दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, डेंगु भएमा अपनाउनै पर्ने यी २० सावधानी

काठमाडौं । देशभर डेंगु फैलिएको छ । डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

नेपालमा डेंगुका बिरामी नेपालमा ११ हजार ६५ पुगेका छन्। सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३ सय ९० जनामा डेंगु संक्रमण भएको छ।

यस्तै, लुम्बिनीमा १ हजार ४ सय २१, प्रदेश १ मा ३ सय ४७, सुदूरपश्चिममा ३ सय २३, गण्डकीमा २ सय २४, मधेश प्रदेशमा १ सय ९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।

मन्त्रालयले ललितपुर र भक्तपुरमा डेंगुको संक्रमण बढि देखिएको जनाएको छ। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी देखिएका थिए।भयावह रुपमा फैलिएको डेंगुले सबैभन्दा बढी असर काठमाडौं उपत्यकालाई पारेको छ ।

डेंगु भएमा आफ्नै मनले औषधि सेवन गर्नुहुँदैन । जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र पाण्डे ले ख्याल गर्नेपर्ने २० टिप्स दिएका छन् ।

१, ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।

डा. रबीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ

२, बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।

३, अधिकांश संक्रमितलाई बान्ता हुने र वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन् । यो निकै घातक हुन्छ । जति धेरै झोलिलो तथा पोषिलो खायो त्यति नै छिटो निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।

४, द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु पर्दैन ।

५, मेवाको पात जथाभावी नखानुहोला । यसले डेंगी निको गर्दैन । प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाह अनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ । प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।

६, दाल, जाउलो, गेडागुडीको रस, दूध, नरम खाना, फलफूल (मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो), हरियो सागसब्जी, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।

७, शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक पिउनु पर्दछ ।

८, एक दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ ।

९, नाक, मुख, गिंजा, छाला, मलद्वार, मुत्रद्वार आदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ ।

१०, बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ ।

११, खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ । यसको मृत्युदर निकै कम भएकोले आत्तिनु पर्दैन ।

१२, डेंगीमा धेरै मुख बार्नु पर्दैन । पच्ने खाना खान सकिन्छ । पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला । धेरै गुलियो नखानुहोला ।

१३, डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ । १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।

१४, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केही दिन रहन्छ । नआत्तिनुहोला , औषधि र खानपिनले निको हुन्छ ।

१५, आराम गर्नुहोला । शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।

१६, दाँत ब्रस नगर्नुहोला । मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस् ।

१७, डेंगु सँगै बसेर सर्दैन । तपाईलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगु सर्दछ । तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।

१८, चिकित्सकको सिफारिस बिना पारासिटामोल बाहेक कुनैपनि औषधि नखानुहोला ।

१९, लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।

२०, खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किने र प्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।

(डा. पाण्डेको फेसबुकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here