काठमाडौं । अभिभावक बालबालिकाको पहिलो गुरु हुन र घर पहिलो पाठशाला हो ।
त्यसैले बालबालिकाको जीवनमा अभिभावकको ठूलो भूमिका रहेको हुन्छ । उनीहरुले हरेक अधिक क्रियाकलापहरु घरबाट नै सिक्ने गर्छन् ।
घरको माहोल जस्तो छ बालबालिका त्यही परिवेशमा हुर्किन्छन् । त्यसैले भविष्यमा उ कस्तो स्वभावको बन्छ भन्ने कुरा घरको माहोलबाट थाहा हुन्छ ।
हरेक आमाबुबा आफ्नो सन्तानले राम्रो गरेको हेर्न सुन्न चाहन्छ । यति मात्र होइन, अरूले प्रशंसा गरिदिए भने उनीहरूलाई थप खुसी मिल्छ । उनीहरू आफ्नो सफलताको मापन नै आफ्ना सन्तानको सफलताबाट गर्न थाल्छन् । त्यसैले हरेक अभिभावक आफ्ना सन्तानलाई खुसी, सफल र स्वस्थ बनाउन सधैँ तत्पर हुन्छन् ।
तर, सबैका सन्तान चाहेजस्तो बन्दैनन् र बन्न सक्दैनन् । किनकि, सबै अभिभावकले पनि सोचेजस्तो गर्न सकेका हुँदैनन् । कसैलाई पैसाले पुग्दैन त कसैलाई समयले भ्याउँदैन ।
अहिलेका बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो क्रममा छ र पठन संस्कृति हराउँदै गएको छ ।
सकेसम्म जतिबेला नि पढिदिए हुन्थ्यो र बढी अंक, ग्रेड ल्याइदिए हुन्थ्यो भन्ने मान्यताबाट धेरै अभिभावकको रहेको हुन्छ । बालबालिका भने आफ्ना अभिभावकको जति बेला पनि पढपढ भन्ने कुराले दिक्क हुने गरेको देखिन्छ ।
यदि बच्चा आलोचनाको वातावरणमा हुर्किन्छन् भने उनीहरू निन्दा गर्न सिक्छन् । यदि बच्चा डरको वातावरणमा हुर्किन्छन् भने उनीहरू डराउन सिक्छन् ।
बच्चा दुःखको वातावरणमा हुर्किन्छन् भने उनीहरू आफ्नो हालतमा अफसोच गर्न सिक्छन् । यदि बच्चा लजाउने वातावरणमा हुर्किन्छन् भने उनीहरू ग्लानी गर्न सिक्छन् ।
बच्चा प्रोत्साहनको वातावरणमा हुर्किन्छन् भने उनीहरू आत्मविश्वासी बन्न सिक्छन् । बच्चा प्रशंसाको वातावरणमा हुर्किन्छन् भने उनीहरू तारिफ गर्न सिक्छन् । यदि बच्चा समर्थनको वातावरणमा हुर्किन्छन् भने उनीहरू आफैलाई मनपराउन सिक्छन् ।
यदि बच्चा स्वीकृतिको वातावरणमा हुर्किन्छन् भने उनीहरू दुनियाँमा प्रेम खोज्न सिक्छन् । बच्चा सम्मानको वातावरणमा हुर्किन्छन् भने उनीहरू लक्ष्य बनाउन सिक्छन् ।
कुन उमेरमा संस्कार सिकाउने ?
मानिसको सिकाइको प्रक्रिया आमाको गर्भमा रहँदै सुरु हुन्छ । जन्मिसकेपछि भने आमाको काख हुँदै बाबाको काँध, परिवार, समाज, देश र सारा विश्व नै उसको सिक्ने थलो बन्छ । तर, मानिसको आधारभूत सिकाइ भने आमाको काख र घरबाटै हुन्छ ।
६ महिनाकै उमेरमा पनि उनीहरूलाई संस्कारी कुरा सिकाउन सकिन्छ । बोल्न नसक्ने भए पनि उनीहरूले हाउभाउबाट धेरै कुरा सिकिराखेका हुन्छन् । अभिभावकले जति छिटो सिकाए उत्ति नै बच्चाहरूले छिटो सिक्न र कुरा बुझ्न सक्छन् ।
एक वर्ष नपुग्दै बच्चामा सिक्न सक्ने क्षमताको विकास भइसकेको हुन्छ । सामान्य अवस्थाका बच्चाले नमस्ते गर्न, टाटा गर्ने, ढोग्नेजस्ता कुरा एक वर्षभित्रै सिक्न सक्छन् । असामान्य अवस्थाका बच्चा भने ढिलो सिक्छन् किनभने छिटो सिक्ने क्षमता उनीहरूमा हुँदैन ।
साढे दुई वर्षको उमेरमा बच्चाहरूले म केटा हुँ अथवा म केटी हुँ भन्ने कुरा बुझ्छन् । चारदेखि पाँच वर्ष हुँदा उनीहरूमा भावनात्मक कुराको विकास हुन्छ । विशेषगरी तीनदेखि नौ वर्षको उमेर भनेको बच्चाको सिकाएका कुरा सिक्न सक्ने उमेर हो ।