एक महिनामा बैंकमा ४६ अर्ब निक्षेप थपियो, तरलता समस्या भने यथावत

काठमाडौं ३०, जेठ । जेठ महिनामा मात्र वाणिज्य बैंकहरुमा ४६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला महिनाहरुको तुलनामा जेठ महिनाको निक्षेप धेरै भए पनि बजारमा कर्जा माग उच्च रहेकाले बैंक तथा वित्तीय संस्थामा तरलता समस्या समाधान हुन सकेको छैन ।

आर्थिक महिनाको अन्त्य भइसक्दा पनि बैंक तथा वित्तीय संस्थामा धेरै निक्षेप संकलन हुन सकेको छैन । पर्याप्त निक्षेप नहुँदा बैंक तथा वित्तीय संस्थामा भने लगानीयोग्य रकम (तरलता) अभाव रहेको बैंकरहरुले बताएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २४ गते सम्म २८ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप २७ खर्ब ५४ अर्ब रुपैयाँ छ । गत वैशाखसम्म यस्तो निक्षेप २७ खर्ब ८ अर्ब रुपैयाँ थियो ।

यस्तै, जेठ २४ गते सम्म बैंकहरुको कुल ऋण प्रवाह २४ खर्ब ६६ अर्ब रुपैयाँ छ । एक महिनाको अवधिमा यो करिब १८ अर्बले बढेको देखिन्छ । गत वैशाखसम्म बैंकहरुको कुल निक्षेप २४ खर्ब ४७ अर्ब रुपैयाँ थियो ।

यो वर्षका प्रायः सबै महिनामा बैंकहरुले निक्षेप भन्दा धेरै कर्जा प्रवाह गर्दै आएका थिए । जेठ महिनामा भने विपरित अवस्था देखिएको बैंकहरु बताउँछन । तरलता अभाव भएकै कारण बैंकहरुले ऋण प्रवाहमा कडाई गरेका छन् ।

नौ महिनामामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १९.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७५ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत थियो ।

२०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत छ । २०७४ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here