इन्टरनेटबाटै आमसञ्चार र पत्रकारितामा स्नातक/स्नातकाेत्तर पढ्न सकिने

काठमाडौं, १६ वैशाख । नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच सोमबार उक्त सहमतिपत्रमा हस्ताक्षर भयाे । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक/स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको छ । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पिएचडीसम्म लगिने बताइएकाे छ ।

हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम भइरहेको छ । विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्नेसमेत सहमति भएअनुसार काम थालिएको छ । इन्स्टिच्यूटले विश्वविद्यालयको नियम र प्रक्रियाको अधीनमा रही कोर्स सञ्चालन गर्नेछ ।

कोर्स सञ्चालन गर्न लाग्ने जनशक्ति र अन्य खर्च विश्वविद्यालयले व्यहोर्ने छ भने कोर्स सञ्चालन गर्न आवश्यक पर्ने स्रोत व्यक्ति इन्स्टिच्यूटले उपलव्ध गराउनेसमेत सहमति भएको छ । स्रोत व्यक्ति विश्वविद्यालयले तोकेको नियमको अधीनमा रहनुपर्ने व्यवस्था सहमतिमा उल्लेख छ ।

विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने–गराउने यस कार्यक्रमको उद्देश्य रहेको बताइएकाे छ ।

भर्नाका लागि योग्यतापत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा (उच्च) पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले स्नातकोत्तरमा भर्ना हुनसक्नेछन् । तर, पूर्वतयारी कोर्स पूरा गर्ने कुनै पनि विषयमा माध्यमिक शिक्षा पूरा गरेका व्यक्ति स्नातक तहमा र सोही प्रक्रिया पूरा गरी स्नातकोत्तर तहमा भर्ना हुनसक्नेछन् ।

घोषणा सभामा नेपाल प्रेस ईन्ष्टिच्यूटका महासचिव लक्ष्मण हुमागाईले नेपाल प्रेस ईन्ष्टिच्युट तालिम संचालन गर्ने संस्थावाट अव प्राज्ञिक कोर्स संचालन गर्ने संस्थामा रुपान्तरण हुन लागेको जानकारी गराए । वजारको माग अनुसार, बदलिंदो प्रविधिको प्रयोग गर्न सक्ने जनशक्तिको उत्पादन गरिने बताए । खुला विश्वविद्यालय संगको सहाकार्यले दुर दराजमै वसेर आमसंचार अध्ययनमा उच्च शिक्षा हासिल गर्न सकिने अवसर श्रृजना गरेको पनि उनले बताए ।

नेपाल प्रेस ईन्ष्टिच्यूटका अध्यक्ष निलकण्ठ उप्रेतीले नेपाल प्रेस ईन्ष्टिच्यूटले गर्दे आएका कामका अतिरिक्त आमसंचार अध्ययन थप हुने वताउँदै छिट्टै कोर्स तयारी गरी भर्नाको काम थालिने जानकारी दिए ।

खुला विश्वविद्यालय सामाजिक तथा शिक्षा संकायका डिन प्रा.डा. रामचन्द्र पौडेलले खुला विश्वविद्यालय प्रमाणपत्र वितरण गर्ने संस्था होइन भन्दै विश्वविद्यालयले निश्चित अवधि कक्षा संचालन गर्ने, प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले खुला विश्वविद्यालय नेपालका लागि नयाँ अनुभव भएपनि विश्वमा स्थापीत हुदै गएको बताए । निश्चित कक्षा, गुणस्तर र परिक्षा पास नभई प्रमाणपत्र पाईदैन भन्दै उपकुलपति शर्माले खुला विश्वविद्यालय यस कुरामा अन्य विश्वविद्यालय भन्दा कडा हुने पनि बताए ।

विद्यार्थी कति समय अनलाईन वसेको छ? कति कक्षा लिएको छ ? उसले कतिको गृहकार्य गरेको छ ? कतिको व्यवहारीक छ सवै कुराको जाँच लिएर मात्र प्रमाणपत्र प्रदान गर्ने उप कुलपतिको भनाई थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here