बैंकमा सुन राखेर ब्याज पाइने नीतिगत व्यवस्था, फाइदा के ?

काठमाडौं, २२ फागुन । नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा लिने कार्यलाई मूर्तरुप दिन क, ख र ग बर्गका इजाजत पत्र बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ ।

एकीकृत निर्देशनमा जनाए अनुसार बैंकमा पैसा राखे जस्तै गरी सुन पनि निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको हो ।

यसरी सुन निक्षेप लिने बैंकले सो निर्णय भएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्नेछ ।

निक्षेपमा राख्नका लागि न्यूनतम २५ ग्राम परिमाण हुनु पर्ने राष्ट बैंकले जनाएको छ ।

साथै बैंकमा राख्ने सुन निक्षेपको अवधि कम्तिमा ३ वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्नेसमेत राष्ट बैंकले उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमै समावेस गरेको विषायलाइ कार्यान्वयन गर्न राष्टबैंकले उक्त सर्कुलर जारी गरेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै सुन पनि पैसा जसरी नै व्याज दिएर निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था गर्न भनेको छ । यसरी सुन निक्षेप लिँदा कम्तिमा ९९५ फिटनेसको सुन मात्रै लिन राष्ट्र बैंकले भनेको छ । ९९५ फिटनेससम्मको सुन भनेको छापावाल वा २४ क्यारेटको सुन मात्रै हो ।

बैंकले निक्षेपको रुपमा प्राप्त भएको सुनलाई आफ्नो ढुकुटीमा दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटीभित्र राख्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले भनेको छ ।

बाणिज्य बैंकहरुले निक्षेपको रुपमा प्राप्त सुनलाई ढुकुटी दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटी भित्र राख्ने व्यवस्था गर्नुपर्नेछ । ढुकुटी सुरक्षाकालागि सिसिटिभि क्यामरा, स्ट्रंग रुम, दोहोरो चाबी लगायत आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ निर्देशिकामा उल्लेख छ।

त्यस्तै, न्यूनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपका रुपमा राख्न सकिने छ। निक्षेपकर्ताले सुन निक्षेप राख्न आएमा प्राप्त सुनलाई तोकिएको शाखामा जाँच गराई शुद्धता तथा तौल यकिन गरी प्रमाण पत्र दिनुपर्नेछ ।

बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकलाई सुन निक्षेप लिदाँका बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने सो को यकिन गराउनुपर्नेछ। ।

निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुनलाई यस बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने सिआरआर तथा एसएलआरमा गणना गर्न सकिनेछ । यस प्रयोजनको लागिको अधिकतम २५ प्रतिशतसम्म मात्र सुन निक्षेपको रुपमा गणना गर्न सकिनेछ।

सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सकिनेछ। यस्तो कर्जाको व्याजदर बैकले सुन निक्षेपमा दिइएको व्याजदरमा २ प्रतिशतसम्म थप गरी तोक्न सक्ने छन्।

अहिले नेपालमा बैंकहरूले नगदलाई मात्रै निक्षेपका रूपमा स्वीकार गर्दै आएका छन्। अब सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सहयोग पुग्ने जानकार बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here