अन्तर्राष्ट्रिय योग दिवस: के नेपालबाटै भएको थियो योगको सुरुवात ? योग गर्नुका फाइदा

फाइलफोटो

काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ। शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै सुरु भएको छ ।

सजिलो भाषामा भन्दा योग भनेको मनलाई शरीरसँग जोड्नु हो। मनलाई आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो।

यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो। विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो। हामी सबै मनुष्यभित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो।

संसारमा ८४ लाख प्रकारका जीवन छन्। जुन बेलामा आत्माहरूको सृष्टि भए, आत्मा शरीरमा गए, बन्धनमा भए। त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ। कर्मको विकारले आत्मा घेरिएको हुन्छ।

यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुला गराउने योग मात्र साधन हो। खुला भएको आत्मा नै परमात्मासँग गएर मिल्छ। वास्तवमा जीवनको उद्देश्य नै यही हो। त्यसैले ८४ लाखमध्ये मानिसको जुनी एक उत्कृष्ट अवसर हो।

योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो। त्यसैले योग भनेको जोडिनु हो।

शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन्। चिन्ता, मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन्।

योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो। योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष।

प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो। हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन्। हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रादुर्भाव भएको हो।

योगका प्रकार ?

शारीरिक अभ्यासहरूमा हठयोग र अष्टा‌गयोग धेरै प्रचलित छ। जसमा आसन र प्राणायामहरूको धेरै व्याख्या गरिएको छ।

जसले शरिर र मनलाई शुद्ध बनाएर ध्यानतिर लैजाने काम गर्छ। श्रीमद्भागवत गीतामामा भने १८ प्रकारको योगको व्याख्या गरिएको छ। गीतामा १८ मध्ये प्रत्येक अध्याय एक–एक योगको नाममा समर्पण गरिएको छ।

त्यसैले १८ वटा योग त गीताले मात्र उल्लेख गरेको छ। अहिले हजारौं उपनिषद् छ भन्ने गरिन्छ। २१८ वटा उपनिषदमात्र लिखित प्रमाणमा छन्। ३२ वटा उपनिषदले योगबारे व्याख्या गरेका छन्।

त्यसैले सामान्य मानिसले चिन्ने भनेको अष्टा‌‌ङ्ग योग, ज्ञान योग,कर्म योग, भक्ति योग, सन्यास योग, कुण्डलिनी योग, कर्मसन्यास योग लागायतका योग छन्। तर हाम्रो समाजमा अहिले मानिसले चिन्ने योग भनेको आसन योग हो। तर यो वास्तवमा योग होइन।

अष्टांग योगमा आठ वटा अंग हुन्छन्। यम, सामाजिक अनुशासन नियम व्यक्तिगत अनुसशासन आशन शारीरिक अनुशासन प्राणायम प्राण शक्तिलाई नियन्त्रण गर्नु अर्को हो।

प्रत्याहार जसले हाम्रो शरीरमा रहेका ज्ञानेन्द्रीयहरूलाई बाहिर जानबाट रोक्छ। जसले हाम्रो मनलाई भित्रै राख्न सकोस्। अर्को हो धारणा, ध्यान र समाधि यो अष्टांग योग हो। आधुनिक समाजमा चलेको योग भनेको बिहान बेलुका घर वा योगशालामा गएर गरिने आसन नै योग हो

पतञ्जलि योग सूत्रको संक्षेप

१ यम
२ नियम
३ आसन
४ प्राणायाम
५ प्रत्याहार
६ धारणा
७ ध्यान
८ समाधि

योगको आवश्यकता

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् ।

योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।

व्यायामले शरिरका अंगहरुमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढउन मद्धत गर्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ हुन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, समयमा पहिचान र रोकथाम गर्न समेत सहयोग गर्छ। यस अर्थमा योग सबैका लागि उपयोगि छ । योगलाई उपयोग गरेर सबैका लागि सहयोगी बन्ने भएकाले पनि योग आवश्यक छ ।

योगको उदगम स्थल

योगको उत्पत्ति नेपाली भुमिमै भएको विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णनमा उल्लेख भएको पाइन्छ ।

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्रािष्ट्रय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ ।

भगवान गौतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा याबेग अभ्यास गरेका तथ्यहरु बिभिन्न पुस्तकमा पाइन्छ ।

योग गर्नुका फाइदा

यस्ता छन् योगका फाइदा योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ। तर सही तरिकाले नगरिए फाइदाभन्दा बेफाइदा बढी गर्छ। उपयुक्त तरिकाले योग गरे सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ।

प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ।

नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने (ब्याक पेन)को समस्या कम गर्छ। महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेटभित्रको बच्चालाई समेत फाइदा हुन्छ। तीन चार वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ।

-विभिन्न खोजसामग्रीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here