काठमाडौं । आज मार्च २१ अर्थात रजनीश ओशोले आत्मज्ञान प्राप्त गरको दिन । ओशोलाई आध्यात्मिक गुरुको रुपमा संसारका धेरै मानिसले सम्झने तथा सम्मान गर्ने गरेका छन् ।
आज विश्वभरिका ओशो सन्यासी एवं ओशो प्रेमीहरुको महत्वपूर्ण दिन हो । १९५३ मा आजकै दिन ओशोले आत्मज्ञान प्राप्त गरेका थिए ।
ओशोको जन्म सन् १९३१ डिसेम्बर ११ शुक्रबारका दिन भारतको मध्य प्रदेश राज्यको जबलपुर सहरमा कपडा व्यापारीको छोराका रूपमा भएको थियो । उनका बुबा आमाका एघार जना सन्तान मध्ये ओशो जेठो सन्तान थिए । ओशो सात वर्षको उमेरसम्म आफ्नो मावली घरमा हजुरबुवा तथा हजुरआमाको साथमा रहेका थिए ।
मावली बसाइले आशोको जीवनमा ठूलो प्रभाव छोड्यो । उनकी हजुरआमाले उनलाई स्वतन्त्र, छाडा छोडिदिइन् पढाइ तथा अन्यकुराहरूको बोझ कहिल्यै दिइनन् । जब उनी सात वर्षका थिए उनका हजुरबुवाको मृत्यु भयो ।
यस पश्चतात उनी गदारवारा आफ्नो माता पितासँग बस्नको लागि गए । ओशोलाई आफ्नो हजुरबुवाको देहावसान र उनी पन्ध्र वर्षको हुँदा उनकी बाल प्रेमीका शशीको टाइफाइडका कारणले मृत्यु भयो । उनलाई यी दुई घटनाले मर्माहत र प्रताडित बनाएका थिए ।
जसका कारणले उनको मानसपटलमा मृत्युको बारेमा बाल्यकाल र युवा अवस्था भरि गहिरो सोच रहयो ।
पूर्वजन्मका संस्कार तथा यस जन्मको गहन साधनाले २१ बर्षको उमेरमा सन् १९५३ मार्च २१ को मा मध्यप्रदेशको जवलपुरमा विद्यार्थी छँदा नै उनमा सम्बोधी घटिसकेको थियो तर उनले त्यससमयमा आफ्नो सम्बोधीको वारेमा सार्वजनिक रुपमा केहि बोलेनन् र आफ्नो उच्च शिक्षाको अध्ययन जारी राखे ।
ओशोले सन् १९५७ मा २६ वर्षको उमेरमा गोल्ड मेडलिष्टको रुपमा साईकोलोजी बिषयमा एम.ए.को डिग्री लिएपछि शिक्षण पेशा अंगाले । उनले शिक्षणको साथसाथै भारतका विभिन्न स्थानहरुमा प्रवचन तथा ध्यान शिविरहरुको आयोजना गरी तनावमुक्त जिवन जीउने कला सिकाउन शुरु गरे ।
त्यस बखत उनी आचार्य रजनीश भनेर चिनिन्थे । आध्यात्मका प्यासीहरुको लागि कल्याण मित्रको रुपमा पथ प्रर्दशन गरिरहे पनि आफूलाई गुरुको रुपमा भने स्थापित गर्नै चाहेनन् आचार्यले ।
आध्यात्मीक जागरण आन्दोलन र प्राध्यापन पेशालाई संगसंगै चलाउन गाह्रो भैरहेको कारणले सन् १९६६ मा आचार्यले मानवमात्रको कल्याणको लागि प्राध्यापन पेशा नै त्यागीदिए र गोल्डमेडलिष्टको डिग्री आगोमा जलाईदिए ।
सन् १९६९ को अन्त्यतिर आचार्य सदाको लागि जवलपुरबाट आए र वुडल्याण्ड नाम गरेको अपार्टमेण्टको कोठालाई आफ्नो निवास बनाए ।
सन् १९७० को अप्रीलमा आचार्यले एक्काईसौं सताब्दीको मनुष्यको लागि एक क्रान्तीकारी बिधी — डाईनमिक ध्यान रचना गरे जुन ध्यान बिधी अशरिर मन र आत्माको स्वास्थ्य उपलब्धीको लागि अचुक औषधीको रुपमा स्थापित भएको छ ।
सन् १९७० को सेप्टेम्बर २६ तारिखको दिन आचार्य रजनीशले आफुले बुद्धत्व पाईसकेको घोषणा गर्दै, भारतको हिमाञ्चल राज्यको मनालीमा संचालित ध्यान शिविरमा दश जना साधकहरुलाई दीक्षा दिई एक नविन ध्यान आन्दोलनको सुत्रपात गरे ।
रजनीशले आफ्नो अभियानलाई नव–सन्यास भनेर नाम दिए । सन् १९७१ को समयतिर रजनीशलाई शिष्यहरुले श्रद्धापुर्वक भगवान भनि सम्बोधन गर्न थाले, भगवान अर्थात स्वयंलाई चिनेको सम्बोधी प्राप्त व्यक्ति। रजनीशले भने, ‘भगवत्ता मेरो मात्र होईन संसारका सबै प्राणीहरुको जन्मसिद्ध अधिकार हो ।’
ओशोको मृत्यु १९ जनवरी १९९० मा ५८ वर्षको उमेरमा पुणे, भारतको आश्रममा भएको थियो।