एमसीसी सम्बन्धमा किन नबोलेको भनेर धेरैले भन्नु भएको छ । म सार्वजनिक व्यक्ति भएकोले नेपालीहरुले सोधेको प्रश्नको जवाफ दिनु मेरो ठूलो कर्तव्य हो । त्यसैले मेरो धारणा राखेको छु ।
१. एमसीसी एउटा आर्थिक पाटो जोडिएको राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दा भएको हुनाले र म राजनीतिक प्राणी नभएको हुनाले मात्र केही नबोलि बसेको हुँ । तर धेरै नेपालीहरुले केही त बोलिदिनुहोस भनेर आग्रह गरेको हुनाले नितान्त व्यक्तिगत धारणा मात्र राखेको छु । कसैले दुख पीर नमान्नु होला र मलाई कुनै मार्का वा बिल्ला नदिनु होला । चित्त बुझेन भने ९८४१५९२३६१मा फोन गर्नु होला, अनि बात मारम्ला ।
२. म शर्तसहितको कुनै पनि दान वा अनुदान लिने पक्षको व्यक्ति पहिले पनि थिइन र अहिले पनि छैन । कसैले शर्त राखेर दान/अनुदान दिन्छ भने मैले त्यो पटक्कै लिंदिन । मानवताको नाताले अथवा कसैको दुख देखेर कुनै धनी व्यक्ति र देशले अर्को अत्यन्तै दुखी र गरीब व्यक्ति वा देशलाई कुनै दान र अनुदान दिन्छ भने विना कुनै शर्त दिनुपर्दछ भन्ने सैद्धान्तिक कुरामा विश्वास गर्दछु ।
तर दान वा अनुदान ग्रहण गर्ने व्यक्ति वा देश जति नै दुखी वा गरीब भए पनि अलि खराब चरित्रको वा भ्रष्ट छ भने दान र अनुदानको दुरुपयोग नगरोस भनेर केही कडा शर्त राख्नु नाजायज हुँदैन । तर दान र अनुदान दिने दाताले दिएँ भन्दैमा दान ग्रहण गर्ने व्यक्ति र देशको स्वाभिमानमा आँच आउने कुनै नाजायज शर्त राखेर फाइदा लिनु हुँदैन र नाजायज फाइदा लिने प्रयास गरेमा बिरोध गर्नु पर्छ भन्ने कुरामा दृढ विश्वास गर्दछु ।
३. पूर्णरुपमा अनुदान भनिएको एमसीसी मा नेपालको स्वाभिमानमा आंच आउने कुनै नाजायज शर्तहरु छन् भने हटाइनु पर्दछ भन्ने मेरो मत छ । यदि नेपाली जनताहरुलाई पटक्कै चित्त नबुझेको कुनै शर्तहरु छन् र ति शर्तहरु अमेरिकाले हटाएन भने सरकारले जबर्जस्ती अनुदान स्वीकार गर्नुहुँदैन भन्ने मेरो राय छ ।
किनभने सरकारले दाताको होइन, जनताको मन जित्ने काम गर्नुपर्दछ । सरकारले जनताको चित्त दुख्ने र राष्ट्रको हित विपरित काम गर्यो भने अर्को चुनाबमा भोट दिंदैनन भन्ने हेक्का राख्नु पर्दछ । जनताको भोट भनेको कुनै पनि राजनीतिक दलका लागि अति नै बहुमूल्य सम्पत्ति हो । यो कुरा बुझे राम्रो हुन्छ ।
४. नेपाल मात्र होइन कुनै पनि देश जबसम्म आर्थिक रुपमा गरीब हुन्छ तबसम्म आर्थिक र सामरिक रुपमा बलियो र धनी देशहरुले एमसीसी जस्ता र यस्तै प्रकृतिका अनेकौं हस्तक्षेपहरु गरिरहन्छन् । यो कलियुगको चलन नै हो । कलियुगको अन्त्य नभएसम्म यस्तो बल मिच्याईको घटना भइरहनेछ ।
५. तसर्थ एमसीसीको विषयमा नेपालीहरु आपसमा झगडा गरिरहनु र विभाजित हुनुभन्दा पनि एकताबद्ध भएर देशलाई आर्थिक रुपमा बलियो बनाउने महत्वपूर्ण कदमहरु चाल्नु पर्दछ । साथै ५५ अर्ब रुपैयाँको अनुदानको लागी चाकरी गरिरहनु पर्दैन र जनताको चित्त दुखाउनु पर्दैन ।
देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने एमसीसीजस्ता अनुदानहरु लिनु पर्दैन र कसैले पनि राजनैतिक हस्तक्षेप गर्न सक्दैन । अनुदान नै लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे पनि हुन्छ । अनुदान लिने बानी गर्यो भने देश कहिल्यै पनि स्वाभिमानी र स्वाबलम्बी बन्दैन । त्यस्तो देशको अस्तित्व जहिले पनि खतरामा हुन्छ ।
अहिले नेपालमा भए कै यही हो । देशलाई बैदेशिक हस्तक्षेप र खतराबाट मुक्त गर्न आर्थिक विकास गरेर समृद्ध बनाउनुको बिकल्प छैन । नत्र भने अहिलेको जस्तै भाँडभैलो हुन्छ र देशको अस्तित्व कालान्तरमा रहँदैन । विश्वमा बिगत ५० बर्षमा पनि धेरै निर्बलिय देशहरु ईतिहासमा बिलिन भएका छन ।
६. देशलाई आर्थिक रुपमा बलियो बनाउने काम भनेको हामीले नै गर्न सक्ने काम हो र कसैलाई आफू तल परेर अरुलाई गुहार्नु पर्दैन। देशलाई आथिक रुपमा बलियो बनाउन चाहिने अत्यन्तै बहुमूल्य सम्पति भनेको देशको प्रतिभाशाली र सृजनशील सन्तति हुन् । यी प्रतिभाशाली सन्ततिहरु भन्दा कुनै पनि देशले दिने दान/अनुदान कदापी मूल्यवान हुनै सक्दैन ।
प्रतिभाशाली सन्ततिहरुलाई देशमा नै राख्न र विदेश पलायन हुनबाट रोक्न आवश्यक पर्ने निष्पक्ष वातावरण नेपालमा सिर्जना गर्नै पर्दछ । त्यसको लागी नेपाली समाजले विज्ञान तथा प्रविधिलाई उच्चतम प्राथमिकता दिएर अनुसन्धान तथा विकासको काममा कत्ति पनि कन्जुस्याई नगरिकन मन फुकाएर र आँखा चिम्लेर खर्च गर्ने संस्कार बसाल्नु पर्दछ ।
जब सम्म यस्तो संस्कार बसालिंदैन देश कुनै पनि हालतमा समृद्ध हुँदैन र एमसीसीजस्ता घटना/दुर्घटना हरु नेपालमा भै नै रहनेछन् । यो मेरो अकाट्य भविष्यवणी हो । नेपालीहरुले यो भविष्यवणीलाई पत्याए पत्याउनुहोस् नपत्याए केही फरक पर्दैन ।
(महाबीर पुनको फेसबुक पोष्टको सम्पादित अंश)