कस्ता व्यवसायीले पाउँछन् पुनर्कर्जा, कस्तो व्यवसाय अयोग्य ?

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार पुनर्कर्जा कार्यविधि जारी गर्दै पुनर्कर्जा प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ।

इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्‍याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले लघु,घरेलु तथा साना उद्यम पुनर्कर्जा,विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा भनेर सुविधा पाउने क्षेत्रहरु निर्धारण गरेको छ ।

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँ सम्मको कर्जामा प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिने छ ।

कार्यविधि अनुसार प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा इजाजत प्राप्त क, ख, र ग वर्गका संस्थाहरुबाट एकमुष्ट रुपमा प्रदान गरिने छ।

सो पुनर्कर्जा प्रदान गर्दा बैंकहरुले इजाजत प्राप्त संस्थाहरुबाट आवेदन आह्वान गरी तोकिए अनुसारको प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ। पुनर्कर्जा प्राप्त गर्ने संस्थाले राष्ट्र बैंकलाई १, २ र ३ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ भने पुनर्कर्जा प्राप्त गर्ने ऋणिले संस्थालाई ३ देखि ५ प्रतिशत ब्याज तिर्नु पर्ने छ।

जसअनुसार विशेष पुनर्कर्जाका लागि राष्ट्र बैंकलाई संस्थाले १ प्रतिशत ब्याजदर, लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाका लागि राष्ट्र बैंकलाई २ प्रतिशत र साधारण पुनर्कर्जाका लागि राष्ट्र बैंकलाई ३ प्रतिशत ब्याजदरमा रकम तिनुपर्ने हुन्छ।

पुनर्कर्जा प्राप्त गर्ने ऋणिले संस्थालाई विशेष पुनर्कर्जामा ३ प्रतिशत र अन्यमा ५/५ प्रतिशत ब्याजदरमा रकम तिर्नुपर्ने राष्ट्र बैंकको पुनर्कर्जा कार्यविधिमा उल्लेख गरिएको छ।

यस्तो अवस्थामा पाइँदैन पुनर्कर्जा

व्यक्तिगत प्रयोजनमा लिएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जा पुनर्कर्जा मानिने छैन।

व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्र प्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य नमानिने राष्ट्र बैंकले जनाएको छ।

यस्तै पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जामा पुनर्कर्जा दिइने छैन।

चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य उद्योग व्यवसायमा पनि यस्तो सुविधा छैन। मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायमा प्रवाहित कर्जा र बैंकले समयसमयमा तोकेका अन्य कर्जालाई पुनर्कर्जा नदिइने राष्ट्र बैंकले जनाएको छ।

यस्ता व्यवसायीले पाउछन् पुनर्कर्जा

पुनरकर्जा कार्यविधि अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत विशेष र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट १५ लाखसम्म कर्जा पाउने छन् ।

यस्तो कर्जा हाल सञ्चालनमा रहेका उद्यम, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका उद्योग, प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यमीले पाउने छन् ।

यस्तै, विशेष पुनर्कर्जा अन्तर्गत हाल सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु , कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जावालाहरुले पाउनेछन् ।

यसैगरी साधारण पुनर्कर्जाका अन्तर्गत जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगहरुले पाउनेछन् ।

यसैगरी, पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले यस्तो पुनर्कर्जा पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति ५ करोड भन्दा बढी पुनर्कर्जा दिन नपाउने

बैंक तथा वित्तीय संस्था शाखाका हरेक शाखाले कम्तिमा ५ वटा पुनर्कर्जा दिनुपर्ने

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here