यस पटकको सूर्यग्रहण किन विशेष ?

काठमाडौं, १० पुस । सूर्यग्रहण नेपाली समयअनुसार यो विहान ८ बजेर ४२ मिनेट जाँदा सुरु भएको छ । बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ ।

अबको एक दशकमा पर्ने अरु ४–५ सूर्यग्रहणभन्दा यो सबैभन्दा बढी देखिने सूर्यग्रहण मानिएको छ । त्यसैले पनि यसलाई शताब्दिकै ठूलो सूर्यग्रहण भनिएको छ ।

त्यसो त प्रत्येक वर्ष सूर्यग्रहण र चन्द्रग्रहण भइरहेको हुन्छ । पृथ्वीको फरक फरक ठाउँबाट यो देखिने गरेको छ । तर, आज भइरहेको सूर्यग्रहण पृथ्वीको अधिकांश ठाउँबाट देखिन सक्छ ।

खगोल शास्त्रका अनुसार सूर्य पृथ्वीको सबैभन्दा नजिक रहेको तारा हो । यसको दूरी पृथ्वीबाट १४ करोड ९६ लाख किमि छ । सूर्य पृथ्वीभन्दा ४ सय गुणा ठूलो छ । पृथ्वीभन्दा ४ सय गुणा सानो चन्द्रमा ३ लाख ८४ हजार ४ सय किमि मात्रै टाढा भएकाले पृथ्वीबाट नाङ्गो आँखाले हेर्दा सूर्य र चन्द्रमा समान देखिन्छन् ।

खगोलीय संरचनामा पृथ्वी र चन्द्रमा आ–आफ्नै कक्षमा घुमिरहेका हुन्छन् । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई प्रदक्षिणा गरिरहेका हुन्छन् ।

यसै क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दा यसले सूर्यका किरण छेकिदिन्छ र पृथ्वीमा अँध्यारो हुन्छ । सूर्य ग्रहण खग्रास (पूरै छेकिनु), खण्डग्रास (केही भाग मात्रै छेकिनु) र बलय (सूर्य केबल हातमा लगाउने बाला जस्तो मात्रै देखिनु) तीन प्रकारले लाग्ने गरेको पाइन्छ ।

यो ग्रहण मलेसिया, सिंगापुर श्रीलंका, दक्षिण भारत (तमिलनाडु), ओमान, युनाइटेड अरब इमिरेटस्बाट बलय रूपमा देखिन्छ । नेपालसँगै जापान, कोरिया ताइवान हङकङ भियतनाम कम्बोडिया थाइल्यान्ड लाओस् म्यानमार भुटान ल्हासा (चीन), ताजकिस्तान र अजरबैजानबाट भने खण्डग्रास देखिन्छ ।

सन् २०१९ को यो तेस्रो सूर्यग्रहण हो । यसअघि ६ जनवरी र २ जुलाईमा पनि सूर्यग्रहण भएको थियो । चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा हुने यो खगोलीय घटना यसपटक किन विशेष छ भने यो सूर्यग्रहणको समयमा सूर्य रिंग अफ फायरजस्तो देखिनेछ । अब अर्को सूर्यग्रहण २१ जुन २०२० मा हुनेछ । यो नेपालबाट नदेखिन पनि सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here