उतारचढावकाबीच डलर भन्दा सस्तो बन्यो यूरो

काठमाडौं, २१ भदौं । यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसारमंगलवार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ २७ पैसा कायम भएको छ । अर्कोतर्फ, अमेरिकी डलरको भाउ भने १२७ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार यूरोको खरिददर भने १२६ रुपैयाँ ६७ पैसा र डलरको खरिददर १२७ रुपैयाँ ४६ पैसा रहेको छ ।

पछिल्लो केही समययता युरो र डलरको भाउबीच उतारचढाव देखिएको छ ।

१ साउन २०६५ मा डलरको अनुपातको यूरो सबैभन्दा महँगो भएको थियो । त्यसबेला डलरको भाउ ६९ रुपैयाँ थियो भने युरोको विनिमयदर १११ रुपैयाँ पुगेको थियो । २०५६ पुसदेखि २०५९ मंसिरसम्ममात्रै यूरोको भाउ डलरभन्दा सस्तो भएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा र सिंगापुर डलर एकको खरिदमा ९० रुपैयाँ ७९ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९ रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली बसिरहेका छन् । यूरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा असर पर्नेछ ।

त्यसको सोझो प्रभाव रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रमा पर्न जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here