विदेशी मुद्रा सञ्चिति तीन वर्ष यताकै उच्च, जेठसम्म १० अर्ब ७८ करोड डलर

काठमाडौं १२, असार । गत जेठसम्म मुलुकको कुल विदेशी विनिमम सञ्चिति १० अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ । यो विगत तीन वर्ष यताकै सबैभन्दा धेरै हो । यसअघि ०७४ असारमा यस्तो सञ्चिति १० अर्ब ७६ करोड अमेरिकी डलर थियो । लकडाउनको अवधिमा आयात घटेको, रेमिट्यान्स, विदेशी सहायता, सरकारी ऋण बढेकाले विदेशी मुद्राको सञ्चिति झन बढेको राष्ट्र बैंकले बताएको छ ।

विदेशी विनिमय सञ्चितिको वास्तविक अवस्था पत्ता लगाउन डलरमै घटबढ् हेर्नु पर्छ । किनकी अमेरिकी डलरको विनिमय दरमा आएको घटबढ अनुसार रुपैयाँमा पनि घटबढ हुन्छ । यसकारण वास्तविक विदेशी मुद्राको सञ्चिति बढ्नका लागि डलरमै बढ्नु पर्छ । अहिले डलरमै विदेशी मुद्रा सञ्चिति बढेको हो ।

गत आर्थिक वर्षको वैशाखको तुलनामा यो आवको सोही अवधिमा आयात करिब ६४ प्रतिशतले घटेको छ । आयात घटेपछि त्यसबापत विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने रकम पनि घटेकाले विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत वैशाखसम्म नेपालको विदेशी विनिमय सञ्चिति १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो करिब १९ प्रतिशतको वृद्धि हो । ०७६ असारमा यो १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो । वैशाखमा अमेरिकी डलरमा पनि यस्तो सञ्चिति बढेको छ । ०७६ असारमा ९ अर्ब ५० करोड रहेको सञ्चिति गत वैशाखमा १० अर्ब २५ करोड पुगेको थियो ।

वैशाखको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १०.८ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकको चालू आवको लक्ष्य भन्दा करिब चार महिना बढी हो । चालू आवमा कम्तिमा ७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चित गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको थियो ।

गत असारको तुलनामा चैतसम्म डलरमा विदेशी मुद्रा सञ्चिति घटेपनि नेपाली रुपैयाँमा बढेको थियो । त्यतिबेला अमेरिकी डलरको विनिमय दर उच्च भएकाले रुपैयाँमा विदेशी विनिमय सञ्चिति बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here