आगामी महिना तातोपानी नाका खुल्दै, खुद्रा सामानको कारोबार नहुने

काठमाडौं, १९ बैशाख । २०७२ सालको विनासकारी भुकम्पमा ध्वस्त भएको नेपाल–चीनको प्रमुख नाका तातोपानी अगामी महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।

भुकम्पअघिसम्म दुई मुलुकवीच हुने ब्यापार तथा पर्यटक आदानप्रदानको एक प्रमुख केन्द्र मानिएको तातोपानी हालसम्म सञ्चालनमा आएको छैन । भुकम्पपछिका दुई वर्षसम्म नाका सञ्चालनमा आउने बारे अन्योल नै रह्यो ।

पछि नेपालको आग्रह मान्दै चीनले भुकम्पले भत्काएको मितेरी पुल र सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह बनाइदिने भएको थियो ।

अहिले सुख्खा बन्दरगाहको काम लगभग सकिएको छ भने पुल निर्माण अन्तिम चरणमा छ ।

‘तातोपानी नाका खुलाउने दिशामा महत्वपूर्ण प्रगति हासिल भएको छ । यही मई महिनाभित्र नाका सञ्चालनमा आउँछ,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार तातोपानी नाका खुलेपछि नेपाल चीनवीचको ब्यापार तथा पर्यटक आवागमनमा उल्लेख्य सुधार हुने छ ।

चीनले गर्ने पूर्वाधार निर्माण सम्पन्न हुँदै गर्दा नेपालले भने आफ्नो तर्फको काममा ढिलाइ गरेको छ । जुरेको पहिरोदेखि नै बाटो पुननिर्माणमा भएको ढीलाईले नाका खुले पनि आवागमन सहज हुन थप केही समय लाग्ने ज्ञवालीको भनाइ छ ।

अहिले नेपाली व्यापारीहरुले आयातनिर्यातका लागि रसुवास्थित रसुवागढी नाका प्रयोग गरिरहेका छन् । तर, ज्यादै अप्ठ्यारो भुभाग तथा साँघुरो बाटोका काराण सामान ढुवानी कठीन भएको उनीहरुको भनाइ छ ।

भुकम्पपछि भारतले नाकाबन्दी लगाएपछि केपी ओली नेतृत्वको सरकारले गल्छी–रसुवागढी सडक विस्तार र स्तरोन्नति गर्ने योजना ल्याएको थियो । त्यसका लागि बाटो सजिलो बनाउन र छोट्याउन माथिल्लो खण्ड सेनालाई जिम्मा लगाइएको थियो । सेनाले ट्रयाक खोलिसकेर सडक बिभागलाई जिम्मा लगाइसकेको छ ।

यसैबीच तातोपानी नाका खुले पनि त्यहाँबाट सामानको खुद्रा कारोबार नहुने भएको छ । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार चीनबाट आएका सामान सीधै लार्चाको सुख्खा बन्दरगाहमा अनलोड भएर काठमाडौं र मुलुकका अन्य स्थानमा जाने छन् भने खासामा खुद्रा बजार रहने छैन ।

भुकम्पले ध्वस्त बनाएपछि चीनले त्यहाँका बस्ती सीमाभन्दा धेरै पर सारिसकेको छ । यसले खासा गएर सस्तोमा चिनियाँ सामान किन्ने आशा पालेका नेपालीलाई निरास पार्ने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here