मध्यपहाडी लोकमार्ग, १० वर्षमा ४५ प्रतिशतमात्रै काम

काठमाडौं, ७ फागुन । बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।

यस आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेकोमा संशोधित कुल लागत करिब ८४ अर्ब ३३ करोड पुगेको छ।

आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखाकंन प्रस्ताव २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

आर्थिक वर्ष ०७४/०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कामले गति लिन नसक्दा निर्धारित समय गुज्रेपनि आधासम्म काम भएको छैन् ।

पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित क्षेत्रका २५ जिल्ला र २ सय १५ बस्तीहरू जोड्ने लोकमार्गको लम्बाई करिब १८७९ किमि रहेको छ।

चालु आर्थिक वर्ष २०७६/ ७७ मा यस आयोजनामा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन भएकोमा समीक्षा अवधिसम्म २ अर्ब ४८ करोड ६२ लाख खर्च भएको छ।

समीक्षा अवधिमा २८ किमी सडक कालोपत्रे भएको, ५ वटा पुल निर्माण भएको, ३४ किमि सडक निर्माणको ठेक्का सम्झौता भएको, ५५ किमि सडक निर्माणको ठेक्का व्यवस्थापनको अन्तिम चरणमा रहेको छ।

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म यस आयोजनामा ३९ अर्ब ९१ करोड खर्च भएको छ। यो लोकमार्गको कुल लम्बाई १८७९ किमि मध्ये ८०२ किमि कालोपवे सम्पन्न भइसकेको छ।

लोकमार्गको कुल १२९ पुल मध्ये ६७ वटा पुलको निर्माण सम्पन्न भएको छ। यो सडक निर्माणबाट मध्यपहाडी भूभागको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका क्षेत्रको सन्तुलित विकास हुने अपेक्षा गरिएको छ।

मध्यपहाडी लोकमार्ग आयोजनाले विभिन्न खालका समस्या कारण गति दिन सकेको छैन।

सडक सीमा यकिन नभएको, निर्माण सामाग्री अभाव, जलाशयुक्त आयोजनाहरुको प्रभाव क्षेत्र यकिन नहुँदा निर्माण द्वीविधा, मुआब्जा विवाद, युटिलिटिज रिलोकेसन ढिलालगायतका समस्याले पछि परेको दाबी आयोजनाले गर्दै आएको छ ।

अहिलेसम्मको प्रगति हेर्दा १ हजार ७ सय ७९ किलोमिटर सडकमा ८ सय दुई किलोमिटर मात्र कालोपत्रे सम्पन्न भएको छ । अझै ९ सय ६७ किलोमिटर सडक कालोपत्रे बाँकी नै छ भने विभिन्न कारणले कतिपय स्थानमा काम रोकिएको पनि छ ।

यो लोकमार्गको हालसम्मको प्रगति हेर्दा अबको ४ वर्षभित्रमा काम सम्पन्न हुनेमा विश्वस्त हुने सम्भावना कम छ ।

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।

यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here