कोरोना प्रभाव:ठूलो चुनौती ब्यहोर्दै उड्डयन क्षेत्र, अपत्यारिलो रूपमा चुलियो सुन

काठमाडौं, २४ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण र त्रासको कारण पुरै अर्थतन्त्र खस्किदै गएको छ ।

अमेरिकासँगको ट्रेड वारका कारण थलिएको चिनियाँ अर्थतन्त्रलाई कोरोना भाइरसले झनै सिकिस्त बनेको छ । कोेरोनाको मारमा हवाई यात्रु कम हुँदा संसारभरका वायुसेवा कम्पनीहरूले खर्बौ रूपैयाँ नोक्सानी ब्यहोरिरहेका छन्।

कोरोना संक्रमणका कारण सबैभन्दा ठूलो मार पर्यटन उद्योगले बेहोर्नु परेको छ। २० वर्षयता उड्ड्यन क्षेत्रले सबैभन्दा ठूलो चुनौती ब्यहोरिरहेको छ। सन् २००१ सेप्टेम्बरमा अमेरिकाको ट्वीन टावरमा आतङ्कवादी हमला भएपछि केही समय विश्वभरको उड्डयन क्षेत्र प्रभावित भएको थियो।

कोरोना भाइरसले विश्वका वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा) का अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा साे रकम बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको हाे।

यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो ।

कोरोना त्रासकै कारण विश्वभरको स्टक मार्केट प्रभावित हुँदा विश्वकै धनाढ्यहरूले अर्बौं सम्पत्ति गुमाइरहेका छन्। विश्वभरका स्टक मार्केटको इन्डेक्स ओरालो झरेको छ।

विश्वअर्थतन्त्र थलिन थालेपछि लगानीकर्ताहरूले सुनमा लगानी बढाएको कारण सुनको मूल्य आकाशिन थालेको छ। विश्व अर्थतन्त्रमा समस्या आउँदा सुनमा लगानी बढ्ने गरेको छ। सुनमा गरिएको लगानीलाई विश्वभर नै सुरक्षित मानिन्छ।

चिनियाँसहित तेस्रो मुलुकका पर्यटकको आगमनमा जनवरी यता ठूलो गिरावट आएको छ, जसका कारण होटलहरूको बुकिङ ह्वात्तै झ्रेको व्यवसायीहरूले बताएका छन् ।

यस्तै, चीनबाट आयात ठप्प छ । चीनका उद्योग र अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा ‘अन्तर्राष्ट्रिय मूल्य शृङ्खला’ मै परेको प्रभावको असर भारत हुँदै नेपालमा भित्रिने आकलन गरिएको छ

एसियामा र यूरोपमा ठूलो क्षति

कोरोनाका कारण एसियाली मुलुकका एयरलाइन्सले ठूलो क्षति बेहोर्ने आएटाको प्रक्षेपण रहेको छ । सन् २०२० मा सबैभन्दा ठूलो क्षति इटाली र चीनले बेहोर्नेछन् ।

यस वर्ष चीनले कूल यात्रु संख्यामा २३ प्रतिशत गिरावटको सामना गर्नेछ । जापानले १२ प्रतिशत, सिंगापुरले १०, दक्षिण कोरियाले १४ र इटालीले २४ प्रतिशत यात्रुको गिरावट हुने अनुमान छ ।

नेपाल समेत रहेको एसिया प्यासेफिक क्षेत्रमा यात्रुको संख्या समग्रमा ९ प्रतिशतको गिरावट आउने छन् । यसले ७.६ अर्ब डलर बराबरको नोक्सानी हुनेछ ।

इटाली, जर्मनीसहित १० यूरोपेली मुलुकमा २४ प्रतिशतले यात्रु घट्दा ३७.३ अर्ब डलरको नोक्सानी यस भेगका कम्पनीले बेहोर्ने भएका छन् ।

फ्रान्समा १०, जर्मनीमा १० र इरानमा १६ प्रतिशतको गिरावट देखिने प्रक्षेपण आएटाको रहेको छ । समग्रमा हेर्दा अष्टे्रलिया, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड र भियतनाममा मात्र २३ प्रतिशतले यात्रु गिरावट आउँदा यी मुलुकका वायुसेवा कम्पनीले ४९.७ अर्ब डलर बराबरको नोक्सानी बेहोर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here