हरितालिका तीज: ख्याल गर्नुहोस् ! दरमा के-खाने, के-नखाने ?

काठमाडौं । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धादशीदेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँउमा पनि मनाइन्छ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ।

महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाने चलन छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ ।

विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ ।

यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ ।

आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको छ ।

धार्मिक पृष्ठभूमी

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।


सामजिक पृष्ठभूमी

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ।

यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ।

तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्।

ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।

दरमा के–खाने, के–नखाने ?

दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ ।

अखाद्य रङ तथा केमिसकल मिसिएका मिठाईले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङलगायत समस्या ल्याउँछन् ।

दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु र व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकताअनुसार फलफूल र पानी खानु राम्रो हुन्छ ।

ब्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने । धेरै खानु हुँदैन थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ ।

व्रतमा फलफूल खानैपर्छ

मानिसलाई दैनिक दुई हजारभन्दा बढी क्यालोरी शक्ति चाहिन्छ । उक्त शक्ति खानाबाट प्राप्त हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन ।

यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ । खाना नखाँदा उक्त शक्ति प्राप्त गर्न नसक्ने भएकाले शरिर कमजोर हुँदै समस्या निम्तिन्छ ।

त्यसकारण व्रतका दिनमा अन्न वा खाद्यान्न सेवन नगरे पनि फलफूल भने सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ ।

धेरै नखाने

नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो ।

खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ ।

स्वच्छ खाने

मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।

बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ ।

रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

भारी नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ ।

तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य विज्ञहरु बताउँछन् ।

तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञको सुझाव छ ।

शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा उनी सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ ।

मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ ।

त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

१. नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निरहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाइ व्रत बस्दा उनीहरुको ज्यान पनि जान सक्छ ।

२. यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन ।

३. शरीर कमजोर हुनेहरुले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरुले व्रत नबस्दा ठिक हुन्छ ।

४. तीजमा व्रत बसेका महिलाहरु मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाईनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

५. तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ ।

आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिंगटा लागेर वेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।

कस्ता महिला ब्रत नबस्ने ?

गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हुँदैन् ।

वृद्धावस्थाका र कमजोर शारिरीक अवस्था भएका महिलाले समेत सकेसम्म व्रत नबस्दा राम्रो हुन्छ । यदि बस्नैप-यो भने पनि फलफूल र पानी प्रशस्त मात्रामा खानुपर्छ ।

(विभिन्न खोज सामाग्री तथा विज्ञको सुझावको आधारमा तयार पारिएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here