– काशीराम शर्मा । काठमाडौं, २ साउन । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा प्रवेश ग¥यो ।
भैरहवामा छड उद्योग चलाइरहेको अम्बे समूहले त्यहाँको प्लान्टभन्दा ठूलो क्षमताको अम्बे स्टील उद्योग जानकी गाउँपालिकामै स्थापना ग¥यो । यस उद्योगको पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने उत्पादनको तयारी भइरहेको छ । रु ३ अर्ब लगानीमा बनेको छड उद्योग पश्चिम नेपालकै सबैभन्दा ठूलो हो ।
विगत साढे दुई दशकदेखि खानेपानीका ट्याङ्की उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इण्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुरबाट पनि ट्याङ्की उत्पादन थाल्ने भएको छ । कोहलपुर नगरपालिकाको पिपरीमा १४ कट्ठा जमीन लिएर उसले पूर्वाधार निर्माणको काम शुरु गरिसकेको छ ।
वासुदेवपुरमा पाँच तारे होटल सोल्टी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ भने देशकै सबैभन्दा ठूलो भाटभटेनी सुपरमार्केट सन् २०१९ भित्रै नेपालगञ्जको कारकाँदोमा सञ्चालन हुने तयारीमा छ ।
अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठूला औद्योगिक समूहको आकर्षण बढेको यी तथ्यले पुष्टि गर्छन् ।
राज्यको पुनःसंरचनासँगै बाँकेले प्रशासनिक र राजनीतिक शक्ति गुमाएको छ तर, पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा ऊ छ । पूर्वमा मात्र केन्द्रित उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरतापछि देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको प्रत्यक्ष फाइदा बाँकेलाई पनि मिलेको छ ।
राजनीतिक स्थिरतासँगै बाँकेमा ठूला उद्योग सञ्चालनको सङ्ख्या बढ्दैछ । बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै रहेको पाइन्छ । यो गाउँपालिका नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमै लहरै उद्योगहरु स्थापना भएका छन् ।
ठूला उद्योग स्थापना हुन थालेपछि बाँके लगानीका लागि अब्बल क्षेत्र हो भन्ने सन्देश देशभर प्रवाह भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउछन् ।
द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनःस्थापना भएको र नयाँ स्थापना हुने क्रम तीव्ररुपमा बढेको उनको बुझाइ छ ।
स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र ऊर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ, बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ श्रेष्ठ भन्छन् ।
बाँके जिल्ला लगानीकर्ताका लागि आफैंमा ‘सुनौलो’ ठाउँ भएको श्रेष्ठको भनाइ छ ।
राजनीतिक अस्थिरता र ऊर्जालगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वार बाँके भएकाले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए ।
‘अहिले अवस्था सुध्रिएको छ, एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने – ‘यो वातावरणलाई सधैं यस्तै बनाइराख्न जरुरी छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमीन नपाइने मात्र नभई महङ्गो पर्ने भएकाले अधिकाँश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ । नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा शहर दुर्गन्धित हुने भयले पनि उद्योगीहरुले जानकीलाई रोज्ने गरेको केन्द्रीय सदस्य श्रेष्ठले बताए ।
यहाँ उद्योग सञ्चालन गर्दा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान ढुवानीसँगै कारोबारमा सजिलो हुने भएका कारण उद्योगी व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको हो ।
‘शहरभन्दा यहाँ जग्गा सस्तो छ, त्यही भएर पनि यहाँ उद्योगीको आकर्षण छ,’ श्रेष्ठले भने ।
जानकी गाउँपालिका औद्योगिक ‘हब’को रुपमा विकास भइरहेको छ । ‘अहिले अवस्था सुध्रिएको छ, गनापुर क्षेत्रमा ठूला उद्योग खुल्ने क्रम तीव्र छ,’ श्रेष्ठले भने – ‘अब ठूला लगानीकर्तालाई बाँके नआएर सुखै छैन ।’
यहाँ सिमेन्ट, आइरन, खाद्य, ईंटा, जडीबुटी, रोजिन एण्ड टर्पेन्टाइन, औषधिजस्ता ठूला उद्योगहरु सञ्चालनमा छन् ।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै ३० वटा उद्योग मात्र सञ्चालनमा रहेका बेला जानकी गाउँपालिकाको गनापुरमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत र निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योगहरु सञ्चालनमा छन् ।
वडा ६ कार्यालय गनापुरका अनुसार ६३ उद्योगमध्ये ६ वटा उद्योग बन्द छन् । पाँच उद्योग सञ्चालनको क्रममा छन् ।
