–जनक श्रेष्ठ
पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना ग्रामीण पर्यटकीय क्ब्होलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरवासमा दैनिक ३०० भन्दा बढी पर्यटक आउने गर्दथे । बर्खायाम शुरु भएसँगै पर्यटकको सङ्ख्यामा निकै कमी आएको घलेगाउँ घरवासका व्यवस्थापक समितिका सचिव उमलबहादुर विकले बताए।
असारको मसान्तसम्म दैनिक १०/१२ जना पर्यटक आए पनि साउनदेखि त मुस्किलले एक/दुई जना मात्रै आएको उनले बताए । समितिका अनुसार घरवासमा पर्यटक नअट्ने गरी आउने घलेगाउँ घरवासमा बर्खायाममा भने पर्यटकहरु निकै न्यून भएपछि घरवास सञ्चालकहरु फुर्सदमा छन् । घरवास कार्यक्रममै फुर्सद नहुने घलेगाउँ घरवासका सञ्चालक यतिबेला पर्यटक नआएपछि धानको बीउ रोपिसकेर बारीमा तरकारी तथा फलफूल लगाउनेलगायतका काममा व्यस्त भएका छन् ।
शहरदेखि घरवाससम्म आउने सडक गुणस्तरीय नहुँदा, बर्खायाममा बढी वर्षा हुने, यात्रा कठिन हुने साथै विभिन्न समस्या पर्यटकलाई हुने भएकाले पर्यटकहरु बर्खालागेसँगै घट्दै गएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । यहाँका घरवासमा अब आगामी असोज महीनाबाट मात्रै पर्यटकको आगमन हुन थाल्ने उनको भनाइ छ ।
नेपालकै दोस्रो तथा जिल्लाकै पहिलो घलेगाउँ घरवास कार्यक्रम (घरवास) विसं २०५७ बाट शुरु भयो । समुद्री सतहबाट दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण आदिवासी जनजातिमध्ये तमु (गुरुङ)हरुको उद्गमस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घलेगाउँ ।
यहाँ ३२ दलित र ९३ घर गुरुङको गरी १२५ घरधुरीका स्थानीयको बसोबास रहेको घले (गुरुङ) दलित समुदायले घरवास सञ्चालनमा ल्याएका छन् । दुई घरवास दलितको र ३२ गुरुङ समुदायले सञ्चालन गरेको गरी ३४ घरवास रहेको छ ।
लमजुङ दरबार नजिकै रहेको बेँसीशहर नगरपालिका–३ काउलेपानी घरवास घरवासमा समेत पर्यटक आगमनमा निकै कम भएको छ । दैनिक १०० देखि ३०० सम्म पर्यटक आउने गरेता पनि वर्षायामसँगै कमी आएको ग्रामीण काउलेपानी घरवास व्यवस्थापन समितिले जनाएको छ ।
यतिबेला कहिलेकाहीँ चार/पाँच जना पर्यटक आउने गरेको उक्त समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । उनी भन्छन् , ‘वर्षायाममा काउलेपानीसम्म आउने बाटो व्यवस्थित हुन नसक्दा पर्यटकको सङ्ख्या घट्नु मुख्य कारण भएको हो ।’
नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोबास रहेको काउलेपानीमा २५ घरधुरी रहेको छ । सो घरधुरीमध्ये १५ घरमा घरवास सञ्चालन गरिएको छ ।
समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको हो । उक्त काउलेपानी घरवासलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट घरवास घोषणा गरेको थियो । पर्यटन मन्त्रालयले कालेपानी घरवासलाई सन् २०१६ मा नेपालको उत्कृष्ट घरवासमध्ये एक उत्कृष्ट कालेपानी घरवासको रुपमा छनोट गरेको थियो ।
सन् २०१६ मै कालेपानीलाई खाद्य तथा गुण नियन्त्रण विभागले स्वच्छ र अग्र्यानिक भएको भन्दै नगद रु १० हजारसहित पुरस्कार प्रदान गरेको थियो । सोही वर्ष नेपाल सरकारको स्वाथ्य तथा जनसङ्ख्या वातावरण मन्त्रालयले काउलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री घरवास घोषणासमेत गरिसकेको छ । यहाँबाट शाहवंशले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीय स्थलहरु देख्न सकिन्छ ।
त्यस्तै सुन्दरबजार नगरपालिका–११ स्थित तुर्लुङकोट घरवासमा असार लागेसँगै हालसम्म एक जना पनि पर्यटक नआएको घरवास सञ्चालक सिजन दुराले बताइन् । जिल्लामा राइनास घरवास, सिउरुङ घरवास, नरुवाल मगरगाउँ घरवास, भुस्मे तामाङ घरवासलगायत दर्जना्ैँ घरवास सञ्चालित छन् ।
बर्खायाम शुरु भएदेखि नै घरवास एवं घरवासमा आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाएका परिवारलाई भने समस्या भएको छ । वर्षायामका तीन महीना पर्यटकको गतिविधि शून्यप्रायः रहने भएकाले कतिपयले वैकल्पिक पेशा अङ्गाल्न थालेका छन् । (रासस)