किन सस्तिएन आलुको भाउ, गत वर्षको तुलनामा ५० प्रतिशत महँगो

काठमाडौं, २४ मंसिर । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारी आलुको भाउ गतवर्षको तुलनामा ५० प्रतिशतसम्म महँगो रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार बुधबार रातो आलुको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ र आलु रातो(भारतिय) प्रतिकेजी ६५ रुपैया रहेको छ ।

आलु सेतो भने किलोको ६० रुपैयाँ तोकिएको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ । खुद्रा बजारमा भने आलुको धार्नीको मूल्य २४० देखि ५० भन्दा पनि बढी छ ।

एकवर्ष अघि मंसिर २३ गते रातो आलु ४५ रुपैयाँ र आलु रातो (भारतीय) ४३ रुपैयाँ रहेको थियो ।

गत वर्षको तुलना गर्दा यस वर्ष लगभग ५० प्रतिशतले आलुको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको खुद्रा मूल्यको तथ्याङ्कले देखाउँछ।

यतिबेला काठमाडौं उपत्यकामा आपूर्ति हुने नेपाली आलुमध्ये पाँचखाल, साँखु, मुडे, नुवाकोट लगायत क्षेत्रमा उत्पादन समय हो । उत्पादनको बेलामा पनि आलुको मूल्य भने मंहगो नै रहेको छ ।

यो वर्ष आलु नसस्तिनुमा भारतबाट आउने आलु प्रमुख कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए ।

नेपाली आलुको मूल्य निर्धारण भारतीय आलुको मूल्यका आधारमा हुँदै आएको छ, यस पटक भारतीय आलु कमै मात्रमा आएको, नेपाली आलुको सिजन नै रहेकाले आलुको भाउ घट्ने क्रममा चाँही रहेको छ, तर अपेक्षित रुपमा चाँही घट्न नसकेकै हो उनले क्लाउड पत्रिकासँग भने ।

नेपाली उत्पादनले मात्रै बजार नधान्ने भएकोले नेपालीको भन्दा कम मूल्यमा भारतीय आलुको आपूर्ति हुने गरेको छ । तर, यो वर्ष भारतीय आलुको मूल्य घटेर आएन । भारतमै आलु महँगो भएका कारण यो वर्ष मूल्य सस्तो हुन नसकेको श्रेष्ठले बताए । यसैको प्रभावले नेपाली आलुको मूल्य समेत घट्न नसकेको उनको भनाइ छ ।

नाफाको अधिकार १० देखि १५ प्रतिशत मात्रै

खुद्रा व्यापारीलाई होलसेलसँग किनेको मूल्यमा १० देखि १५ प्रतिशतसम्म नाफा खाएर बेच्ने अधिकार भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । ‘खुद्रा व्यापारीलाई होलसेलसँग किनेको मूल्यमा १० देखि १५ प्रतिशतसम्म नाफा खाएर बेच्ने अधिकार छ’ उनले भने ‘त्यो भन्दा धेरै नाफा खाएमा गैरकानूनी हुन्छ ।’ तर खुद्रामा भने व्यापारीहरुले शतप्रतिशतसम्म नाफा खाने गरेका छन् ।

अनुगमन र कारबाही गर्ने काम वाणिज्य तथा आपुर्ति मन्त्रालयको होः समिति

तरकारीमा भएको मूल्यवृद्धि र मनपरीमा अनुगमन र कारबाही गर्ने काम वाणिज्य तथा आपूर्ति मन्त्रालयको भएको प्रवत्ता श्रेष्ठ बताउँछन् । ‘मूल्य वृद्धिको अनुगमन र कारबाही गर्ने काम वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो,’ उनले भने, ‘यसमा हाम्रो भूमिका उसको सहयोगीको मात्र हुन्छ ।’

हुन त कालीमाटीमा यसरी चर्को मूल्य असुल्ने ब्यापारीहरुलाई कारबाही नभएको भने होइन । ‘मनपरी मूल्य राखेको विषयमा पहिले पनि कारबाही भैसकेको छ’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here