टेकु अस्पतालमा कोरोनाको उपचार गर्न कति लाग्छ शुल्क ?

काठमाडौं, १६ कात्तिक । सरकारले कोरोना संक्रमितको उपचार सरकारले नव्यहोर्ने निर्णय सार्वजनिक गरेपछि अस्पतालहरुले संक्रमितको उपचारका लागि शुल्क तोक्न थालेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विपन्न, अशक्त, एकल महिला, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी लगायत बाहेक अन्यको कोरोनाभाइरसको परीक्षण र उपचारमा सरकारले खर्च नगर्ने जानाकारी गराइसँगै अस्पतालहरुले उपचारको लागि खर्च तोकेका हुन् ।

टेकु अस्पतालका रुपमा चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बिरामीको उपचारका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।

टेकु अस्पतालले कात्तिक १३ गते सूचना जारी गरि निश्चित बर्गबाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार, कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको जनाएको छ।

काभ्रेको धुलिखेल अस्पतालले सरकारले निर्णय सार्वजनिक गरेको भोलिपल्टै ३ कात्तिकमा सूचना जारी गरेर स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार कोरानाको शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै सूचना जारी गरेको थियो ।

टेकु अस्पतालले सार्वजनिक गरेको उपचार शुल्क विवरण अनुसार भेन्टिलेटरसहितको आईसीयूमा उपचार गर्नुपर्ने कोभिड बिरामीले दैनिक १५ हजार रकम तिर्नुपर्नेछ। ५० हजार धरौटी रकम तोकिएको छ।

आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार चाहिने बिरामीले ३० हजार धरौटी रकम र दैनिक सात हजार ५ सय उपचार खर्च तिर्नुपर्नेछ।

मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा बस्दा २० हजार धरौटी रकम र दैनिक ३५ सयका दरले उपचार शुल्क तिर्नपर्ने छ।

विपन्न, जेष्ठ नागरिक(७० वर्षभन्दा माथि), अति अपाङता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था र आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट हुने अस्पतालले जनाएको छ।

धुलिखेल अस्पतालमा भने सामान्य लक्षण भएका संक्रमितको उपचारका लागि दैनिक तीन हजार पाँच सय उपचार खर्च र ५० हजार धरौटी रकम जम्मा गर्नुपर्नेछ।

यस्तै, मध्यम जटिल विरामीका लागि दैनिक उपचार खर्च सात हजार पाँच सय र एक लाख धरौटी रकम धरौटी राख्नुपर्नेछ। जटिल विरामीका लागि दैनिक उपचार खर्च १५ हजार र दुई लाख धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था धुलिखेल अस्पतालले गरेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here