कार्य सम्पादनमा कुलमानकाे ९८.९९ प्रतिशत अंक दाबी

फाइलफोटो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन्।

घिसिङले बिहीबार गत आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका हुन्।

मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो।

ऊर्जा मन्त्रालयबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको प्राधिकरणले जनाएको छ।

कार्यसम्पादन सम्झौताको मूल्यांकनमा प्राप्तांकका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ।

प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रूपैयाँ नाफा कमाएको थियो।

आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण २०७३/७४ मा १ अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाएकाे थियाे।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ।

गत आर्थिक वर्षमा प्रणालीको विद्युत चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो। ८ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ।

प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्‍याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको प्राधिकरणको भनाइ छ।

देश लोडसेडिङमुक्त भएर नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्ताहरूलाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख छ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको प्राधिकरणले जनाएको छ।

गत आर्थिक वर्षको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत भारतर्फ निर्यात गरी १७ अर्ब ७ करोड रूपैयाँ आम्दानी गरेको थियो।
गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here