नौ महिनामा २५ अर्बको सुन आयात हुँदा त्यति नै मुल्यको चामल आयात

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले हालसालै सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको नौ महिनामा व्यापारघाटा ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ ।

बैंकका अनुसार साउन देखि चैतसम्मको नौ महिनामा आयात २१.३ प्रतिशतले बढेको हो ।

सो अवधिमा १० खर्ब ६१ अर्बको वस्तु तथा सेवा आयात हुँदा नेपालबाट ६९ अर्ब ८२ करोडको मात्रै निर्यात भएको बैंकले बताएको छ ।

नेपालमा धेरै आयात हुने सामानहरुमा पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पाटपुर्जा, एमएस बिलेट, मेसिनरी सामान, तयारी पोशाक, सुन, दूरसञ्चार उपकरण, कृषिजन्य पदार्थ लगायत रहेका छन् ।

अचम्म त के छ भने कृषिप्रधान देश मानिने नेपालमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै २५ अर्ब बराबरको चामल आयात भएको पाइएको छ ।

चालु आर्थिक वर्षमा मनसुन राम्रो भएको कारण धानको उत्पादन वृद्धि भइ देशकै कुल ग्राहस्थ उत्पादन बढ्ने र आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने सरकारको दाबी छ ।

तर, सरकारले यस्तो दाबी गरिरहँदा चामलमा समेत नेपाल धेरै नै परनिर्भर रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । भन्सारका अनुसार गएको नौ महिनाको अवधिमा करिब २५ अर्ब ४७ करोड रुपैंया बराबरको त चामल नै आयात भएको छ ।

यो तथ्यांकबाट सरकारले बजेटमा कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि लक्ष्य अनुसार प्रगति हुन नसकेको प्रष्ट देखिन्छ ।

भन्सारको तथ्यांक अनुसार चामल नेपालमा सबैभन्दा धेरै आयात हुने सामाग्रीहरुको छैठौं स्थानमा रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै बराबर मुल्यको सुन र चामल आयात भएको देखिएको छ ।

कुन सामाग्री कति आयात ?

नेपालमा सबैभन्दा धेरै आयात हुने सामाग्री पेट्रोलियम पदार्थ रहेको छ । चालु आवको नौ महिनामा १ खर्ब ५४ अर्ब को पेट्रोलियम पदार्थ आयात भएको छ ।

दोस्रोमा सवारीसाधन र पाटपुर्जाको आयात भएको छ । विभागका अनुसार ७७ अर्ब ३४ करोड सवारीसाधन र पाटपुर्जाको आयात भएको छ ।

निर्माण सामग्री बनाउन प्रयोग हुने बिलेटको आयात पनि उच्च देखिएको छ । नौ महिनामा एमएस बिलेट ५१ अर्ब ७८ करोडको आयात भएको छ ।

सो अवधिमा ३६ अर्बको मेसिनरी सामान आयात हुँदा २५ अर्बको ९९ करोडको सुन आयात भएको छ । त्यस्तै चामल पनि २५ अर्ब ४७ करोडको आयात भएको छ ।

हवाइजहाज र यसको पाटपुर्जा २० अर्बको आयात हुँदा १८ अर्ब ८१ करोडको औषधि, १७ अर्बं ४६ करोडको तयारी पोशाक र १७ अर्ब ३५ करोडको दूरसंञ्चारका उपकरण आयात भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here