काठमाडौं । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।
पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।
पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ।
उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन।
होलिका आगोमा जलिसकेको देखेर हिमाल, पहाड तिर मान्छेहरु होलिकाको मृत्युको खुशीमा होली खेल्न थालिसकेका थिए । ‘
होलिका वध होस् वा कामदेव भष्म भएको प्रसंग, नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको हो।
मध्यरातमा होलिकाको प्रतीक जलाई त्यसबाट निस्केको खरानीको टीका लगाएपछि होली सुरु भएको मानिन्छ। मध्यरातमा होलिकाको प्रतीक जलाएको हुनाले तराईमा भने भोलिपल्टमा होली मनाउने प्रचलन आएको दाबी छ ।
एक क्षेत्रका मानिसले पूर्णिमाको राति होलिका दहन गरेपछि होली समापन भएको मान्छन् भने अर्को क्षेत्रका मानिसले ‘होलिका दहन’ भएपछि होली मनाउन सुरु गर्छन्। एउटै देश, एउटै पर्व, एउटै संस्कृति तर काठमाडौं उपत्यकामा एक दिन, तराई–मधेसमा अर्को दिन मनाउने चलन छ ।