आज पनि नारीलाई कमजोर बनाउने दुई ओटा पक्ष छन् पहिलो पक्ष भनेको नारीभित्रको चेतना र दोस्रो पक्ष भनेको पुरुषको उपभोक्तावादी अहङ्कार हो । यस हिसाबले हेर्दा पुरुषलाई ठिक हिसाबले नेतृत्व गर्दा नारी सहयोगी वा सहयात्री बन्ने कुरामा कविको असहमति छैन भने पुरुष जब हिंसामा उत्रन्छ तब नारी आफ्नो सही रूप देखाउन बाध्य हुनै पर्दछ । विगतमा नारीहरूले धेरै सहेरभन्दा शोषणको सीमाले डाँडो काटेको हो भन्ने कुरा नै माथिको कवितांशले प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्यमा कविता विधामार्फत् समाजलाई सचेत तुल्याउने कविहरूको सूचीमा सुत्रा त्रिपाठी, कुन्ता शर्मा, सीता शर्मा, पञ्चकुमारी परियारहरू जस्तै राधिका कल्पितका वैचारिक स्वर पनि अलि आवेगी वा केही विद्रोही भावको देखिन्छ ।