नेप्सेको अनलाइन प्रयोगकर्ताको संख्या ४७ हजार नाघ्यो, रोजाईमा कुन ब्रोकर ?

काठमाडौं, २० साउन । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा ल्याएको दुईवर्ष पूरा हुन लागेपनि लगानीकर्ताको आकर्षण भने बढेको छैन् ।

अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि अझैपनि २ लाख १७ हजार ६ सय ७ कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका छन् ।

नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार नेप्सेको अनुसार पुँजी बजारमा सक्रिय २ लाख ६४ हजार ६३३ जना लगानीकर्तामा ४७ हजार २६ जना मात्रै अनलाईन प्रणाली मार्फत कारोबार गर्ने गरेका छन् ।

अन्य लगानीकर्ताले ब्रोकरबाटै कारोबार गर्ने गरेको तथ्यांकले देखाएको छ ।

घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि सहज रुपमा कारोवार गर्न सकिने पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा पछिल्ला ८ महिनाको अवधिमा भने अनलाइन प्रयोगकर्ता करिब दोब्बरले बढेको छन् ।

गत मंसिरसम्म करिब १६ हजार रहेको अनलाइन प्रयोगकर्ताको संख्या साउन १६ गतेसम्म आइपुग्दा ४७ हजार २६ पुगेको छ ।

यो अवधिमा ४७ हजार मात्रै सहभागी हुनु भनेको यसलाई उल्लेख्य मान्न नसकिने जानकारहरुको भनाइ छ ।

नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् ।

अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको छ ।

बेला बेलामा नेप्सेको अनलाईनमा समस्या आउनु, अपेक्षा अनुसार बजारले गति लिन नसक्नु जस्ता कारणहरु पनि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको बाधकको रुपमा देखिएको छ ।

लगानीकर्ताको रोजाईमा कुन ब्रोकर

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये एउटामात्र ब्रोकरमा अनलाइन प्रयोगकर्ताको सङ्ख्या ३ हजारभन्दा बढी रहेको छ । यस्तै ५ वटा ब्रोकरमा अनलाइन प्रयोगकर्ताको संख्या २ हजारभन्दा बढी रहेका छन् भने १३ वटा ब्रोकरमा १ हजारभन्दा बढि रहेका छन् ।

नेप्सेका अनुसार सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता सनी सेक्युरिटिजको छ । सनीबाट ३ हजार २३९ जनाले अनलाइन सेवा लिएका छन् ।

यस्तै धेरै अनलाइन सेवा विस्तार गर्ने ब्रोकरमा नाशा सेक्युरिटिज २ हजार ८८४, भिजन सेक्युरिटिज २ हजार ७७९, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज २ हजार ५१६, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट २ हजार १७६ जनाले यो सेवा लिएका छन् ।

सबैभन्दा थोरै अनलाइन सेवा लगानीकर्तालाई दिने ब्रोकरमा सगरमाथा सेक्यूरिटिज छ । सगरमाथाले जम्मा १३८ जनालाई मात्रै यो सेवा दिएको नेप्सेको तथ्याङकमा उल्लेख छ ।

अर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा अनलाइन प्रणाली उद्घाटन गरेका थिए ।

पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो ।

नेप्से परिसूचक ७.५९ अंकले बढ्यो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here