थामपाखाबाट प्याराग्लाइडिङ, हिमाल हेर्दै त्रिशुली किनारमा ल्याण्डिङ

गोरखा, १४ साउन । संघीय राजधानी काठमाडौंबाट ७० किलोमिटर पश्चिम, पर्यटकीय नगरी पोखराबाट १ सय १७ किमि र नारायणगढबाट ७२ किमि पूर्वमा पर्छः धादिङको बेनीघाट बजार ।

बेनीघाटको पुल तर्नासाथ पुगिन्छ, गोरखाको सिउरेनीटार र त्यहाँबाट करीब ७ किमि भित्र कच्ची बाटो हिंडेपछी आइपुग्छ – रमणीय थामपाखा भन्ज्याङ् ।

प्रकृतिसँग रमाउनेहरुका लागि अहिले नै आकर्षक थामपाखालाई भविष्यमा एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नाउने योजनामा काम शुरु भएको छ । thampakha

सहरको कोलाहालबाट पर प्रकृतिसँग रमाउनेहरु लाई लक्षित गर्दै थामपाखालाई पर्यटकीय स्थल बनाउन लागिएको थामपाखा डाँडा संरक्षण समितिका संयोजक भूमीप्रसाद रेग्मी बताउँछन् ।

थामपाखा वरपरको जंगलमा थाकल, डुम्री, अमला, भलायो बेलजस्ता जंगली फलफुल प्रशस्त पाउन सकिन्छ भने बाघ, स्याल दुम्सीलगायत जंगली जनावरको अवलोकन गर्न पनि सकिन्छ ।

साथै सुगा, तित्रा, वनकुखुरा, जुरेलीलगायत चराको अवलोकन गर्न सकिन्छ । ‘थामपाखाको विशेषता भनेकै प्राकृतिलाई नजिकबाट नियाल्न पाउनु हो,’ संयोजक रेग्मीले बताए । त्यसो त थामपाखा डाँडाबाट देखिने गणेश हिमालको दृष्यले थप रोमाञ्चकता दिन्छ ।

किन जाने थामपाखा डाँडा ?

अहिले बनभोजस्थलको रुपमा चर्चित थामपाखामा प्याराग्लाइडिङका लागि तयारी चलिरहेको छ । थामपाखा डाडाबाट प्याराग्लाइडिङमार्फत गोरखा र धादिङका रमणीय दृष्यका साथै हिमाली चुचुराहरुको अवलोकन गर्दै त्रिशुली किनारमा झर्न सकिन्छ ।

प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको हरेक दृष्टिकोणले उपयुक्त ठहरिएको रेग्मी बताउँछन् ।

यहाँ अहिले पिकनिक स्पटका लागि पूर्वाधार बनिसकेको छ भने निकट भविष्यमै मन्दिर निर्माण गर्ने तयारी समितिको छ । त्यस्तै नेपाली कलाकौशल झल्काउने ससाना कटेज पनि बनाईंदै छ । त्यसैगरी गौंथलीको गुँड र पिङ तथा बस्नका लागी झुपडीहरु बनाउने योजना छ ।

पृथ्वी राजमार्गको नजिकै र काठमाडौ पोखरा तथा चितवनको बिचमा भएकोले थामपाखा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उनको विश्वास छ ।

त्यस्तै त्रिशुली नदिमा र्याफ्टीङ गर्न आउने पर्यटकलाई पनि यस डाँडाले आकर्षित गर्न सक्छ । त्यस्तै यहाँबाट घ्याल्चोकको मास, मुन्थालाको सुन्तला, अर्गानीक तरकारी, केरा, अम्बालागायत कोसेली लैजान सक्नुहुनेछ ।

थामापाखामा पानीको राम्रो व्यवस्था छ । त्यस्तै विजुलीका लागी पोलहरु गाडिइसकेको छ ।

बेनीघाट वा चरौंदीबाट भन्ज्याङसम्म गाडीमा र त्यहाबाट सिँढी चढेर थामपाखा पिकनिक स्पटमा पुग्न सकिन्छ । त्यस्तै हाइकिङ गर्न चाहनेहरु करीब ५० मिनेटमा भन्ज्याङ पुग्न सक्नेछन् ।

हाल थामपाखा डाँडामा मन्दिर निर्माणार्थ सहयोग संकलन कार्य भइरहेको रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here