यस्ता छन् काक्रोले स्वास्थ्यमा पुर्याउने १० फाइदा

काठमाडौं । खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काक्रोको समावेशलाई अनिवार्य मानिन्छ । हुन त परम्परागत रुपमै पनि संसारभर काक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ । विभिन्न अध्ययनले पनि काक्रोमा मानव स्वास्थ्यको लागि आवश्यक पर्ने तत्व हुने पुष्टि गरिसकेका छन् ।

काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।

जानौं काक्रोका १० फाइदा

१. शरीरमा पानीको कमी हुन दिदैन

काक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा कांक्रोको सेवन पनि गर्न सकिन्छ ।

२. मुटु स्वस्थ राख्न सहयोगी

काक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै काक्रोमा रहेको पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ ।

३. मस्तिष्क स्वस्थ राख्छ

स्ट्रोबेरी र अंगूरमा जस्तैं काक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अल्जाइमरको जोखिमलाई घटाउँछ ।

४. बुढ्यौली रोक्छ छाला चाउरिनबाट रोक्ने

सौन्दर्य प्रसोधनका सामानमा काक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ । काक्रोमा छाला चाउरिनबाट रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।

५. क्यान्सरको जोखिम कम गर्छ

काक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।

६. दुखाई कम गर्छ

‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार काक्रोलाई परम्परागत रुपमा टाउको दुखाई क मगर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । यस्तै काक्रो बिजले शरीरलाई चिस्याउने र कांक्रो सेवनबाट मुत्रजन्य समस्या हट्ने सो रिर्पोटमा उल्लेख छ ।

७. श्वास गनाउने समस्याबाट मुक्त

सामान्यतया मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । काक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ । जसले मुख गनाउने समस्याबाट मुक्ति दिन्छ ।

८. हड्डीलाई बलियो बनाउँछ

काक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ । भिटामीन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसकारण नियमित काक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सुझाब छ ।

९. कब्जियत हुन दिदैन

काक्रोमा प्रशस्त मात्रामा पानी हुन्छ र यसको बाहिरी भागमा प्रशस्त मात्रामा रेशाहरु हुन्छन् । पानी र रेशाले शरीरको पाचन क्रियालाई शसंक्त बनाउँछ । जसले कब्जियतको समस्यालाई दुर गराउँछ ।

१०. तौललाई बढ्न दिदैन

कांक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ । जसले तौललाई सन्तुलित बनाउन सहयोग गर्छ ।

यस बाहेक पनि कांक्रोलाई विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ । कांक्रोको सलाद, अचार र जुसका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसले खानाको विकल्पको काम पनि गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here