‘स्मार्ट लकडाउन’ कार्यविधि लागू, निषेधाज्ञा अब नयाँ ढाँचामा

काठमाडौं, ३ भदौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउनको कार्यविधि लागू गरेको छ ।

सीसीएमसीले रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने गरि लागू गरेको कार्यविधि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कार्यान्यन सर्कुलर गरेको हो ।

संक्रमितको संख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए एल्लो संकेतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात मिनिमल लकडाउनको नियम ल्याइएको कार्यविधिमा उल्लेख छ ।

हरेक स्थानीय तहबाट संकलित कोरोनाभाइरस संक्रमण,संक्रमणको कारण, मृत्यु, उपचारका लागि भर्ना भएका वा भेन्टिलेटर र आइसीयूसम्म पुगेका बिरामीहरूबारे तथ्यांक र तिनको अघिल्लो साताको तथ्यांक सँगको तुलना अनुसार अंक दिइन्छ।

सोही सर्कुलरको आधारमा अहिले जिल्ला प्रशासन कार्यालयहरु संक्रमण र स्वास्थ्य पूर्वाधारलाई हेरेर लकडाउन लागू गर्ने योजनामा छन् । सबै क्षेत्र ठप्प नपारी कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको अवधारणा ‘स्मार्ट लकडाउन’ हो।

सीसीएमसीले यसमा सङ्क्रमणको जोखिम र प्रभावलाई ध्यानमा राख्दै निषेधाज्ञामा कडाइ या खुकुलो गरिने जनाएको छ। हाल शैक्षिक संस्थाहरू ठप्प छन्। सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्टलगायत मनोरञ्जन स्थल, स्वीमिङ पुल, , सङ्ग्रहालय, रङ्गशालामा दर्शक सहितको खेलकुद निषेध थियो।

त्यस्तै भिडभाड हुने कार्यक्रम, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न नपाउने आदेश थियो। पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने नियम छ।

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने भनिएको थियो। सार्वजनिक तथा निजी सवारी साधन राति ८ बजेदेखि चल्न निषेध गरिएको थियो। उपत्यकामा जारी अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here