भेरी–बबई डाइभर्सनको सुरुङ निर्माण सकियो, मंगलबार ‘ब्रेक थ्रु’

काठमाडौं, २ बैशाख । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम)को प्रयोग गरी खनिएको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ ।

औपचारिक रुपमा ‘ब्रेक थ्रु’ गर्नको लागि केही मिटरमात्रै सुरुङ खन्न बाँकी राखिएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा टनेलको ‘ब्रेक थ्रु’ गरिने आयोजनाले बताएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङ बाहिर निकाल्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनेछन् ।

चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले सुरुङ निर्माणको ठेक्का लिएको छ ।

टिबिएमकको प्रयोगले खन्ने काम सहज भएपछि निर्धारित मिति भन्दा करीब १ वर्ष अगाडि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । सिंचाई विभाग र कोभेकको ठेक्का सम्झौतामा २०७६ चैत १५ गतेभित्र सुरुङ निर्माण गरिसक्नुपर्ने प्रावधान थियो ।

बबई नदीको किनारबाट सुरुङ खन्न थालेको टिबिएम १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेमा आइपुगेको छ ।

वि सं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । चिनियाँ र नेपाली प्राविधिक तथा कामदारले सुरुङ निर्माणको लागि दुई सिफ्टमा काम गरेका थिए ।

अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिनको प्रयोगमा सुरुङ खनिएको हो । यसभन्दा अगाडि नेपालमा कुनै पनि आयोजनामा टिबिएमको प्रयोग भएको थिएन ।

भेरी नदीको पानीलाई सुरुङमार्फत् बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा र्पुयाउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ मा आयोजना सुरु गरिएको थियो ।

सबैभन्दा कठिन मानिएको सुरुङ खन्ने काम सकिए पनि आयोजनामा अन्य निर्माणको काम बाँकी नै छन् । आयोजना आर्थिक वर्ष २०७८/७९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here