कसरी बनिन् साना मरिन विश्वकै कान्छी प्रधानमन्त्री ? यस्तो छ संघर्ष

काठमाडौं,२३ मंसिर । फिनल्यान्डकी साना मरिन सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छन्। मरिन हाल यातायात मन्त्री रहेकी ३४ वर्षीया मरिनलाई सोसल डेमोक्रेटिक पार्टीले प्रधानमन्त्रीको रुपमा छनोट गरेको हो ।

प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै मरिनले यही साता सपथ ग्रहण गर्नेछिन् । फिनल्याण्डमा पाँच दलको गठबन्धनमा सरकार गठन हुन लागेको हो।
मरिनको नेतृत्वमा बन्ने गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि हुनेछन्।

हुलाक सेवाको आन्दोलनलाई राम्ररी नसम्हालेपछि रिन्नेमाथि अविश्वासको मत पारित भएको थियो। फिनल्यान्ड अहिले पाँच पार्टी सम्मिलित गठबन्धनले सरकार चलाइरहेको छ। रोचक के छ भने पाँच वटै पार्टीका प्रमुख महिला छन्।

वर्तमान प्रधानमन्त्री आन्ती रेनेले विश्वासको मत गुमाएपछि राजीनामा दिएका छन्। मरिनले यही साता शपथ लिने बताइएको छ। उनी फिनल्यान्डको तेस्रो महिला प्रधानमन्त्री पनि बन्ने छिन्। युक्रेनमा अहिले ३५ वर्षका ओलेक्सी होन्चरुक प्रधानमन्त्री छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ३९ वर्षकी हुन्।

को हुन् मरिन ?

साना मिरेला मरिन फिनल्याण्डकी सोसल डमोक्रेट राजनीनिज्ञ हुन् । उनी सत्तारुढ पार्टी एसडिपीसँग आबद्ध छन् । उनको जन्म सन् १९८५ नोभेम्बर १६ मा भएको हो । हेल्सिन्कीमा जन्मेकी मरिनले केही वर्ष इस्पूर र पिरकालामा बिताएकी थिइन् । हाल उनी टाम्पेरेमा बस्छिन् ।

सन् २०१५ देखि फिनिस संसदको सदस्य बन्दै आएकी मरिनलाई गत जुनदेखि फिनल्याण्डको यातायात तथा सञ्चारमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०१३ देखि २०१७ सम्म टाम्पेरेको नगर परिषद अध्यक्षमा समेत निर्वाचित भएकी थिइन् । उनी टाम्पेरे राज्य परिषदको सदस्य समेत हुन् ।

मरिनले सन् २०१२ मा टाम्पेरे विश्वविद्यालयबाट प्रशासनिक विज्ञानमा स्नातक पूरा गरेकी छन् ।

सत्तारुढ पार्टी एसडिपीले मरिनलाई आइतबार आफ्नो नेता चुनेको छ । यसअघि सन् २०१४ मा एसडिपिको दोस्रो उपाध्यक्षमा निर्वाचित बनेकी थिइन् । मरिन आफ्ना पति मार्कस राकोनेन र एक सन्तानसँग बस्दै आएकी छन् ।

मरिन चार वर्षअघि पिरकान्मा जिल्लाबाट सांसदमा चुनिएकी थिइन् । सन् २०१९ मा उनी पुनः सोही क्षेत्रबाट चुनाव जित्दै सांसद बनेकी हुन् । जुनदेखि उनले यातायात तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

मरिन आबद्ध एसडिपी मध्य-वामपन्थी दल हो । एसडिपीले फिनल्याण्ड नेटोको सदस्य हुनुहुँदैन भन्ने धारणा राख्दै आएको छ । शान्तिका लागि साझेदारी संगठन (पार्टनरशिप फर पिस) मा आबद्ध हुनुपर्ने एसडिपीको मत छ ।

सन् २०१५ को संसदीय निर्वाचनमा एसडिपीका झण्डै ९१ प्रतिशत उम्मेदवारले फिनल्याण्ड नेटोको सदस्य हुनु हुँदैन भन्दै अभियान नै चलाएका थिए ।

एसडिपीले समलिङ्गी, द्विलिङ्गी तथा ट्रान्सजेन्डरले समेत धर्मपुत्र राख्न पाउनुपर्ने आवाज उठाउँदै आएको छ (स्मरणीय छ, मरिनका बाबुआमा समेत समलिङ्गी हुन्) ।

आणविक ऊर्जा केन्द्र स्थापना गर्नुपर्ने, सरकारी भाषाको मान्यता पाएको स्विडिस भाषालाई संरक्षण गर्नुपर्ने र सरकारी विश्वविद्यालयको बजेट बढाउनुपर्ने कुरालाई एसडिपीले आफ्नो मुख्य एजेण्डा बनाउँदै आएको छ ।

त्यस्तै एसडिपीले सन् २०३० सम्ममा फिनल्याण्डलाई तेलमा आत्मनिर्भर बनाउने भन्दै आएको छ । साथै विदेशीलाई फिनल्याण्डमा काम गर्न बन्देज लगाउने गरी नीति बनाउनुपर्ने पक्षमा एसडिपी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here