काठमाडौं, २६ फागुन । नेपाल धितोपत्र बोर्डले थप १० संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ।
बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये १० संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।
प्राथमिक शेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले अंकित मूल्य १ सय रुपैयाँभन्दा बढीमा निष्कासन गर्न पाउने व्यवस्था (बुक बिल्डिङ) का लागि धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता छानेको हो ।
पछिल्लो पटक स्वीकृति पाउनेमा उषा इन्भेष्टमेन्ट प्रालि, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र गुडविल फाइनान्स रहेका छन् ।
यस्तै, युनाइटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर, बिशाल ग्रुप प्रालि, श्री गणेश प्रोपर्टिज एन्ड इन्भेष्टमेन्ट प्रालि, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र सिड इन्फ्रा प्रालि रहेका छ ।
योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ । यसअघि पनि बिभिन्न ६४ कम्पनीले यस्तो स्वीकृति पाएका थिए । अब उक्त कम्पनीहरु बुक बिल्डिङमा सहभागी हुन पाउने छ ।
यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।
खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ।
जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।
के हो बुक बिल्डिङ
बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।
यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।
प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।
बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।