डा. अनुप सुवेदी
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई एकएक गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो ।
अस्पताल ‘खरिद’को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला । तर डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने एकाधिकार (मोनोपोली) हो । यसले बजारमा स्वाभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठूलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ ।
जनहितको पैरवी गर्नुपर्ने राजनैतिक दल र राज्यका सबै अङ्गमा यस्तै व्यापारीको हालिमुहाली भइसकेको छ । स्वार्थको द्वन्द्वविरुद्धका कुनै संहिता वा नियम छैनन्, र भए पनि दलाल र व्यापारीलाई आफूखुशी नियम बनाउन, राज्य–कब्जा गर्न र आम नागरिकलाई र सामुदायिक पूँजीलाई दोहन गर्न रोकेका छैनन् ।
विगत २–३ दशकमा जसरी देशमा सर्वत्र क्रोनी पूँजीवाद हावी भयो, दल, तिनका भ्रातृ संगठन र तिनमार्फत् राज्यका सबै अङ्ग अन्ततः दलाल र संभ्रान्तको हितमा परिचालन हुने साधन बनाइए, केही घटनाविशेष अपवाद बाहेक । यो सारा अवधिभर मिडिया लगभग पूरै बेखबर रह्यो । मिडियाको चेतना अझै उन्नत भएको छैन ।
तृणमूल तहबाटै गलत संरचना र संस्कारलाई बिस्तारै भत्काउने संगठनको निर्माण र बिस्तार नै त्यसको सबैभन्दा दिगो समाधान हो ।
नागरिक समाजले थरीथरीका पिनहोल चश्माले मात्र देशलाई हेर्ने, तर सबै जात, भाषा, क्षेत्र र अन्य कोटी–विभाजनमा छुट्टिएका सारा नागरिकका वर्तमान र भविष्यलाई एकैनासले बन्धक बनाइरहने – र यससँग लड्छु भने सबैलाई जुटाउने पनि– यत्रो बडेमानको अर्थसामाजिक अजिङ्गरलाई भने नदेख्ने प्रण गरेको छ ।
राजनैतिक दल कुनैमा पनि यो समस्यालाई रोक्नुपर्छ भन्ने सामूहिक चेत छैन, आँट, घोषित नीति त झन् शून्य । अचेल राजनैतिक करियर–पथ यसरी कोरिन्छन् कि आशालाग्दा केही युवा नेता पनि त्यही दलालतन्त्रको पृष्ठपोषक हुने शर्तमा, र त्यस्तो झुकावको प्रमाण दिंदै गएमा मात्र निर्णायक ठाउँमा पुग्नेछन् ।
दलालतन्त्र बिचौलियातन्त्रको अन्तिम लक्ष्यजस्तै हो एकाधिकार । यो चुनौतिसँग लड्न जुन किसिमको राजनीति र सांगठनिक पहल देखिनुपर्ने हो, नागरिक समाज र मिडियाको जुन किसिमको चेतना र पूर्वसक्रियता हुनुपर्ने हो, त्यो कसैबाट कतैबाट नदेखिंदा हाम्रो नियति यही दलदलमा झन् भासिंदै जाने हो ।
यस्तो एकाधिकार बन्नबाट रोक्न वा त्यसलाई भत्काउन के गर्न सकिन्छ ? तृणमूल तहबाटै गलत संरचना र संस्कारलाई बिस्तारै भत्काउने संगठनको निर्माण र बिस्तार नै त्यसको सबैभन्दा दिगो समाधान हो । तर त्यो बनाउने प्रयत्न हुँदै गर्दा यी अरू काम हुँदै जान सक्लानः
१. खुबी देखाउन चाहने सांसद र युवा राजनीतिकर्मीहरूले सरकारको मुख नताकी आफ्ना र सबै दलका यो विषयमा कुरा मिल्ने समकक्षीहरूसँग मिलेर एकाधिकार व्यापार–निरोधी (ट्रस्ट–बस्टिङ) कानुन र स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको पक्षमा लहर सिर्जना गर्ने, कानुन बनाउने र संसदबाट पास गर्ने ।
२. आम नागरिकको अधिकार र सामुदायिक स्वार्थको लागि वकालत गर्ने जुझारूपन र निष्ठा भएका कानुनकर्मीहरूलाई निरन्तर त्यसो गरिरहन चाहिने आर्थिक आवश्यकता पूरा गर्ने र अन्य भरथेग गर्ने संस्था र सञ्जाल (अमेरिकन सिभिल लिबर्टिज युनियन) बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने ।
३. दलालतन्त्र र मोनोपोलिले गरेका बदमाशीको हप्तौं र महिनौंसम्म अध्ययन गर्दै, अन्याय र ठगीका सबै पत्र उप्काउँदै सप्रमाण समाजलाई पस्कने कर्मठ पत्रकारहरूलाई त्यसरी पत्रकारिता गरिरहन सम्भव बनाइदिन सक्ने आर्थिक क्षमता र मिसन भएका संस्था बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने ।
(यो लेख सरुवा रोग विज्ञ डा. सुवेदीको ट्विटर थ्रेडबाट साभार गरिएको हो ।)