मनसुनमा विपद् आइपरे २२ हजार परिवारलाई सहयोग गर्ने रेडक्रसको पूर्वतयारी

काठमाडौं, १७ असार । मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा नेपाल रेडक्रस सोसाइटीले २२ हजार परिवारलाई सहयोग गर्ने मनसुन पूर्वतयारी र प्रतिकार्य योजना तयार गरेको छ ।

पूर्व झापा देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका २३ वटा तराई/मधेसका जिल्लामा जनजीवनलाई वढी असर पर्ने र २ लाख ५२ हजार परिवार प्रभावित हुनसक्ने अनुमानका साथ रेडक्रसले पुर्वयोजना प्रस्तुत गरेको हो ।

करिव ८२ हजार घरधुरीलाई तत्काल सहयोग गर्नुपर्ने अवस्था आकलन गरेअनुसार नेपाल रेडक्रसले २२ हजार पाँचसय (२७ प्रतिशत) लाई आपत्कालीन आवास र गैह्र खाद्य सामग्री सहयोग गर्ने योजना बनाएको छ ।

नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले भनिन्, ‘नाजुक अवस्थामा आवास र सामग्रीको अलावा आपत्कालीन स्वास्थ्य, स्वच्छता र सरसफाई, संरक्षण, खाद्यसामग्री र नगद हस्तान्तरणको क्षेत्रमा पनि रेडक्रसले सहयोग गर्ने छ ।’

नेरेसो केन्द्रीय कार्यालयमा मनसून योजना तयारी वैठकलाई सम्बोधन गर्दै गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव वेद निधि खनालले रेडक्रसले बनाउँदै गरेको योजना समग्र मनसून पूर्वतयारी योजनाको एक अंग हुने बताए ।

उनले अहिलेसम्म संघीय मामिला, परराष्ट्र, स्वास्थ्यलगायत ८ वटा मन्त्रालय, सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र विभिन्न विभाग गरी १४ वटा निकायले यस्तो योजना बनाएको जानकारी दिए ।

हरेक वर्ष मनसुन सुरु हुनु पूर्व नेपाल रेडक्रसले नेपाल सरकार, संयुक्त राष्ट्रसंघका कार्यालयहरु, विभिन्न सहायता एजेन्सीहरु तथा संस्थाहरुको सहकार्यमा यस्तो तयारी गर्दैआएको छ । सन् २०१४ र २०१७ को मनसुन प्रतिकार्य योजना र प्रगतिका आधारमा यो योजना बनाइएको हो ।

समन्वयमा जोड
विपद्को अवस्थामा उद्दार र राहतको काम समन्वयात्मक हिसाबले गर्न गराउन रेडक्रसले भूमिका खेल्ने बताइएको छ ।

रेडक्रसका केन्द्रदेखि पालिकातहका निकायहरु विपद् व्यवस्थापनमा प्रयत्नरत रहेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

पौडेलले भने ‘विपद तत्कालै गरिने प्रारम्भिक द्रुत लेखाजोखालाई प्रभावकारी बनाउन गृह मन्त्रालय, स्थानीय पालिका र शुरक्षा निकायसँग हामीले हातेमालो गरिरहेका छौँ र यसमा सवैपक्षको सहयोगको अपेक्षा छ ।’

आपत्कालीन योजना बनाँउदा नेपाल रेडक्रसले आफ्नो बर्तमान क्षमता र अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्थाको लागि छुट्टाछुट्टै योजना बनाएको हो ।

वाह्य सहयोग नलिइकन पाँच हजार परिवारलाई गैह्र खाद्य सामग्री, छ सय परिवारलाई आपत्कालीन आवास निर्माण सामग्री, २५ सय परिवारलाई तारपोलियन, १४४ परिवारलाई आपतकालीन प्रजनन स्वास्थ्य किट लगायत आवश्यकतानुसार तीन लाख पानी शुद्धिकरण ट्याबलेट, सातहजार साबुन, एकहजार शव व्यवस्थापन झोला वितरण गर्ने गरि तयारी अवस्थामा राखिएको छ ।

दशलाख रुपैँया आपत्कालीन कोषमा छुट्याइएको र यसका अतिरिक्त २६ लाख रुपैया सरसफाई र स्वच्छता क्षेत्रको सहयोगको लागि व्यवस्था गरिएको बताईएको छ । ३ करोड रुपैँयाको प्रिन्सेप दैवी प्रकोप अक्षयकोषको व्याजबाट पनि खर्च गर्न सकिने व्यवस्था मिलाइएको पौडेलले बताए ।

नेपाल रेडक्रसले आकस्मिक सहयोगको लागि तालिम प्राप्त जनशक्तिहरुलाई अलर्ट अवस्थामा रहन खवर गरिसकेको पनि बताएको छ ।

यसरी तयारी अवस्थामा राखिएकामा १ हजार ४ सय ५४ जना प्राथमिक उपचारक, ५ हजार ५ सय ८७ जना सामुदायिक पहलकर्ता, ८४ जना प्रारम्भिक लेखाजोखा संयोजक ६ हजार १ सय ७९ जना जिल्ला प्रतिकार्य समूह सदस्य, ४ हजार ३१ जना राष्ट्रिय प्रतिकार्य समूह सदस्य ८ सय २५ जना पारिवारिक सम्पर्क पुनस्थापना र शव व्यवस्थापन समूह सदस्य, २२० जना आपत्कालीन आवास निर्माणकर्ता, ५९ जना आपत्कालीन क्लिनिक सञ्चालन सदस्यहरु छन् ।

सन् २०१७ को मनसुनको समयमा नेपालमा बाढी र पहिरोले १७ लाख मानिसहरुलाई प्रभावित पारेको थियो भने २ लाख भन्दा वढी घरहरु आंशिक वा पूर्ण क्षति भएका थिए ।

त्यस बेला नेपाल रेडक्रसले ७ हजार ८४ परिवारलाई आपत्कालीन आवास, १३ हजार पाँचसय मानिसहरुलाई गैर खाद्य सामग्रीहरु तथा करिव १४ हजार परिवारलाई स्वास्थ्य, सरसफाई तथा खानेपानी तर्फ तत्काल सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here