होम डेलिभरी सेवालाई डाँक सरह मान्यता दिन अनुरोध

photo source: Reviews Nepal

काठमाडौं, ६ जेठ । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले होम डेलिभरी सेवालाई डाँक सेवा सरहको मान्यता दिन अनुरोध गरेको छ ।

निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागी मानिसहरुको आवत–जावत कम गराउनका निमित्त औषधि, खाद्यवस्तु लगायतका अन्य अत्यावश्यक बस्तु किनमेलका निमित्त घर वाहिर निस्कनु भन्दा अनलाईन किनमेल गरी घर दैलोमा सरसमानहरुको होम डेलिभरी गराउनु उचित हुने हुंदा सोका निमित्त आवश्यक प्रवन्धका मिलाउन उसले सरकारसँग माग गरेको छ ।

उसका अनुसार भारत, चीन लगाएत अन्य देशमा समेत निषेधाज्ञाका समयमा होम डेलिभरी सेवालाई अनुमति दिएका कारण निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन सकेको हो ।

स्वास्थ्य अपडेट हरेक घण्टा दिन सुझाव

क्यानले स्वास्थ्यसम्बन्धी अपडेट हरेक घण्टा दिन सरकारलाई सुझाव दिएको छ ।
हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनको एक पटक मात्र अपडेट दिने गरेको छ ।

हाल संचालनमा रहेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा सूचना दैनिक अद्यावधिक गर्ने ब्यवस्थालाई परिवर्तन गरी कम्तिमा प्रत्येक घण्टा अद्यावधिक गर्ने र सोहि बमोजिमको वास्तविक सूचनालाई वास्तविक समयमा सेवाग्राहीलाई दिन सकिने बनाउनका निम्ति प्रशासनिक र प्राविधिक व्यवस्थापनका निम्ति सरकार तथा सरोकारवाहरुलाई क्यान महासंघले ध्यानाकर्षण गराएको छ ।

हाल धेरै क्षेत्र ‘डिजिटलाइज्ड’ भैसकेको, वास्तविक समयका – वास्तविक सूचनामा आधारित रहेर नेपालमा पनि शेयर बजार लगायतका क्षेत्रवाट सरोवारकालाहरुले फाइदा लिइरहेको अवस्थामा, स्वास्थ्य क्षेत्र अछुतो रहनु सुखद कुरा पक्कै पनि होइन, उसले बिहीबार जारी एक विज्ञप्तिमा भनेको छ ।

हाल स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या (आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको संख्या समेत) हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पताल पुग्दा मन्त्रालयले जारी गरेको सूचनाअनुसार नभेटिएकोमा, सुचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत यस्ता सूचनाहरुलाई वास्तविक समयमा आधारित बनाउन सकिने पनि क्यानको भनाइ छ ।

साथै यस्तो व्यवस्थाका लागि आवश्यक प्राविधिक सहयोगका निम्ति क्यान महासंघ सदैव तयार रहेको पनि उसले बताएको छ ।

क्यानका अनुसार सुचना प्रविधिको प्रयोग र विस्तारको प्रथम प्राथमिकता, जिवन बचाउनका निम्ति हुनुपर्दछ ।

नेपाल सरकारसंग बारम्बार अनुरोध गर्दा पनि सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको बिषयमा समेत क्यान महासंघको गंभिर ध्यानार्कषण भएको उसले बताएको छ ।

‘दुरसंचार अत्यावश्यक सेवामा रहेको तर कम्प्यूटरजन्य सामानहरु बिक्री बितरण तथा मर्मत बन्द रहेको, ‘होम स्कुलिङ्ग’ संचालनमा रहेको तर त्यसलाई आवश्यक हुने कम्प्यूटर तथा मोवाइलका बिक्री बितरण तथा मर्मत सेवा बन्द रहेको कारण आगामी दिनमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाई हुन सक्ने तर्फ पनि क्यान महासंघ ध्यानार्कषण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here