शोधानान्तर स्थिति ३ महिनामै सन्तुलनमा आउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शोधनान्तर घाटालाई आगामी ३ महिनामा सन्तुलनमा ल्याउने प्रतिबद्धता गरेका छन् । साथै यसबारे शुक्रबार नै राष्ट्र बैंकका अधिकारीहरुसँग उनले छलफल पनि गरेका छन् ।

आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगअर्थ मन्त्रालयमा भएकोभेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

शोधानान्तर स्थितिलाई सन्तुलनमा ल्याउन राष्ट्र बैंक र अर्थ मन्त्रालय गम्भीर छ, आयात कडाइको असर देखिन थालेको छ । आगामी असार भित्रै सन्तुलन हुने हामीले विश्वास गरेको छौं, उनले भने । अर्थमन्त्री शर्माले आगामी असारभित्रै शोधनान्तर सन्तुलन हुनेमा आफु विश्वस्त रहेको समेत बताए । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री शर्माले सुझावको लागि आर्थिक पत्रकारहरुलाई निमन्त्रणा गरेका थिए ।

भेटमा नाफिज कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष मोदनाथ ढकालले सुझाव पेश गरेका थिए । नाफिजले दिएको सुझावमा पत्रकार हकहित र अर्थतन्त्रमा गरिनुपर्ने सुधारको बारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ । जसमा विदेशी विनिमय सञ्चिति बढाउनको लागि आगामी बजेटमा समेट्नु पर्ने विषय र अर्थतन्त्रलाई प्रभावकारी रुपमा कसरी अघि बढाउने भन्ने उल्लेख छ ।

सुझाव ग्रहण गर्दै अर्थमन्त्री शर्माले बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र रहने बताए । शर्माले कृषिमा स्रोत, साधन र श्रमको पहिचान, व्यवस्थापन र उपयोग गर्न नसकिएको स्वीकार्दै कृषि र कृषि केन्द्रीत कार्ययोजना कार्यान्वयन संयन्त्रमा रुपान्तरणको आवश्यक रहेको जानकारी दिए । ‘मैले पछिल्लो आठ महिनाको आयातको तथ्याङ्क विश्लेषण गरें जसमा सबैभन्दा धेरै कृषि उपजकै हिस्सा देखिन्छ । हामी उत्पादनमुखी अर्थतन्त्रमा जानुको विकल्प छैन,’ उनले भने ।

शर्माले आयातको तथ्याङ्क विश्लेषण गर्दा आयातको परिमाण नभई अन्तराष्ट्रिय बजारमा मूल्य वृद्धिको कारण आयात मूल्यको ‘ग्राफ’ बढेको आफूले महसुस गरेको जिकिर गरे ।

उनका अनुसार गत आर्थिक वर्षको आठ महिना अवधीमा ८७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । साथै चालू आवको सोही अवधीमा रु. १ खर्ब ८८ अर्बको आयात भएको देखिएको छ । खाने तेल, मेसिनरी पार्टपुर्जा लगायतका सामान आयातको अवस्था पनि उस्तै रहेको उनले बताए । यस्ता वस्तुमा मूल्यवृद्धिको मार अर्थतन्त्रमा परेको उनको दाबी छ ।

शर्माले ग्याँसमा अहिले नेपाल आयल निगमले प्रतिसिलिन्डर ९ सय २५ रुपैयाँ अनुदान दिइरहेको बताए । अब ग्यासमा नभई विद्युतमा सुविधा दिनेतर्फ सरकारले सोचिरहेको जानकारी दिए । ग्यासमा दिएको अनुदान तारे होटलदेखि हरेक व्यवसाय र वर्गले पाइरहेको छ ।

भेटमा अर्थमन्त्रीका आर्थिक सल्लाहाकार डा. सुरेन्द्र उप्रेती, मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला, मन्त्री शर्माका प्रेस विज्ञ अजित अधिकारी, बैंक तथा वित्तीय क्षेत्र विज्ञ डा. शालिकराम पोखरेल तथा नाफिज कार्यसमितिको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here