यसरी हुँदैछ उपत्यका जाम मुक्त !

काठमाडौं, २ माघ । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या बेला बेलामा भइरहने जुलुस र र्‍यालीका कारण ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।

प्रविधिको अभाव ,सिमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी नै चुनौतिका रुपमा देखिएको छ ।

त्यसको निवारणको लागि सरकारले ट्राफिक व्यवस्थापनको लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ । ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा उपत्यकामा सर्वसाधारणले सास्ती खेप्नु परेपछि सरकारले अल्पकालीन योजना ल्याएको हो।

योजना अन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ ।

उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।

कार्ययोजनामा पेट्रोल पम्प सार्ने, ट्राफिक बत्तीको मर्मत तथा नयाँ जडान गर्ने, पेडेस्ट्रिअन लाइट, खाल्टाखुल्टी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी करिडोरको निर्माणमा तीव्रता दिने, जथाभावी होर्डिङ बोर्ड र पोल हटाउने, सार्वजनिक सवारी साधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने विषयलाई समेटिएको छ ।

त्यस्तै युटर्न गर्न नदिने, वान वे बढाउने, फुटपाथ व्यवस्थापन गर्ने, रेलिङ निर्माण गर्ने, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण गर्ने, सडक लेनको मार्किङ गर्ने, सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान तथा मर्मत गर्ने, ओभर हेड ब्रिज निर्माण गर्नेलगायतका विषयलाई समेटिएको छ ।

कोटेश्वर–जडिबुटी सडकको खाली ठाउँमा सर्भिस लेन

सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन सहज गराउन भन्दै कोटेश्वरको जाम हटाउने र काठमाडौं उपत्यकाका नदी करिडोर व्यवस्थित गर्ने कार्ययोजना पनि ल्याएको छ ।

कार्ययोजनाअनुसार कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बायाँतिरको खाली ठाउँमा सर्भिस लेन वैशाखभित्र विस्तार गर्ने, जडिबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई हटाउने, जडिबुटी चोकबाट निर्माणाधीन मनोहरा पुलसम्म जान दुवैतर्फ सर्भिस लेन विस्तार गर्ने तथा कोटेश्वर चोकको उपयुक्त स्थानमा अकासेपुल निर्माण गर्ने योजना समेटिएका छन् ।

करिडोर व्यवस्थित र निर्माणलाई तीव्रता

सरकारले व्यवस्थित र निर्माणलाई तीव्रता दिने भएको छ । विष्णुमती करिडोर, बाग्मती करिडोर, धोबीखोला करिडोर र मनोहरा करिडोरलाई व्यवस्थित र निर्माणलाई तीव्रता दिन जोड दिएको छ ।

गंगबु बसपार्कस्थित विष्णुमती पुलबाट बालाजु जोड्ने कार्ययोजनालाई तीव्रता दिएको छ । बागमती, धोबीखोला, मनोहर करिडोर् व्यवस्थित गर्ने कार्ययोजना सार्वजनिक गरेको छ ।

पोर्टेबल ओभरहेड ब्रिज निर्माण

पैदल यात्रुलाई बाटो काट्न सहज होस् र सवारी आवागमनलाई बाधा नपरोस् भनी सरकारले काठमाडौं उपत्यकाका थप ११ ठाउँमा पोर्टेबल ओभरहेड ब्रिज (आकाशे पुल) निर्माण गर्ने योजना बनाएको छ।

सरकारले बनाएको कार्ययोजना अनुसार कोटेश्वर चोक, भिएस निकेतन स्कुलअगाडि (नयाँ बानेश्वर), निजामती अस्पतालअगाडि (नयाँ बानेश्वर), नयाँ बानेश्वर चोक आसपास, काठमाडौं जिल्ला अदालत आसपास (बबरमहल), राष्ट्रिय अभिलेखालय अगाडि (रामशाहपथ), वल्र्ड ट्रेड सेन्टर अगाडि (त्रिपुरेश्वर), कालिमाटी चोक, एयरपोर्ट चोक, थापाथली चोक र चावहिल चोकमा पोर्टेबल ओभरहेड ब्रिज निर्माण गरिनेछ । पुल निर्माण कार्य असार मसान्तभित्र सक्नुपर्ने समयसीमा तोकिएको छ ।

५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध

सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न सरकारले ट्राफिक जाम बढी हुने ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध गर्ने योजना लिएको छ भने १० ठाउँलाई वान वे बनाएको छ ।

अन्डरपास खुलेका सबै पुलमाथि ‘राइट टर्न’ गर्न निषेध गर्ने कार्ययोजनामा उल्लेख छ । यस्तै, सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न थप १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसीक्यामरा जडान गर्ने योजनासमेत लिएको छ ।

सरकारले काठमाडौं उपत्यकाका थप ११ ठाउँमा पोर्टेबल ओभरहेड ब्रिज (अकासे पुल) निर्माण गर्ने योजना पनि बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here