवि दिपाका कवितांशले राखेको स्पष्ट हुन्छ ।
नारीले भोगेका दुःख निवारणको प्रश्नमा घोत्लिएर २०४० को दशेकदेखि २०८० को दशकसम्म छापिएका कवितासङ्ग्रहभित्र कविताहरूलाई आधार बनाएर अध्ययन गर्दा नेपाली साहित्यमा नारी आवाजलाई सशक्त बनाउने काम क्रमशः भएको देखिए पनि मुहार लिपापोतीमा फसेको नारी मन र उपभोक्तावादले पुरै निलेको नेपाली समाजको मनोदशाको स्थितिलाई हेर्दा नारीहरूको पछिल्लो लेखनयात्रा सोचेजति र आवश्यकता भएजस्तो धारिलो हुन नसकेको देखिन्छ ।
नेपालमै बसेर काव्य साधना गर्नेहरूले पनि आफ्नो वैयक्तिक कुण्ठालाई विषय बनाएर रचना गर्ने कर्मलाई प्राथमिकता दिइरहेको बेला विदेशी भूमिमा बसेर नेपाली भाषामा लेख्ने लेखकहरूको लेखन समेत विश्वको महिला पीडाका विषयमा भन्दा साहित्यकार हुने होडमा परेर कमजोर विषय अनि लोकप्रिय हुने नाममा फितलो प्रस्तुतिमा सीमित रहेको छ । पछिल्लो समयमा समयको पदचापलाई बुझेर समाज बदल्न सहयोग पु¥याउने खालका झरिला कविता लेख्ने, आशाको सञ्चार गर्ने सिर्जनामा कमी आएको छ ।
निष्कर्ष
यस लेखमा प्रस्तुत गरिएका जम्मा चौध जना नारी स्रष्टाका बयालिस ओटा कविताले सबै कुराको निर्धारण नगरे पनि नेपाली कविताको झण्डै चार दशक लामो यात्राका झलकलाई प्रस्तुत गरेको छ । कविताहकुनै वाद वा विचारका आधारमा छानिएका वा रोजिएका होइनन् । नारी स्रष्टाका कलमले नारी आन्दोलनलाई कति महŒव दिएको छ ? त्यो नक्साङ्कनमा सहयात्रा र सहअस्तित्वको स्वरूप कसरी तय भएको छ साथै नेपाली समाजलाई अग्रगामी यात्रामा अगाडि बढाउने विषयमा के कस्ता बौद्धिक बहसहरूले स्थान पाएका छन् भन्ने विषय जिज्ञासाको शमन गर्ने बाटोमा अध्ययन गर्दा नारी स्रष्टाहरूको लेखनमा निरन्तर गुणात्मक पक्ष सशक्त भएको देखिन्छ । गणतन्त्र नेपालको समानुपातिक प्रतिनिधित्व र समावेशी राज्य व्यवस्थाका लाग कमजोर नारी आन्दोलन होइन वर्गीय उत्पीडन बुझ्ने आन्दोलन गर्ने खालको लेखन आजको आवश्यकता हो भन्ने ठहर समेत माथिका कविताहरूको अध्ययन र संश्लेषणाबट मनन गर्न सकिन्छ ।
आज शिक्षा, प्रशासन, राजनीति, व्यापार व्यवसायमा नारीहरूको सहभागिता र सक्रियता बढेको भए पनि गुणात्मक राजनीतिक नेतृत्व स्थापनार्थ नारीको भूमिका थप सशक्त बन्दै जानु पर्ने बोध हुन्छ । नारी स्रष्टाहरूले दलिल गरे जस्तो पुरुषसत्ता हिंस्रक भन्दा बढी सिल्ली भएको र त्यसको एउटै मात्र उपचार राज्यका तहमा गुणात्मक उपस्थिति बढाएर सह–अस्तित्वको सिद्धान्त स्थापित गर्न सकिन्छ भन्ने रहेको छ ।
सन्दर्भ–सामग्री सूची
अधिकारी, तेजविलास . (२०७९) . सहिद स्रष्टा परिचयकोश, काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठान ।
भट्टराई (आचार्य), प्रभा . (२०६८) . सरित् सङ्गम, काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठान ।
चिलुवाल, कल्पना . (२०७७) . चुल्ठो, काठमाडौँ, बेला पब्लिकेशन ।
दहाल, गौरी . (२०६८) . मुक्तिको क्यानभासमा, काठमाडौँ, अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति ।
थुलुङ, सयपत्री . (२०८०) . गाउँ फर्किरहेको परदेशी, काठमाडौँ, विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रीय समिति ।
ज्योति जङ्गल . (२०७९) . आधा शिर उचालेर, काठमाडौँ, साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. ।
पाण्डेय, ताराकान्त . (२०५३) . कला साहित्य ः भूमिका र मूल्याङ्कन, काठमाडौँ, चिन्तन प्रकाशन प्रा.लि. ।
मोमिला . (२०७०) . भीमसेन थापाको सुसाइड नोट, काठमाडौँ, याम्बुरी बुक व्वाइन्ट ।
राधिका कल्पित . (२०७७) . बरफका कोइलाहरू, काठमाडौँ, बि.एन. पुस्तक संसार प्रा.लि. ।
राई, दिपा मेवाहाङ . (२०७८) . यादको सन्दुक, काठमाडौँ; फिनिक्स बुक्स ।
शर्मा, विन्दु . (२०७९) . ओक्कल दोक्कल पीपल पात (दो.सं.), काठमाडौँ; शिखा बुक्स ।
सीमा, आभास . (२०७५) . म स्त्री अर्थात् आइमाईहरू, काठमाडौँ ; मञ्जरी पब्लिकेशन ।
शान्ति प्रियवन्दना . (२०७८) . जिल खाइरहेको एक्काइसौँ शताब्दी, काठमाडौँ; रत्न पुस्तक भण्डार ।
सुमिना . (२०८०) . बागी स्त्रीको आत्मकथा, काठमाडौँ; इन्दिगो इन्क प्रा.लि. ।
शर्मा, शारदा . (२०५३) . स्वर्णसूत्र, काठमाडौँ; नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
शर्मा, शारदा . (२०४९) . युद्धोपरान्त, काठमाडौँ; नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
सायमि, प्रतिसरा . (२०६३) . पाइलाहरूमै सडक, काठमाडौँ;, बगर फाउण्डेशन नेपाल ।
श्रेष्ठ, अनिल . (२०८१) . यो मन कहाँ दुख्छ, काठमाडौँ, भुँडी पुराण प्रकाशन ।
श्रेष्ठ, अनिल . (२०८०) . दो.सं. आरु फुलेको साँझ, बनेपाल जनमत प्रकाशत ।
पाण्डेय, ताराकान्त . (२०६८) . समय, सिर्जना र संवाद, काठमाडौँ, अर्थ प्रकाशन ।
त्रिपाठी, बासुदेव र अन्य . (२०४६) . नेपाली कविता (भाग ४), ललितपुर; साझा प्रकशन ।
दुःखी, हिरामणि . (२०७९) . “जनयुद्धमा सहिद भएका संस्कृतिकर्मी महिलाहरू”, इच्छुक वर्ष ९, अङ्क ९, पृ. १३७, काठमाडौँ; इच्छुक सांस्कृतिक प्रतिष्ठान ।
गिरी, अमर . (२०७९) . साहित्य र राजनीति, वेदना –वर्ष ४९, अङ्क १ र २, पूर्णाङ्क ७८, वैशाख असोज संयुक्ताङ्क) पृ. १२५





















