नयाँ विशेषता सहित ‘सेलपे’ सञ्चालनमा, बैंक खातामार्फत सिधै कारोबार गर्न सकिने

काठमाडौं १५, साउन । विद्युतीय भुक्तानीको बजारमा नयाँ कम्पनीको रुपमा ‘सेलपे’ सञ्चालनमा आएको छ ।

कम्पनीले मंगलबार देखि सेवा सुरु गरेको हो । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले यसको औपचारिक उदघाटन गरेका हुन ।

हाल सञ्चालनमा रहेका विद्युतीय भुक्तानी सेवामा वालेटमा पैसा जम्मा गर्नुपर्छ । तर, सेलपेमा त्यसो गर्नु पर्दैन । बैंक खातासँग जोडेपछि सिधै कारोबार गर्न सकिन्छ । आफ्नो बैंक खातामा रहेको पैसा सेलपेलको माध्यमबाट भुक्तानी गर्न सकिने सेलपेका अध्यक्ष दीपक मह्लोत्राले जानकारी दिए ।

अहिले भएका वालेटमा पैसा राख्दा ग्राहकको पैसाको व्याज आउँदैन । निब्र्याजी पैसा वालेटमा राख्नुपर्छ । तर, सेलपेमा कुनै पैसा जम्मा पनि गर्नु नपर्ने तथा आफ्नो पैसाको ब्याज समेत आउने कम्पनीले बताएको छ ।

यो कम्पनी सञ्चालनमा आउनुअघि १४ ओटा बैंकसँग कारोबारका लागि सम्झौता गरिसकेको छ । सेलपेबाट फन्ड ट्रान्सफर कारोबार गर्दा सेवाग्राहीले अन्य ई–पेमेन्ट गेटवेमा जस्तो बारम्बार आफ्नो बैकिङ खाता नम्बर उल्लेख गर्नु पर्दैन । एक पटक केवाईसी फाराम भर्दा सम्पूर्ण बैकिङ विवरण उपलब्ध गराएपछि सेवाग्राहीको फोन नम्बर र सेलपेसँग रहेको बैकिङ विवरणबाटै सम्पूर्ण कारोबार सम्भव हुन्छ ।

सेलपे एप प्रयोगकर्ताले आफ्नो जुनसुकै बैंक खाता चयन गरेर प्रापकलाई पैसा पठाउन सक्छन् । यसमा अन्य ई–पेमेन्टमा जस्तो प्रापक सम्बन्धित ई–पेमेन्ट सेवामा दर्ता हुनुपर्दैन । सेलपेबाट कारोबार गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवैतर्फ सेलपेका साझेदार बैंकहरुसँगै सेलपेमा पनि दर्ता भएको हुनुपर्छ ।

बैकिङ कारोबारको हकमा पठाउने व्यक्तिले जुनसुकै बैकिङ खाता चलाए पनि प्राप्त गर्ने व्यक्तिले एउटा खाता चयन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । सेलपेबाट विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेट, रेस्टुरेन्ट, सिनेमा हलमा महशुल भुक्तानी गर्न सकिन्छ ।

एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण गर्न मिल्ने, स्वदेशभित्र गरिने मनि ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बिटुबी, बीटुजीजस्ता वास्तविक समयमा कार्य गर्ने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेव एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने कम्पनीे जनाएको छ ।

हालसम्म राष्ट्र बैंकले आईएमई डिजिटल सोलुसन, ईसेवा, सेलकम, सीजी पे, स्प्यारोपेलगायत कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनुमति दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here