यहाँ जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीको शोरुम पनि जानकी गाउँपालिकामै छन् ।
धान र मसुरो प्रशोधन तथा बीउविजन उत्पादन केन्द्र, ठूला तथा नाम चलेका होटल पनि जानकी गाउँपालिकाले पाएको छ ।
‘जानकी गाउँपालिका औद्यागिक क्षेत्रको ‘हब’को रुपमा विकास भएको छ,’ गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने । त्यसमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिका–६, गनापुरमा मात्र ६३ वटा उद्योग सञ्चालनमा छन् ।
औद्योगिक क्षेत्र बनाउने सरकारको कुनै योजना नभए पनि यहाँ स्वतःस्फूर्त रुपमा लगानीकर्ताले उद्योग स्थापना गरिरहेको वडाध्यक्ष सुरेश यादवले बताए । उनले उद्योग सञ्चालनका लागि अनुमति लिन आउने उद्योगीको सङ्ख्या धेरै भएको जानकारी दिए ।
‘ठूल्ठूला उद्योगको आर्कषण छ, अझै उद्योगहरु थपिइरहेका छन्, सञ्चालनका लागि मापदण्ड पु¥याएर आएपछि अनुमति दिनैप¥यो,’ वडाध्यक्ष यादवले भने । पश्चिम नेपालमा एउटै वडामा यति धेरै सङ्ख्यामा उद्योग सञ्चालन भएको सम्भवतः यो एउटै मात्र वडा हो ।
आर्थिक वर्ष २०७४÷७५ मा बाँकेमा उद्योग सञ्चालनका लागि जयअम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाइक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोबाइल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएका छन् । अनुमति पाएका अधिकाँश उद्योग सञ्चालनमा छन् ।
बाँकेमा स्टील उद्योगको आकर्षण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्योगिक समूह जयअम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु ४ अर्ब १५ करोड चुक्ता पुँजीसहित उद्योग सञ्चालनको तयारी गरिरहेको छ ।
पूर्वाधार निर्माणको काम भइरहेको छ । त्यस्तै, सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २४ करोड चुक्ता पुँजीसहित उद्योग स्थापना गरेको छ ।
उद्योग विभागको दर्ता अनुसार नेपाल वेलहोप एग्रीटेक प्रालिको चितवनपछिको यहाँको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु २४ करोड लगानी गरी उद्योग सञ्चालनमा ल्याइसकेको छ ।
उक्त उद्योगले दानाहरु उत्पादन गर्दैआएको छ । बाँकेमा रु २४ करोड लगानीमा भिएमआई ग्रुप अन्तर्गत वर्षा रिसाइक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ भने विकास फ्लोर मिलले रु २ करोड ४५ लाख लगानी गरेको छ ।
भिभो मोबाइल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु ३० लाख लगानी गर्ने उद्देश्यसहित गत आर्थिक वर्षमा उद्योग विभागबाट दर्ता प्रमाणपत्र लिएको छ । विभागका अनुसार आव २०७३\७४ भन्दा आव २०७४\७५ मा बाँकेमा ठूला उद्योग स्थापनासँगै लगानीमा पनि तीव्र विस्तार भएको छ । आव २०७३\७४ मा बाँकेमा चार वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमार्फत रु ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो ।
सङ्घीयतापछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ती दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने वस्तुको हिस्सा ओगट्न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नैपर्ने बाध्यता छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिकजसो हरेक उत्पादनको बजार क्षेत्र बढ्दै गएको छ ।
विकास निर्माण तीव्र रुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । ठूलो परिमाणमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग सञ्चालनका लागि रोजेको शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथ्राले बताए ।
पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिँदैछ ।
पूर्वमा उत्पादित सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानीमा धेरै खर्च पर्छ । यहीँ उद्योग खोलेर उत्पादन गर्दा दीर्घकालीन रुपमा फाइदा हुने भएपछि उद्योगीहरु बाँकेमा उद्योग स्थापना गर्न तम्सिएको उनको बुझाइ छ ।
उनले भने – ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहज रुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने – ‘अन्य ठाउँभन्दा सहज रुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’
भारतसँग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकाले पनि बाँकेलाई उद्योगीले रोज्न थालेका हुन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल सञ्चालनमा आए त्यसले आयात–निर्यातमा समेत फाइदा पुग्छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राख्दै सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।(रासस)